• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ- उपप्रधानमन्त्री श्रेष्ठ

    1.1K
    SHARES



    काठमाण्डौ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् ।

    राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बिहीवारको बैठकमा उनले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताएका हुन् ।

    चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्प पीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ ।

    सम्बन्धित जिल्लामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकतानुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परेको खण्डमा उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

    भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्‍याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै उद्धार, राहत र आवास पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको स्मरण गराए । ‘भूकम्पपछि प्रधानमन्त्री स्वयम् प्रभावित क्षेत्रमा पुगेर उद्धारको नेतृत्व गर्नुभयो’, उनले भने, ‘घाइतेको पहिचान गरी तत्काल उपचारका लागि लगिएको थियो, घाइते उपचारविहीन बन्नु परेन ।’

    गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई भूकम्प जाँदा जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी एक सय ५४ जनाको ज्यान गएको र ३ सय ६६ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, प्युठान, अछाम र जाजरकोटमा क्षति पुगेको थियो ।

    प्राप्त तथ्याङ्कअनुसार भूकम्पबाट २६ हजार ५ सय ५७ घर पूर्ण क्षति, ३५ हजार ४ सय ५५ घर आंक्षिक क्षति भएका छन् । यस्तै १६ सरकारी कार्यालय पूर्ण र ३४ सार्वजनिक भवन आंक्षिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ