• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    क्रुर दशैँको विकल्प खोजौँ

    16.6K
    SHARES

    पृष्ठमूमि

    नेपाली समाजमा सरकारी तवरबाटै महत्वपूर्ण पर्वका रुपमा मनाइने दशैँ पर्वबारे देश गणतन्त्रमा प्रवेश गरेसँगै छिटफुट टिकाटिप्पणी, छलफल÷बहस हुन थालेका छन् । राजालाई विष्णुका अवतारको रुपमा पुज्न बाध्य पारिएको हिन्दु अतिवादी सामन्तवर्गीय सत्ताले महिनौँसम्म दशैँको नाममा तामझामका साथ उत्सव मनाउँथ्यो भने आम गरिखाने नागरिकले ऋण गरेरै भएपनि उक्त पर्व मनाउनु पर्ने बाध्यात्मक अवस्था थियो । दशैँ त के राज्यसत्ताले मान्यता दिएका कुनै पनि चाडपर्वबारे टिकाटिप्पणी गर्ने छुट थिएन । हरेक राज्यसत्ताले सामाजिक, साँस्कृतिक पर्वहरुलाई सत्तारक्षाको निम्ति धार्मिक आवरणमा ढाल्दै आएको इतिहास हामी पढ्न पाउँछौँ । राज्यसत्ताले जतिसुकै प्रयत्न गरेपनि समयको प्रवाहलाई रोक्न सक्ने कुरै थिएन र छैन पनि । परिणामतः मानव समाजको विकासक्रमसँगै हरेक संस्कार, संस्कृतिहरु निर्माण, विकास र रुपान्तरणको चरण पार गर्दै यहाँसम्म आइपुगेका हुन् ।

    हामी बाँचेको संसारमा मानव समाज, प्रकृति र ब्रह्माण्डबारे अध्ययन गर्ने, बुझ्ने, ब्याख्या गर्ने र बदल्ने दुइथरी विश्वदृष्टिकोण छन् आध्यात्मवादी र भौतिकवादी विश्वदृष्टिकोण । आध्यात्मवादी विश्वदृष्टिकोणले चेतनाको उपज वस्तु ठान्छ भने भौतिकवादी विश्वदृष्टिकोणले वस्तुको उपज चेतना ठान्छ । यसबारे ऐतिहासिक कालदेखि आजसम्ममा महान सिद्धहस्त दार्शनिकहरुले विषद व्याख्या गरेका छन् । यो सानो आलेखमा दर्शनशास्त्रका विहङ्गम पाटा पक्षको व्याख्या, विश्लेषण नभई वर्तमान नेपाली समाजका धार्मिक, साँस्कृतिक चाड मध्ये कुरुपतातिर अग्रसर हुँदै गरेको सबैभन्दा महान भनिने दशैँका विकृत पक्षको आलोचना सँगै विकल्प सहितको रुपान्तरणबारे सामान्य चर्चा गर्ने प्रयास गरिनेछ । माथी उल्लेख गरिएझैँ अध्यात्मवादी अर्थात इश्वरको अस्तित्व स्वीकार गर्ने शासकहरुका अनुसार दशैँ परापुर्व कालमा मानवहरु माथी दानवहरुको अन्याय अत्याचारको श्रृङखला बढ्दै जाँदा इश्वरले देवीको रुप धारण गरी दानवसँग ठुलो लडाइ गरी दावनहरुको वध गरेको दिनलाई विजयको प्रतिकको रुपमा दशैँ मनाउने गरिन्छ । उक्त समयमा दानवहरुले देवीसँग लड्न राँगाको रुप धारण गरि लडेकोले आजपर्यन्त राँगालाई बली दिएर देवीलाई खुशी पार्न पाउनु पर्ने तर्क उनीहरुको छ । यो मिथक हिन्दु सम्प्रदायमा शतप्रतिशत लागु भएको देखिन्छ । त्यसैगरी भौतिकवादी अर्थात् इश्वरको अस्तित्व अस्वीकार गर्नेहरुको दृष्टिमा (हुन त भौतिकवादी दृष्टिकोणको अस्तित्व देखावटी रपमै भएपनि स्वीकार गर्न लागिएको २०औँ शताब्दिका महान दार्शनिक कार्ल माक्र्सको उदय पछाडी मात्रै हो) हरेक धार्मिक चाडपर्वहरु शासकवर्गका रक्षाकवच मात्र हुन ।

    निःसन्देह मानव सामाजिक प्राणि हो र ब्रह्माण्डभरी रहेका असंख्य प्राणीमध्ये सर्वश्रेष्ठ पनि हो । हामीले विचरण गरिरहेको समाज, संस्कृति र प्रकृति प्रतिको सबैभन्दा बढी जिम्मेवार पनि उ नै हो । तसर्थ उसले आफुसँग भएको असिमित क्षमतालाई प्रयोग गर्दै समाजलाई हिजोभन्दा आज र आजभन्दा भोली कसरी समृद्ध अनि सुखी भइन्छ भनी चिन्तन मनन गर्न आवश्यक छ । त्यसैले त हिजोका हरेक कुराहरु आज लोप हुँदै, विकास हुँदै र रुपान्तरित हुँदै आएका छन् । यदि सबै कुराको विकास र रुपान्तरण आवश्यक छ भने मानव समाजसँग अभिन्न रुपले जोडिएका संस्कार र संस्कृतिहरु पनि समयानुकुल रुपान्तरण हुन आवश्यक छ । मेरो निष्कर्ष दशैँ मनाउनै पाइन्न वा दशैँ मनाउनै पर्छ भन्नेतिर कदापि छैन । आफु बाँचेको समाजमा विद्यमान हरेक विकृति र विसंगतिप्रति प्रश्न उठाउन नसक्ने के युवा ? के वौद्धिक ? के अगुवा ? के सचेत नागरिक ? के अध्यता ? हो आज हामीले मनाउँदे आइरहेको नेपालीको महान चाड भनीने दशैँलाई अव भने रुपान्तरण गर्ने पर्छ । धर्म निरपेक्ष राज्यमा सर्वधर्म समभावको निती अख्तियार नगरी हिन्दु धर्मावलम्वीहरुलाई मात्रै विशेष सुविधा प्रदान गरिएको बारे विभिन्न सरोकारवाला, अभियान्ता र सचेत नागरिकका चर्को आलोचना पछि करिब १ महिना सम्मको सार्वजनिक विदालाई सरकारले घटाउँदै लगेको छ यो पनि रुपान्तरणको एक चरण हो । यसको स्वागत गर्नै पर्छ । यति कुरा भन्दै गर्दा सामन्तवादी धार्मिक रुढीवादी मित्रहरुले मेरो सत्तोसराप नगर्लान भन्न सक्दिँन । तथापि दशैँको नाममा गरिने कुकृत्य अन्त्यको लागि म हिजो पनि बोलेकै छु आज पनि बोल्छु र भोली पनि बोलिरहने छु ।

    २१औँ शताब्दिको हाम्रो पुस्ता मंगल ग्रहमा मावन वस्ती बसाउने तयारी गर्दैछ । एकछिन आफुलाई आफै साक्षी राखेर प्रश्न गरौँ त । आजको समयमा के हाम्रा चाडपर्वको औचित्यता माथी प्रश्न गर्नुपर्ने बेला भएको छ कि छैन ? आफ्नो श्रीवृद्धि र भगवान खुशी बनाउने नाममा क्रुर तरिकाले पशुबली दिएर विजयादशमी मनाउनु जायज छ ? त्यो पनि लखेटी लखेटी पशुको बलि दिने ? त्यसमा अझ हर्ताकर्ता नै पढेलेखेका युवाहरु, सत्ताका मालिकहरु, क्रान्ति नायक भिननेहरु ? आजमात्र अनुहार पुस्तिकामा एउटा भिडियो देखेँ । एउटा कुनै मन्दिरमा एउटा राँगोको पिठ्यूँमा आगो लगाइएको छ, वरीपरीको मानवरुपी दुइखुट्टे प्राणीहरु खित्का छोडेर हाँस्दै विजयादशमी मनाइरहेछन् । कुन चैँ भगवान हो जसले एउटाको हितमा अर्काको बलि माग्छ ? अलिकति समाज, संस्कृतिबारे अध्ययन गरेको, बुझेको आजको नयाँ पुस्ताले कुनै पनि हालतमा दशैँको नाममा हुने क्रुरताको समर्थन गर्न सक्दैन । खासगरी सेतीमहाकालीका गाउँवस्तीमा राँगोलाई लखेटी लखेटी क्रुर तरिकाले मारेर मनाउने दशैँको अव शसक्त ढंगले विरोध गर्नेपर्छ । मानव अधिकार सँगै पृथ्वीमा बिचरण गर्ने हरेक प्राणीको अधिकार रक्षाको निम्ति चेतनशील प्राणी भएको नाताले सोच्नु पर्ने दायित्व छ । किन कि विकासका बहुआयामिक पक्ष मध्ये मानवीय विकास, पर्यावरणीय विकास पनि एक हो । दशैँ पर्वको उद्भव, विकास र आवश्यकता माथी फेरि पनि बहस गरौँला आज मेरो मुख्य जोड हो क्रुर तरिकाले गरिने पशु बलिको अन्त्य । अच्चम लाग्छ । जनयुद्धका कमाण्डरहरुका क्रियाकलाप देखेर । यीँ तिनै हुन् जसले जनयुद्ध कालमा गाउँगाउँका धामीहरुका टुप्पी काट्दै थान, मन्दिरहरु भत्काएर हाल सहर बजारमा घर घडेरी जोडे र सानको जिवन जिउँदैछन् । र आज टोलटोलमा स्कलको साँटो मन्दिर बनाउँदैछन्, विपन्न नागरिकको वास्ता छैन दशैँका नाममा लाखौँ रकमको राँगाको बलि दिँदैछन्, भगवान खुशी पार्न, विगतको पाप मोचन गर्न ५०आँै केजिका घण्टहरु चढाउँदैछन् । हो दशैँको यस्तै क्रुर पक्षको हो विकल्प चाहिएको हामीलाई ।

    निष्कर्ष

    दशैँले वर्षभरी घरदेखी टाढा रहेका आफन्तहरुको जमघट गराउँछ, पुर्विय दर्शन अनुसार घरको जेष्ठ सदस्यलाई अभिभावकको रुपमा ग्रहण गर्दै आदर, सत्कार र अभिवाकवाट माया, आर्शिवाद, सद्भाव बाँड्दछ, काम, आराम र मनोरञ्जनको नियमलाई आत्मसाथ गर्छ, आदि तमाम सकारात्म पक्षहरु समेत दशैँमा छन् । त्यसकारण पुराका पुरा दशैँ चाड नै मान्नु हुन्न भन्ने धारणा कसैले राख्छ भने त्यो सरासर गलत हो । अब कसरी के आधारमा खोज्ने त दशैँको विकल्प ? अर्थात दशैँको रुपान्तरण कसरी हुन्छ ?

    प्रथमतः स्थानीय सत्ताको जनमुखी चेत हुन आवश्यक छ । यदि दशैँका क्रुर पक्षको साँच्चिकै रुपान्रण गर्ने हो भने आगामी वर्षदेखि कार्यान्वयन गर्ने गरी स्थानीय सत्ताले पहलकदमी लिन आवश्यक छ । ठिक छ सदियौँ देखि मनाउँदै आएको चाडपर्व माथी बन्देज लगाउन मिल्दैन र लगाउनु पनि हुन्न । उसो त देशको संविधानले नै हरेक नागरिकले स्वतस्फुर्त रुपमा मन लागेको धर्म मान्न पाउनु पर्ने व्यवस्था गरेकै छ । आफ्नो उन्नती, प्रगतिको लागि भगवान खुशी पार्न वर्षेनी लाखौँको रकम एउटा वडामा खर्च हुन्छ । भगवानप्रति आस्था राख्ने व्यक्तिलाई स्थानीय सत्ताको पहलकदमीमा देवीको नाममा चढाउने राँगा वा खसी, बोकाको मुल्य बराबरको रकम सम्बन्धित गाउँको मन्दिर वा शक्ति पिठमा त्यहि शक्ति पिठकै नाममा चढाउन लगाउने । प्रतिकको रुपमा अन्य फलफुलहरुको बली दिने । जस्तै आजकल गाउँमा मृतकहरुको नाममा गरिने क्रियाक्रममा बाहुनलाई गाइको सट्टा पैसाँ दिन्छन् गाइको प्रतिकको रुपमा गाइको गोबरबाट गाइ बनाइन्छ । आखिर सत्य कुरा त्यो पनि त कर्मकाण्ड नै हो ओर्जीनल गाइ दिऔँ वा गोबरको गाइ त्यसले आत्माको मुक्ति असम्भव छ । गाइको सट्टा पैसा तिरेर गोबर राख्न मिल्छ भने देवीकै नाममा पैसा चढाइसकेर फलफुलको बलि दिन किन नमिल्ने ? अवस्य मिल्छ । देवीका भक्तहरुबाट चढाएको रकम एउटा कोष बनाइ सदुपयोग गर्ने । आगामी वर्षदेखि सेतीमहाकालीका हरेक स्थानीय सत्ताले यो आँट गर्न सके कति जाति हुन्थ्यो ?
    क्रुर दशैँको विकल्प खोजौँ हरेक सामाजिक, साँस्कृतिक पर्वहरु समयानुकुल रुपान्तरण गर्दैै मनाऔँ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ