काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएकाे निष्कर्षपछि अख्तियारले ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न विशेष अदालतमा अभियोगपत्र बुझाउँदै छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमितताकाे छानबिन पूरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ। भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियारको टोली विशेष अदालत पुगेको र अभियोगपत्र दर्ता गर्ने प्रक्रिया अघि बढिरहेको अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिए।
अख्तियारले पूर्वमन्त्री रामशरण महत, दीपक अमात्यसहित ५ पूर्वमन्त्रीलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाउँदै करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी पनि प्रतिवादी सूचीमा परेका छन्।
पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार થયाकाे निष्कर्ष सार्वजनिक लेखा समितिमातहतको उपसमितिले निकालेको थियो। समितिको निर्देशनपछि अख्तियारले व्यापक छानबिन गर्दै ५५ जनामाथि मुद्दा दायर गर्ने तयारी गरेको हो।
उपसमितिले विमानस्थल निर्माणमा सुरुदेखि नै ठेक्का प्रक्रियामा अनियमितता भएको उल्लेख गरेको थियो। लागत आठ अर्बले बढाइएको, सम्झौताअनुसार संरचना निर्माण नभएको, अतिरिक्त भुक्तानी गरिएको, रनवे निर्माणमा हिनामिना भएको, कर छुटमा मात्र २ अर्ब २२ करोडभन्दा बढी अनियमितता भएको उपसमितिको निष्कर्ष छ।
त्यसैगरी, एसी खरिददेखि नाली निर्माण, ग्राभेल माटो, रनवे ट्याक्सी, माटो भर्ने काम, परामर्श सेवा, इन्धन भण्डारण लगायतका शीर्षकमा पनि ठूला अनियमितता भेटिएको प्रतिवेदनमा उल्लेख छ। विभिन्न शीर्षकमा शंकास्पद खर्च जोड्दा करिब ८ अर्ब २३ करोड २५ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको देखिएको छ।
उपसमितिले तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेल, निर्देशक बिनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, ई. बाबुराम पौडेल, उपनिर्देशक ई. प्रवीण न्यौपाने र प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेललगायतमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएको थियो।
प्रतिक्रिया