• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सीआईबीले भन्यो- दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक

    1.1K
    SHARES



    काठमाडौं । मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरेर दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको हो । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।

    ‘एलेक्सले भने अनुसार नै उनले समूहका सदस्यहरुलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको छ’, थापाले भने, ‘सुन गाल्नलाई व्यवस्थापन गरिएको टोखा र लाजिम्पाटस्थित स्थानमा सम्पर्क र भेटघाटको वातावरण पनि उनले नै मिलाउने गरेको पाइएको छ ।’

    आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई पनि प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइँदैछ ।

    एसपी थापाका अनुसार, होटल भियनासँगै रहेको केटीबी काराओकेमा पनि तस्कर समूहका सदस्यहरु भेला हुने गरेको पाइएको छ ।  माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहँदै आएको थियो । अनुसन्धानका क्रममा दावाको दुई पूर्वप्रहरी प्रमुखसँग पनि निकट सम्बन्ध रहेको फेला परेको थियो ।

    अनुसन्धान चलिरहेका बेला अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र दावाको म्यासेजको विवरण पनि सार्वजनिक भएको थियो । तर, प्रहरीले उनीसँग सम्बन्ध देखिएका कसैलाई प्रतिवादी बनाएन । बरु वीच्याट कुुराकानीमार्फत जोडिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि प्रहरीले बयान लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ