• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विचार-ब्लग

    बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

    3.1K
    SHARES


    १) पृष्ठिका
    विश्व–कम्युनिस्ट आन्दोलनको विगत गौरवशाली र शिक्षाप्रद् छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रदान गरेको छ । बेला–बेला नेपालमा कम्युनिस्ट एकताको चर्चा, हल्ला र बहस चल्ने गर्दछ । हिजो एमाओवादी–एमालेको ‘कम्युनिस्ट केन्द्र’ को नारा कर्णप्रिय नै लाग्थ्यो । आज ‘बृहत् कम्युनिस्ट’ एकताको चर्चा र हल्ला चलिरहेको छ । यो पनि लोकप्रिय लाग्छ । क्रान्तिकारी कम्युनिस्ट एकताका खातिर चर्चा र हल्लाले मात्र कम्युनिस्ट एकता सम्भव होला ? कम्युनिस्टहरू विभाजनको कारण के हो ? एकताको आधार के होला ? सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलन र करिब दुई शताब्दी लामो विश्व–कम्युनिस्ट आन्दोलनको इतिहास आरोह–अवरोह, उतार–चढाव, टुटफुटमा विभक्त भइरहेको छ ।

    यो स्वयम् कम्युनिस्ट र आमजनताका लागि प्रिय छैन । माक्र्स–एङ्गेल्सले ‘विश्वका मजदुरहरू, एक होऔँ !’ को उद्घोष गर्नुभयो । त्यो विचार शोषित–उत्पीडित श्रमिक वर्ग र आमजनताको वास्तविक भौतिक शक्तिमा रूपान्तरण भयो । त्यसले पुँजीवादलाई अजायब घरमा लगेर राख्यो र पृथ्वीको विशाल भूभागमा समाजवाद स्थापना भयो । आज वास्तविकता फेरिए पनि त्यो पृष्ठभूमिमा पृथ्वीका सात अर्ब मानिसमा बहुसङ्ख्यक एवम् विशाल भूभागमा त्यो निशान्त विद्यमान छ । रुसले इतिहासको सोभियत खोज्नु र चीनले माओकालीन युगलाई पछ्याउन खोज्नु त्यसकै ज्वलन्त उदाहरण मान्न सकिन्छ । नेपालमा पनि कम्युनिस्टप्रिय जनमत बहुसङ्ख्यक छ । आज पनि दुनियाँमा श्रमिक वर्ग र आमजनतामा कम्युनिस्ट र समाजवादप्रति बेजोड आकर्षण र अपेक्षा छ । विश्व–साम्राज्यवादले कम्युनिस्ट र समाजवादका विरुद्ध विभिन्न बकबास र प्रलाप गरिरहेको छ । आज विश्व–साम्राज्यवाद (पुँजीवाद) राजनीतिक, आर्थिक, सामाजिक दृष्टिले मात्र होइन, प्राकृतिक एवम् जैविक हिसाबले पनि सङ्कटमा छ ।

    ‘साम्राज्यवाद समाजवादी क्रान्ति (सर्वहारा वर्गको सामाजिक क्रान्ति) को पूर्वबेला हो । सामाजिक अन्धराष्ट्रवाद समाजवादप्रति पूर्ण विश्वासघात हो’ भनेर लेनिनले (सन् १९१६, साम्राज्यवाद पुँजीवादको चरम अवस्थाको भूमिका) उल्लेख गर्नुभएको थियो । विश्व–साम्राज्यवादी र सामाजिक अन्धराष्ट्रवादी सङ्कटले त्यसको पुनः पुष्टि हुँदैछ । ‘मेरो निक्र्योलमा यी सबै खराबीहरू निर्मूल गर्ने एउटै मात्र उपाय भनेको सामाजिक उत्तरदायित्व लक्षित– शिक्षा व्यवस्थासहितको समाजवादी अर्थतन्त्रको स्थापना हो’, विश्वविख्यात भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले (समाजवाद नै किन ?, मई १९४९, मन्थ्ली रिभ्युको पहिलो अङ्कमा प्रकाशित, नेपाल रिडर्सका लागि दामोदर उपाध्यायको अनुवाद) जोडदार रूपमा समाजवादको पक्षपोषण मात्र होइन, समाजवाद नै अद्वितीय विकल्प रहेको बताउनुभएको थियो । त्यसैले यो युग विश्व–साम्राज्यवादको होइन, वैज्ञानिक समाजवादको हो भन्ने सिद्ध गर्दछ ।

    ‘पुँजीवादी युगको अन्त्य अपरिहार्य छ । पँुजीवादी युग बितिरहेको छ तर छिटो होइन, अपरिहार्य रूपमा’ अमेरिकी लेखक जेरेमी रिफ्किनको (जिरो मार्जिनल कस्ट सोसाइटी, रमेश सुनुवार र राजकुमार श्रेष्ठ, ११ चैत, २०७६, नयाँ समाज) भन्ने निष्कर्षले पनि विश्व–साम्राज्यवाद (पुँजीवाद) को विकल्प विश्व–साम्राज्यवाद (पुँजीवाद) होइन, वैज्ञानिक समाजवाद नै हो । माक्र्स–एङ्गेल्सले ‘विश्वका मजदुरहरू, एक होऔँ !’ भनेर गरेको आह्वानमा संसारका क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध किन नहुने ? विश्व–साम्राज्यवाद (पुँजीवाद) र दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद किन स्थापना नगर्ने ? वास्तविक क्रान्तिकारी कम्युनिस्ट एकताले विश्व–साम्राज्यवाद (पुँजीवाद) को अन्त्य र वैज्ञानिक समाजवादको स्थापना आदर्शवादको कुनै स्वर्गको सपना होइन, भौतिकवादको धर्तीमा सम्भव भएको थियो र आज पनि सम्भव छ । विश्व–पुँजीवादको मृत्यु र वैज्ञानिक समाजवादको विजय अवश्यम्भाबी छ ।

    २) एकताको चर्चा र हल्ला
    सात दशक लामो इतिहासमा दर्जनौँपटक फुटेका नेपालका कम्युनिस्ट पार्टीहरूबीचमा बेलाबेला एकताको चर्चा र हल्ला पनि चल्ने गर्दछ । व्यापक जनसमर्थन, जनमत र जनअपेक्षा भए पनि कम्युनिस्टहरू किन एक हुन सक्दैनन् ? कम्युनिस्टहरूबीचको एकता ‘सिसिफसको ढुङ्गाको कथा’ जुन शिखरमा कहिल्यै पु¥याउन सकिँदैन, ‘भ्यागुताको धार्नी’ जो कहिल्यै पुग्दैन र ससाना नाङ्लो पसल जसले केही हुँदैन भन्ने मानिसहरूका व्यङ्ग्यहरू खुबै सुनिन्छ । आँखाको अपाङ्ग नेत्रबहादुर, दुई पैसा नभएको धनबहादुर र मरन्च्याँसे बलबहादुर नामका व्यक्ति एवम् मानिसजस्ता नामधारी र ब्रान्डका कम्युनिस्टका कारण जनअपेक्षाअनुरूप एकता असम्भव भएको हो । आकाश बदलिन सक्छ तर ताओ कहिल्यै बदलिँदैनन् । विष्णुको अवतार राजतन्त्र सूर्य–चन्द्रजस्तै हो जो कहिल्यै ढल्दैन र मर्दैन । प्रकृति विज्ञानले पुष्टि गरेको छ– सूर्य–चन्द्रको मात्र के कुरा एक दिन यो ब्रह्माण्ड पनि नष्ट हुनेछ ।

    के कम्युनिस्ट एकता सम्भव छैन ? सम्भव छ । ‘इतिहासको द्वन्द्ववाद नै कस्तो छ भने माक्र्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहरूलाई माक्र्सवादको मुकुन्डो लाउन बाध्य गर्दछ’ (कार्ल माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य शीर्षक लेखमा, खण्ड ५, पृष्ठ ३६०–३६७, ६ डिसेम्बर, सन् १९०१) भनेर लेनिनले उल्लेख गर्नुभएझैँ संसारभरका अवसरवादीहरू तथा संशोधनवादीहरूले कम्युनिस्ट र समाजवादको नाम धारण एवम् साइनबोर्डको प्रयोग व्यापक रूपमा गरिरहेका छन् । समाजवादको लोकप्रियता, सफलता र विजयपछि बुर्जुवा र पुँजीवादीहरूले समेत समाजवाद शब्दको प्रयोग गरिरहेका छन् । महान् लेनिनले ‘राजनीतिमा शब्दको दुरुपयोग एकदम साधारण कुरा हो । बेलायती बुर्जुवा उदारवादका अनुयायी हारकोटले ‘अब हामी सबै समाजवादी बनेका छौँ’, बिस्मार्कका समर्थकहरूले र पोपलेओ तेह्रौँका मित्रहरूले अक्सर आफूलाई ‘समाजवादी’ भन्ने गर्थे ।’ (लेनिन, जुन– जुलाई १९०५, खण्ड ११, पृष्ठ १–१३१) भनेझैँ आजको दुनियाँमा सबैले समाजवाद र कम्युनिस्टको भ्रम फैलाइरहेका छन् । समाजवादको नक्कली मुकुन्डो लगाउन विवश भइरहेका छन् ।

    वास्तविक समाजवादीहरूका सीमा र कमजोरीका कारण पुँजीवादीहरूले इतिहासको अन्त्य, माक्र्सवादको असफलताको भ्रम एवम् झूटको कोकोहोलो मच्चाइरहेका छन् परन्तु पुँजीवादको मृत्यु र वैज्ञानिक समाजवादको विजय अवश्यम्भाबी छ । लेनिनले आफ्नो रचनासङ्ग्रह खण्ड ४१, पृष्ठ २९८–३१८, युवक सङ्घहरूका कार्यहरूमा उल्लेख गर्नुभएको थियो– कम्युनिस्ट भनेको सामूहिकता हो । कम्युनिस्ट सदाचार त्यो हो– मानव समाजलाई श्रमको शोषणबाट मुक्ति दिलाउने, वर्गोपरि धारणा ग्रहण गराउने र मानव समाजमा अन्तरनिहित वर्गसङ्घर्षको हितबाट नै पैदा हुन्छ । कम्युनिस्ट नैतिकता त्यो हो श्रमजीवीहरूको शोषणका विरुद्ध सङ्घर्ष र शोषकहरूको स्वामित्वका विरुद्ध एकताबद्ध गर्नु । कम्युनिस्ट र समाजवाद भन्ने कुरा त उनीहरूको व्यापारिक तरिका मात्र हो । कम्युनिस्ट पार्टी र समाजवादप्रति नेपाली जनताको अगाध आस्थाका कारण कबाडी सङ्कलन केन्द्रमा थुपारिएका नक्कली सामानहरूमा नयाँ लोगोको प्रयोग गरेर आमजनतालाई पुनः विश्वासघात गर्ने, धोका दिने र ठग्ने कुचेष्टा मात्र गरिरहेका छन् । आवरण, नामधारी र ब्रान्डका कम्युनिस्टबीच कुर्सी र स्वार्थकेन्द्रित केन्द्र बन्न सक्छ तर त्यो कम्युनिस्ट एकता होइन । ‘आजको अपरिहार्य आवश्यकता ! वास्तविक क्रान्तिकारी कम्युनिस्टबीच एकता !’ यो सम्भव छ । परन्तु यो सम्भावनालाई वास्तविकतामा बदल्नैपर्छ । अमूर्त चर्चा र हल्ला गरेर हुँदैन,। यसको खातिर सार्थक बहससहितको उत्तम निष्कर्ष निकाल्न जरुरी छ ।

    ३) विभाजनको कारण

    माक्र्सवाद–लेनिनवाद–माओवाद र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको तोडमोड एवम् परित्याग गरेर पुँजीवाद र संशोधनवादलाई व्यवहारतः लागू गर्नुले कम्युनिस्ट एकता भङ्ग हुने गरेको छ । पार्टी सञ्चालनमा जनवादी केन्द्रीयता र आत्मालोचना–आलोचनाको विधिको सही प्रयोग होइन, ब्रह्माण्ड, मानवसमाज, पार्टीमा लागू हुने ‘विपरीतहरूको एकत्व’ भौतिकवादी द्वन्द्ववादको नियम, पार्टीभित्र दुई लाइन सङ्घर्ष, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई खारेज गर्नुले कम्युनिस्ट एकता भङ्ग मात्र होइन, कम्युनिस्ट पार्टीको सार र रूप बदलिएको छ । अति स्वतन्त्रता र थुपारिएको अनुशासन दुवैले अराजकता र नोकरशाहीपन पैदा मात्र होइन, पार्टी विभाजन र विसर्जन हुन्छ । अमूक व्यक्ति पार्टी र समितिभन्दा माथि सिंहासन एवम् विराजमान सम्राट् बन्ने कार्यशैलीले सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनतासँग घनिष्ट सम्बन्ध बनाउने र आलोचना–आत्मालोचनाको विधि समाप्त मात्र होइन, कम्युनिस्ट पार्टी विघटन हुने गरेका छन् । व्यक्तिवादी महत्वाकाङ्क्षाको सर्वसत्तावादी शासन गर्न खोज्नु । गलत नेतृत्व र प्रणालीका कारण पार्टीको पतन हुन्छ । ‘वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ’ भन्दै वैज्ञानिक समाजवाद– साम्यवादलाई तिलाञ्जली दिनु अर्थात् नयाँ जनवादका कार्यभारसहित वैज्ञानिक समाजवादको न्यूनतम् कार्यक्रम तथा मूल कार्यदिशा अस्वीकार गर्नुले कम्युनिस्ट पार्टी विघटन र क्रान्तिहरू पराजय हुने गरेका छन् । दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध सङ्घर्ष होइन, संसद्वाद स्वीकार्नु तथा संसदीय संशोधनवादी बन्नुले कम्युनिस्ट एवम् समाजवादको जनआकर्षण र जनअपेक्षा निराशामा बदलिएको छ ।

    सङ्घर्ष, बलिदान र विजयको नयाँ इतिहास निर्माण होइन, पुनरावृत्त भएको छ । सामाजिक रूपान्तरण एवम् क्रान्ति लेनदेनमा अवरुद्ध भएको छ । आमजनतालाई पटकपटक धोका भएको छ । नामधारी कम्युनिस्ट पार्टी पनि विश्वमा बदनाम एवम् असफल दलाल संसदीय व्यवस्थामा चुर्लुम्म डुब्नु, हिमायती बन्नु वा त्यसलाई नयाँ जलप (रङरोगन) लगाएर जनतामा लादिरहनुले र सर्वहारा वर्गीय क्रान्तिको सिद्धान्त र मार्गलाई छोडेर दलाल पुँजीवादी व्यवस्थामा समाजवादको पुलिन्दा बाँडिरहनुले आमजनता दलाल पुँजीवादी संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवाद होइन, संसद्वादमा सीमित रहन विवश छन् । आमजनताले नयाँ विकल्प खोजिरहेका छन् । कम्युनिस्ट पार्टी कम्युनिस्ट जीवनशैली, नैतिकता, सदाचार र आचरणबाट पतीत भएर नवधनाढ्य दलाल पुँजीपति वर्गमा बदलिनुले जनतामा विभ्रम पैदा भइरहेको छ । राष्ट्रिय स्वाधीनता र मुलुकको सार्वभौमिकताका विरुद्ध विश्वसाम्राज्यवाद मूलतः भारतीय साम्राज्यवादको दलाल एवम् कठपुतली बनिरहनुले कम्युनिस्टहरू जसका विरुद्ध लड्दै आयो, त्यसकै समर्थक भएर मर्ने गरेका छन् । संसदीय संशोधनवादी र सामाजिक अन्धराष्ट्रवादी प्रवृत्ति सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासिवादमा पतन हुन्छ । यो जर्मनको सिदेमान र भारतको ज्योति वसुको पथमा बेलगाम अन्धाधुन्ध कुद्छ । आफ्ना जनविरोधी तथा राष्ट्रघाती हर्कतहरूको घृणा, विरोध र भन्डाफोर गर्ने सबैलाई बुट बजार्ने, सङ्गीन रोप्ने अर्थात् फासिवादी दमन गर्ने संसदीय संशोधनवादी र सामाजिक अन्धराष्ट्रवादी प्रवृत्तिको आमविशेषता हो ।

    ४) एकताका आधार
    क्रान्तिकारी रूपान्तरण र कम्युनिस्ट पार्टी विभाजनका उल्लिखित विद्यमान कारणहरू नष्ट गर्नु नै कम्युनिस्ट एकताका आधार हुन् । जापानी आक्रमण–विरोधी राष्ट्रिय संयुक्त मोर्चाका लागि लाखौँको सङ्ख्यामा जनसमूहलाई आफूपट्टि तान (७ मे, १९३७) मा कमरेड माओले ‘कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ, सम्पूर्ण वर्ग र सम्पूर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रिय र जनवादी क्रान्ति पूरा गर्न सकिन्छ’ भनेझैँ विश्व–साम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध र नयाँ जनवादी कार्यभारसहितको वैज्ञानिक समाजवादी क्रान्तिका खातिर विद्रोह पनि क्रान्तिकारीहरूको एकताको नयाँ आधार हो । एङ्गेल्सले ‘एकताको नाराबाट हामी भ्रममा पर्नु हुँदैन’ भनेझैँ कम्युनिस्ट एकताको चर्चा र हल्लाबाट भ्रमित हुनु हुँदैन । लेनिनले ‘एकता धेरै राम्रो कुरो हो र एकता धेरै राम्रो नारा हो परन्तु मजदुरहरूको उद्देश्यका लागि जुन वस्तु आवश्यक छ, त्यो माक्र्सवादीहरूको एकता हो, न कि माक्र्सवादीहरू र माक्र्सवादको विरोध तथा त्यसलाई विकृत गर्नेहरूसितको एकता’ (लेनिन, सङ्कलित रचना, भाग २०, पृष्ठ २३२) भनेझैँ माक्र्सवाद–लेनिनवाद–माओवाद र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको सार्वभौम सिद्धान्तलाई पथप्रदर्शक मान्ने र जीवन व्यवहारमा लागू गर्ने वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग मात्र एकता सम्भव छ ।

    लेनिनले ‘हामीले के बिर्सनु हुँदैन भने एउटा साझा विचारधारात्मक आधारबिना एकताको सवाल हुन सक्दैन’ (लेनिन, सङ्कलित रचना, भाग ५, पृष्ठ २२७) भनेझैँ माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण नै क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताको पहिलो आधार हो । नयाँ जनवादका कार्यभारसहित वैज्ञानिक समाजवादको न्यूनतम् कार्यक्रम तथा मूल कार्यदिशा स्वीकार गर्ने र दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध सङ्घर्ष, बलिदान र विजय हासिल गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताको दोस्रो आधार हो । जनवादी केन्द्रीयता र आत्मालोचना–आलोचनालाई आत्मसाथ एवम् लागू गर्ने र सामाजिक रूपान्तरण एवम् क्रान्तिका खातिर बल प्रयोगको भूमिका स्वीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताको तेस्रो आधार हो । यसको मूल लक्ष्य लेनिनले ‘एउटा यस्तो क्रान्तिकारी सिद्धान्त जसले सबै समाजवादीहरूलाई एकताबद्ध पार्दछ, जसबाट उनीहरूले आफ्ना सबै विश्वासहरू प्राप्त गर्दछन् र जसलाई उनीहरूले आफ्नो सङ्घर्षका तरिकाहरूमा र कार्य साधनमा प्रयोग गर्छन् । यस्तो सिद्धान्त नभईकन कुनै बलियो समाजवादी पार्टी बन्न सक्दैन’ (लेनिन, भाग ४, पृष्ठ २२१) मा भनेझैँ विचार, सिद्धान्त, लक्ष्य, कार्यक्रम, कार्यदिशा र वैज्ञानिक एवम् सामूहिक नेतृत्व प्रणाली क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताका आधारभूत आधारहरू हुन् । संयुक्त सरकारका विषयमा (२४ अप्रिल, १९४५) मा महान् माओले ‘हामी आफ्नो पार्टीका सबै शक्तिलाई सङ्गठन र अनुशासनका जनतान्त्रिक केन्द्रीयतावादी सिद्धान्तहरूमा दृढतापूर्वक एकगठ पार्नेछौँ । पार्टीका कार्यक्रम, विधान र निर्णयहरूलाई मान्ने जुनसुकै कमरेडसित पनि एकता गर्नेछौँ’ भनेझैँ क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताका आधार स्पष्ट नै छन् । पार्टीगत मात्र होइन, समूहगत र व्यक्तिसँग पनि क्रान्तिकारी एकता जरुरी छ ।

    लेनिनले ‘समाजवादी क्रान्तिका निम्ति हुने सङ्घर्षमा सर्वहारा वर्गको एकता त्यसको सबभन्दा ठूलो हतियार हो । यस निर्विवाद सत्यबाट त्यतिकै निर्विवाद रूपमा कुन कुरा निस्कन्छ भने समाजवादी क्रान्तिका निम्ति हुने सङ्घर्षमा तगारो हाल्न सक्ने निम्नपुँजीवादी तत्वहरूको ठूलो सङ्ख्या सर्वहारा पार्टीमा सम्मिलित हुँदा त्यस्ता तत्वहरूसित एकता बनाउनु सर्वहारा वर्गको लक्ष्यका लागि हानिकारक हुन्छ’ (लेनिन, सङ्कलित रचना, भाग २१, पृष्ठ १०९) भनेझैँ कम्युनिस्ट र समाजवादका नक्कली व्यापारीहरूसँग पार्टी एकता हुनै सक्दैन । खास व्यक्ति र समूहको पुनर्मिलन गर्नु एवम् मिलाउनु पार्टी एकता होइन । विचार, सिद्धान्त, दृष्टिकोण, रणनीति, कार्यदिशा, कार्यनीति, सङ्गठन र नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताका आधारभूत पक्षहरू हुन् । वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टी एकता हतारो, चटारो र निरपेक्ष रूपमा हुँदैन । यो सापेक्ष हुन्छ । कार्यगत र मोर्चागत रूपमा सहकार्यको माध्यमबाट एकताको ढोका खोल्नु पर्दछ । क्रान्तिकारी रूपान्तरण र क्रान्तिलाई एकताको मूल आधार बनाइनु पर्दछ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई जडसूत्रवादका रूपमा बुझ्ने र प्रयोग गर्ने यथास्थितिवाद एवम् यान्त्रिकतावाद तथा नयाँ सिर्जनात्मक प्रयोगका नाममा देखा पर्ने सुधारवादी एवम् नवसंशोधनवादी विचलन र विसर्जन पनि कम्युनिस्ट आन्दोलनमा गम्भीर समस्या रहेको छ । जडसूत्रवादको विरोधको तात्पर्य संसद्वादको जयजयकार गर्नु होइन, माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत पक्षहरूलाई पकडेर अघि समयसापेक्ष बढ्नु हो ।

    ५) महान् उद्देश्यमा एकता
    विश्वमा साम्राज्यवादी सङ्कट, बहुध्रुव, अन्तरविरोधहरू एवम् आर्थिक सम्बन्धमा परिवर्तन, स्वाधीन आन्दोलनमा विकास, सशस्त्र सङ्घर्ष एवम् क्रान्तिकारी आन्दोलनमा वृद्धि र आणविक शक्तिको विकासले प्रत्यक्ष युद्ध नभए पनि नयाँ स्वरूपका युद्धहरू देखापर्नुले नयाँ क्रान्ति विस्फोट हुने सम्भावना देखिन्छ । मुलुकमा दलाल पुँजीवादी सत्तामा चरम सङ्कट पैदा हुनु, त्यसले जनविरोधी तथा राष्ट्रघाती हर्कतहरू गर्नु, जनतामा व्यापक असन्तोष एवम् आक्रोश बढ्नु, जनताले सत्ताको विकल्प खोज्नु, नयाँ जनवादका कार्यभारसहित वैज्ञानिक समाजवादको न्यूनतम् कार्यक्रम र वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाको विकासले सुन्दर सम्भावनाको क्षितिज खुल्दै गइरहेको छ । विश्व–साम्राज्यवाद र दलाल पुँजीवादी संसदीय व्यवस्था कमरेड माओले ‘छिटोछिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैँ छ र यसलाई छिट्टै अजायब घरमा लगेर राखिनेछ ।

    साम्यवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ छ । यो पहाड पन्छाउने र समुद्र पल्टाउने गति र बज्रको शक्ति लिएर संसारमा फिँजिँदैछ’ भनेझैँ हामी कम्युनिस्टहरूको महान् उद्देश्य छ । यो महान् उद्देश्यका खातिर महान् एकता आवश्यक छ । एङ्गेल्सले मजदुरहरू र आन्दोलनको हितलाई केन्द्रमा राखेर ‘सर्वहारा आन्दोलनलाई कुनै खास ढाँचामा ढाल्ने कम्युनिस्टहरूको उद्देश्य छैन, न त त्यसको लागि उनीहरूले डेढ मानाको खिचडी छुट्टै पकाउनेझैँं कुनै अर्को सङ्कीर्ण सिद्धान्तको नै जग हाल्ने गर्दछन्’ (एङ्गेल्स, सर्वहारा र कम्युनिस्ट, जनदिशा प्रकाशन नेपाल, मालेमावादी सङ्गठनात्मक सिद्धान्त, पृष्ठ ५) भनेझैँ आज महान् उद्देश्य प्राप्तिका निम्ति वास्तविक क्रान्तिकारी कम्युनिस्टबीच एकता अपरिहार्य आवश्यक छ । सर्वोत्कृष्ट विचार, विश्व–दृष्टिकोण, सर्वशक्तिमान, सत्य, सम्पूर्ण समाज व्यवस्था र मानव सभ्यता वैज्ञानिक समाजवाद– साम्यवाद प्राप्तिका लाागि क्रान्तिकारी कम्युनिस्ट पार्टी एकता युगीन आवश्यकता हो । मानव जातिलाई वर्गविहीन, जातिविहीन, राष्ट्रविहीन, धर्मविहीन, न्याय, मुक्ति, समानता, शान्ति, समृद्धि र वैज्ञानिक दुनियाँमा पु¥याउने मानवसभ्यता वैज्ञानिक समाजवाद– साम्यवादको क्षितिज खोल्न वास्तविक क्रान्तिकारी कम्युनिस्टबीच एकता अपरिहार्य छ ।

    निष्कर्ष,
    विद्रोह एवम् विभाजनबिना एकताको प्रश्न उठ्दैन । विद्रोह एवम् विभाजनले एकताको जन्म दिन्छ वा नयाँ एकताको नयाँ आधार खडा गर्दछ । क्रान्तिकारी रूपान्तरण र कम्युनिस्ट पार्टी विभाजनका विद्यमान कारणहरूको नष्ट गर्नु नै कम्युनिस्ट एकताको आधार निर्माण गर्नु हो । लेनिनले ‘हामी एकताबद्ध हुन सक्नुभन्दा पहिले विभाजन रेखाहरू खिच्नुपर्छ’ (लेनिन, सङ्कलित रचना, भाग ७, पृष्ठ ३८७) भनेझैँ विचार, सिद्धान्त, दृष्टिकोण, रणनीति, कार्यदिशा, कार्यनीति, सङ्गठन र नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताका आधारभूत पक्षहरू सुस्पष्ट गरिनु पर्दछ । वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टी एकता हतारो, चटारो र निरपेक्ष रूपमा हुँदैन । यो सापेक्ष हुन्छ । अमूक पार्टीको रूपरङ बदल्नु कम्युनिस्ट एकता हुनै सक्दैन । क्रान्तिकारी रूपान्तरण र क्रान्ति नै एकताको मूल आधार हो । कार्यगत र मोर्चागत रूपमा सहकार्यको माध्यमबाट एकताको ढोका खोल्नु पर्दछ । क्रान्तिकारी रूपान्तरण र क्रान्तिलाई एकताको मूल आधार बनाइनु पर्दछ ।

    कम्युनिस्ट पार्टी र समाजवादप्रति नेपाली जनताको अगाध आस्था, आकर्षण र अपेक्षाका कारण कबाडी सङ्कलन केन्द्रमा थुपारिएका नक्कली सामानहरूमा नयाँ लोगोको प्रयोग गरेर आमजनतालाई पुनः विश्वासघात गर्ने, धोका दिने र ठग्ने कुचेष्टा नामधारी नक्कली कम्युनिस्ट र कथित समाजवादीहरूले ग्रिरहेका छन् । यस्ता विभ्रमबाट आमजनतालाई स्पष्ट गर्नु र सचेत गर्नु पर्दछ । आवरण, नामधारी र ब्रान्डका कम्युनिस्टबीच कुर्सी र स्वार्थ केन्द्रित केन्द्र बन्न सक्छ तर त्यो कम्युनिस्ट एकता होइन । वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टी एकतालाई दुनियाँको कुनै पनि तागतले रोक्न सक्दैन । वैज्ञानिक समाजवादी क्रान्तिका खातिर लाखौँलाख जनता उठ्नेछन् र दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य अवश्यम्भाबी हुनेछ । सामाजिक रूपान्तरण, स्वाधीनता, शान्ति र समृद्धिका खातिर वैज्ञानिक समाजवादी क्रान्ति– जिन्दावाद ! क्रान्तिकारी कम्युनिस्ट एकता–जिन्दावाद !
    ४ असार, २०७९



    प्रतिक्रिया