• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कला साहित्य

    बाबाको सास कि लास लिएर आउँछु भन्दै जब मलेसिया उडे…

    1.3K
    SHARES


    उसव बुढाथोकी । ‘ओई गोपाल तेरो बाबा मलेसिया जाने रे हो?’ भनेर मलाई छिमेकी केदार दाइले सोध्नुभयो। ‘खै मलाई थाहा छैन’ भन्दै दौडेर घरमा आमालाई सोध्न गएँ।

    आमाले गहभरि आँसु पार्दै भन्नुभयो ‘बाबा जान्छु भन्दै हुनुहुन्थ्यो। अर्काको देश अर्काको भेष भन्छन्। बाबालाई नजानु भन्न बाबु न मान्छन् कि तैंले भन्दा मैले भनेको सुन्नु हुन्न।’

    ‘बाबालाई जान दिनु न। हामी पनि धनी हुन्छौं। जस्ताको छानो छापौंला। पानी पनि चुहिँदैन। टलक्क देखिन्छ। हामीलाई कसैले हेप्दैन किन पीर गर्नुहुन्छ? म छु नि साथी।’ भन्दै म खेल्न कुदें। बाटोमा बाबालाई भटें र बाबालाई सोधें- बाबा हजुर मलेसिया जाने रे हो? ममीले नजानु भन्न लगाउनु भएको छ मलाई।’

    बाबा मुसुक्क हाँस्नुभयो र मेरो गालामा चुप्पा मोई खानभयो। आँखाभरि आँसु पार्नुभयो। बाबाले मलाई यति धेरै माया गर्नु हुँदो रैछ मलाई थाहै थिएन।

    केही दिनमा बाबाको फोन आयो मेनपावरबाट। बाबालाई यही वैशाख १५ गते फ्लाइट छ भनेको रैछ। भोलिपल्टबाट पैसा खोज्न सबैतिर जानुभयो। डेढ लाखमा ३५ हजारमात्रै जम्मा भएछ।

    बाबाले बेलुका आमालाई भन्नुभयो, ‘पैसा पुर्याउन सकिनँ, अब जाने कि क्यान्सिल गर्ने दोधारमा छु।’ आमाले भन्नुभयो, ‘खोलामा पसेपछि खुट्टा कमाउनु हुन्न।’ आमाले बिहेका गरगहना बेच्नुभयो।

    पैसा पूरा भएपछि बाबा काठमाडौं जानुभयो। बेलुकाको फ्लाइट थियो। प्लेन चढ्नुअघि बाबाले आमालाई फोन गर्नुभयो। ‘तेरो धेरे याद आयो बूढी। झरेर घरै आऊँजस्तो लाग्दो रैछ। पिलेन चढेपछि त’, भन्नुभयो। आमा रूँदै अब भेट कहिले होला मेरो राजा भन्दै, भुइँमा लड्नुभयो।

    मैले फोन टिपेर ‘हेलो बाबा’ भनें। बाबा बहुत रूँन भयो मलाई सम्झाउँदै भन्नुभयो, ‘म गएपछि घरको जिम्मेवारी तेरो हो। तँ छोरो मान्छे होस्। मन्त्र, सर्प र गोली सानो भए पनि सबै डराउँछन्। तँ तस्तै बन्नू। बहिनी र आमाको ख्याल गर्नू। साँझ सीमानको रक्षा गर्नू, छोरो मान्छे घरमा नहुँदा आमा, बहिनीलाई कु दृष्टिले हेर्छन्।’

    ‘बाबा म नि छोरो मान्छे त हुँ नि किन पीर गर्नुहुन्छ, बाबा’ भन्दाभन्दै प्लेन उड्यो। बाबाले ‘तेरो जिम्मा’ भनेको कुराले जिम्मेवारी सबै मेरो टाउकोमा आएको भान भयो। त्यही दिन म हजुरबाको घरमा गएँ। बा-आमा मलाई देखेर खुसी हुनुभयो।

    ‘छोरा गएनि नाति छ बस बाबु’ भन्नुभयो। मैले हजुरबालाई भनें ‘बा मलाई पल्टनको खुकुरी दिनुस न है?’ बाले ‘किन चाहियो तँलाई’ भन्दै कराउनुभयो। ‘बा घरमा एउटा खुकुरी छैन। बाबा नि जानु भयो। राति डर लाग्छ, चोर ,डाँका आए भने म त भाग्न सक्छु। आमा बहिनीको जिम्मा पनि मेरो हो भन्नुभएको छ बाबाले’ भनें।

    पछि बाले ‘झिकेर लैजा सिरानी मुनि छ, यो पल्टनको निशानी हो धेरै धारिलो छ। रक्षक र भक्षक दुबै हो’ भन्नुभयो। ‘हस बा’ भन्दै म खुकुरी हल्लाउँदै घरतिर हिँडें। पँधेरामा मानिस गफ गर्दै थिए।

    ‘जवानी बुढी छाडेर गयो, तर बुढी कडा छ दायाँ बायाँ गर्दिन।’भनेको मात्रै सुनें। मलाई देखेर माथिल्लो घरको साइला दाइले सोध्नुभयो, ‘कताबाट आइस् कान्छा? दाप बोकेर?’ मैले दापबाट सेतो खुकुरी देखाउँदै ‘यो दाप हो कि खुकुरी?’ भनें। दाइले सोधे- किन बोक्या त?

    ‘आमा र बैनीको रक्षा गर्न’ उनीहरू गलल हाँसे। ‘के रक्षा गर्छस् तैंले?’ मैले भनें- कुदृष्टिले हेर्नुस् त यी छप्काइना भने बाउको छोरो हैन। यति भनेसी सबैको अनुहारमा डर देखियो। ‘छोरो त यस्तो पो हुनुपर्छ’ भन्न थाले। म घरतिर हिँडें।

    तर बाउ नभएसी सबैले हेप्दा रैछन्। खसी काटेको ठाउँमा मासु नदिएर बहिनीले ‘चिची भनेर रूँदा’ दाइको मन कस्तो भयो होला! खेतको पानीमा पालो मिच्ने, घट्टा,पँधेरोमा हरेक ठाउँमा अन्याय सहनुपर्ने।

    उता बाबाले ६ महिनासम्म पैसा पठाउनुभयो। त्यसपछि बाबाले चिठीमात्रै पठाउनु हुन्थ्यो। कहिले अंकल त कहिले बासँग सापटी लिनु भन्नुहुन्थ्यो। पैसा सापटी माग्दा ‘भई-भई के नाटक गर्छौ? बाउ पैसा टिप्न गको छ त उसैलाई पठाऊ भन्न, कि बेसी खेत बेच, बा उतै बिहे गरेर बस्यो होला’ भने।

    कतिले आमालाई केटाको कुरा लिएरसम्म आए। ‘बिहे गर के बाटो हेर्छौ,’ भन्दै। बाबाले सुरूसुरूमा मलाई छुट्टै एक पेज चिठी लेख्नु हुन्थ्यो। ‘बाबु यो तँ मात्रै पढ है’ भनेर।

    उहाँ लेख्नुहुन्थ्यो, ‘गाउँघरमा तँलाई क-कस्ले हेप्छ? क-कस्ले सहयोग गर्छन? आमालाई छरछिमेकले के भन्छन्? मामाघरतिर के भन्छन? आफ्नो बाटो गर्नु त्यसको आस नगर्नु भन्छन् कि भन्दैनन्? आमा परपुरूषसँग बोल्ने, हाँस्ने, जिस्किने गर्छिन् कि नाइँ?’ बाबाका यी कुरा सिर्फ मेरो पन्नामा हुन्थे।

    म यसको जवाफ छुट्टाछुट्टै पठाउँथें तर मलाई आमाको चालचलनबारेमा सोध्दा अलि अप्ठयारो लाग्यो तर गाउँतिरको घटना देखेर भन्नुभएको होला सायद।

    मैले जवाफमा लेखेको थिएँ- बाबा! आमाको कुनै चिन्ता लिनु पर्दैन। आमा हाम्रो मुख हेरेर बस्नुहुन्छ। अब आमाको चालचलनको बारेमा नसोधनु है, अरू जे जे सोधे नि म जवाफ पठाउँछु।’ भनेर पठाएपछि बाबाले त्यो कुरा कहिल्यै निकाल्नु भएन।

    दिनहरू बित्दै गए बाबा गएको १२ वर्ष पुग्दा नि बाबा नआएपछि एउटा भनाइको याद आयो ‘१२ वर्षमा खोला त फर्कन्छ भन्ने।’
    अब म बाबालाई खोज्न जान्छु भनें। सुरूमा आमा मान्नु भएन, ‘तँ गएपछि कसको मुख हेरेर बस्नु?’ भन्नुभयो।

    मैले आमालाई ‘आमा छोराको धर्म हो। बाबाको सास र लासको ठेगाना लगाउनु। म लगाएरै आउँछु। पूर्खाको श्राप लाग्छ। मलाई नरोक्नु’ भनेपछि आमा केही बोल्नु भएन। पासपोर्ट बनाउनको लागि सदरमुकाम गएँ।

    ‘सर मलेसियाको पासपोर्ट बनाउनपर्ने’ भनेको थिएँ सबै गलल हाँसे। ‘पासपोर्ट जुन देश गएनि एउटै हो भिसामात्रै फरक हो बाबु’ भन्नुभो एक अफिसरले। मलाई केही थाहा थिएन यस्ता कुरा। गाउँ छाडेर कतै गएको पनि थिइनँ। तर सक्छु भने आँट मात्रै थियो।

    सबै कागज पत्र मिलाएर दुई महिनापछि मलेसिया उडें। केही महिनापछि बाबाको बारेमा खोज खबर गरी पत्ता लगाएपछि आमा र बहिनीलाई चिठी लेखें। ‘आमा हामी दुबै जनाको भेट भयो फोटो पठाएको छु। अब केही समयपछि म केही पैसा कमाएरमात्रै आउँछु कुर्दै गर्नु, त्यतिन्जेल

    सबै ऋण नि तिरिन्छ। बहिनीको बिहे गरौंला’ भनी पठाएँ। आमा पनि खुसी हुनुभयो। चिठी आदान-प्रदान भइरह्यो। समय बित्दै गयो। दुई वर्षपछि मलेसियाबाट काठमाडौं ओर्लेर भोलिपल्ट रुम्जाटार पुगें। आमा बहिनी गाउँका दाजुभाइ सबै मलाई लिन पुगेका रैछन्। घरमा अघिल्लो दिन एउटा चिठी पुगेछ।

    रुम्जाटारमा आमालाई देखेपछि के भनौं के भयो। बाबा र मसँगै छौं भनेको थिए आमाको र बहिनीको खुसीको लागि तर आमा मलाई देखेपछि भक्कानिँदै बोल्नुभयो ‘बाबु मलाई सब थाहा भयो बाबाको बारेमा। हिजो यो चिठी आएको थियो। रामु दाइले त्यो चिठी पढेर सबैलाई सुनाउनु भयो।’ चिठीको भित्र यस्तो थियो।

    ‘म रोल्पाको मिलन बाजुरेली हुँ। भाउजूमा ढोग। छोरीलाई आशीर्वाद, मलाई माफ गर्नुस् म पापी भनौं या बफादार मलाई थाहा छैन,तपाईंको श्रीमानको १२ वर्षसम्म चिठी पठाउने म नै हो। दाइ आएको ६ महिनापछि दमको बिमार देखियो।

    उहाँको आत्माले अब धेरै बाँच्दिनँ भन्ने लागेपछि मलाई कसम खुवाएर एउटा सुनको औंठी हातमा राख्दै भन्नुभयो- मेरो छोरो नाबालक छ तर बहादुर छ। १० वर्ष भयो ८-९ वर्षपछि उसको पासपोर्ट बनेपछि त मलाई खोज्न आउला नआए पनि घर गरेर खान सक्छ, मेरो छोरो जवान नहुन्जेल मेरो घरमा म जिउँदो भएझैं चिठी पठाइरहनु मेरो छोराछोरी र बुढीलाई टुहुरो विधुवा भनेर त्यो गाउँ समाजले पापी नजर नलगाऊन्, नहेपुन् सधैं पत्र पठाई देऊ है बाजुरेली भाइ’ भनेर मेरो काखमा प्राण त्याग गर्नुभयो।

    त्यही कारण मैले चिठी पठाएको हुँ। तपाईंको छोरा साह्रै कर्मठ र धर्मको रक्षक रहेछ र हाम्रो भेट भयो भाउजु। अब पीर गरेर के गर्नु १२ वर्ष पहिले बितेका मान्छेको। हामी २ जना र नासो त्यहाँ आइपुग्छौं किरियाकर्मको विधि गरेर आउनुस् अन्तिम पत्र धन्यवाद’ भन्दै पत्र टुंगियो।

    त्यो चिठी पढेपछि पश्चिमे बाजुरेल दाइको को रहेछन् यस्तो वचनको पक्का मान्छे, भन्दै खोजी भयो बाजुरेली दाइ लास बोकेर आउँदै थिए,छेउमै लास बिसाएर बोले- मैले उहाँको लास र तपाईंको बिहेको औंठी दुबै, नासो जिम्मा लगाएँ। तपाईंको छोरो साहसी रैछ खोज्दै आयो र मैले मुक्ति पाएँ नत्र मेरो पत्र अरू कसैले पठाउथ्यो होला। ‘अब कर्म काज गर्नु’ भन्दै बिदा भएँ भन्दै हात हल्लाउँदै गए। सबैले श्रद्धाले शिर झुकाएर बिदाई गरे। अझैसम्म समाजमा यस्ता बाजुरेली पनि हुँदा रैछन्…।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ