बलराम तिमिल्सिना, कबिता दे’श अर्थात लालपूर्जा’
उसलाई
दार्जिलिङ्ग चाहिएको छ
तर गोर्खालीहरू चाहिएको छैन ।
असम चाहिएको छ
असमी चाहिएको छैन
पूर्वोत्तरका सातै बहिनी चाहिएको छ
तर एक जना पनि बासिन्दा होइन
ऊ तिनीहरूलाई थुन्न चाहन्छ-
कन्सन्ट्रेशन सेन्टरहरूमा
र सुख भोग गर्न चाहन्छ सातै बहिनीसँग
उसलाई
आन्ध्र प्रदेश, उडिसा
र झारखण्ड चाहिएको छ
दण्डिकारण्य सबै चाहिएको छ
कोइला, युरोनियम र फलाम चाहिएको छ
जङ्गल चाहिएको छ
बचाउन होइन
लकडीको ब्यापार गर्न
र अर्को मरुभूमि जन्माउन
त्यहाँका
सबै सबै कुरा चाहिएको छ
तर त्यहाँका एक जना पनि आदिबासी होइन
ऊ तिनीहरूलाई
नक्सलीको नाममा नामेट पार्न चाहन्छ !
उसैलाई
जम्बू चाहिएको छ
कश्मिर चाहिएको छ
लद्दाख चाहिएको छ
त्यहाँको
एक एक चिम्टी माटो चाहिएको छ
एक एक इन्ची जमीन चाहिएको छ
तर एक जना मान्छे पनि चाहिएको छैन ।
पूर्वोत्तरमा ऊ
चीनसँग सिँगौरी खेल्छ
लद्दाखमा ऊ
लाप्पा खेल्छ
जम्बू कश्मिरमा ऊ
काग समेत मार्छ र हल्ला गर्छ
वन्दे मातरमको गीत गाउँछ
कश्मिरीहरूलाई घर घरमा थुनेर
घर घरबाट थुतेर बेपत्ता बनाएर
ऊ कश्मिर आफ्नो पार्न चाहन्छ
तर कश्मिरीलाई दुश्मन मान्छ ।
एता पनि छ
उसैको गोत गएको शासक
र उसका भक्तगणहरू छन
जो पृथ्वी नारायणको तरबारबाट जन्मे
आमाको गर्भबाट होइन
जसले महेन्द्रीय पाठशालामा पढे-
‘श्रीमान् गंभीर नेपाली…..’
तिनीहरू जुन सुकै झण्डा बोकुन
तिनीहरू जुन सुकै वाद मानुन
ती अन्तमा उस्तै निस्कन्छन
ती एउटै गीत गाउदै निस्किन्छन
तिनीहरूलाई पनि
मधेशमै विर्ता चाहिन्छ
गुमेको गह्रो फिर्ता पनि चाहिन्छ
मधेश सग्लै चाहिन्छ
तर एक जना पनि मधेशी होइन ।
तिनीहरूलाई
दशगजाको खुब चिन्ता छ
तर दु:खीलाल सदाको चिन्ता छैन
तिनीहरूलाई
लिपुलेक सम्मैको पीर छ
तर पश्चिमका बासिन्दाको हैन
तिनीहरू
हिमाल नाम सुन्नासाथ नमस्कार गर्छन
तर तिनीहरू
हिमाली मान्छे देख्नासाथ
ऊ यति आयो भन्छन
तिनीहरू हिमाल कब्जा गरेर
यतिलाई राखेर चिडियाखानामा
पर्यटन प्रवर्धन गर्न चाहन्छन !
उता भारत
भारतबाट इन्डिया हुदै
हिन्दूस्तानमा बदलियो
एता नेपाल
दिव्य उपदेश कण्ठस्थ पारेर
अस्ली हिन्दूस्तान बन्न खोज्दै छ ।
देश भन्नु पनि
लालपूर्जा रहेछ शासकहरूको
वेदखल गरेर बासिन्दाहरूलाई
ती फैलाउन खोज्ने रहेछन आफूलाई !
२०७८/०२/११
भक्तपुर
प्रतिक्रिया