• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    दुवैले प्रधानमन्त्रीको दाबी नछाडेपछि नेतान्याहू र आइजेनकोटबीच जुटेन सहमति

    474
    SHARES



    एजेन्सी । इसराइलमा संयुक्त सरकार गठनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइजेनकोटबीच भएको छलफल निष्कर्षविहीन भएको छ।

    दुवै पक्षले प्रधानमन्त्री पद अर्को पक्षलाई दिन अस्वीकार गरेपछि वार्तामा सहमति जुट्न नसकेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।

    आइतबार नेतान्याहूको लिकुड पार्टी र आइजेनकोट नेतृत्वको याशार पार्टीका वार्ता टोलीबीच करिब एक घन्टा छलफल भएको थियो।बैठकपछि दुवै पक्षले सकारात्मक वातावरणमा वार्ता भएको र छलफल जारी रहने बताएका थिए।

    तर प्रधानमन्त्री पद कसले लिने भन्ने विषयमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेको टाइम्स अफ इसराइलले जनाएको छ। आइजेनकोट नेतृत्वको गठबन्धनका वरिष्ठ सांसद चिली ट्रोपरले लिकुडका प्रतिनिधिलाई आफूहरू जुनसुकै अवस्थामा पनि सरकार गठन गर्न प्रतिबद्ध रहेको बताएका थिए।

    ‘आइजेनकोट जुनसुकै परिस्थितिमा सरकार बनाउन दृढ छन्। यो कुरा बुझ्नुपर्छ,’ उनले भनेका छन्। नेतान्याहूनिकट व्यक्तिहरूले सम्भावित एकता सरकारमा दक्षिणपन्थी नेता इतामार बेन्गभिरको ओत्ज्मा येहुदित पार्टीलाई सहभागी नगराउन सकिने संकेत दिएका छन्। आइजेनकोटले नेतन्याहूसँग सत्ता सहकार्यका लागि राखेका विभिन्न सर्तहरूमध्येम लिकुडले अति दक्षिणपन्थी यहुदी पार्टीलाई सरकारमा सहभागी गराउन नहुने पनि एक थियो।

    इसराइल हायोमका अनुसार अमेरिकाले पनि बेन्गभिरलाई सरकारमा नराख्न दबाब दिएको छ। तर नेतान्याहूले सार्वजनिक रूपमा आफ्ना सबै अति दक्षिणपन्थी र अति धार्मिक सहयोगी दललाई सरकारमा सहभागी गराउनुपर्ने अडान राख्दै आएका छन्। लिकुडले वामपन्थी डेमोक्रेट्स पार्टीलाई समेत सरकारबाट बाहिर राख्न नहुने बताएको छ।

    नेतान्याहूसँग सहकार्य गर्ने विषयमा आइजेनकोटको गठबन्धनभित्रै मतभेद छ। यिसरेल बेइतेनुका नेता अभिग्दोर लिबरम्यानले नेतान्याहूसँगको वार्तालाई आइजेनकोटका लागि थापिएको जालको संज्ञा दिएका छन्। ‘नेतान्याहूको युग अन्त्य गर्नु सबैभन्दा महत्वपूर्ण लक्ष्य हो। उनलाई कृत्रिम रूपमा जीवन दिन हाम्रो कुनै रुचि छैन,’ उनले भनेका छन्।

    तर पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट भने लिकुडसँग एकता सरकार गठनको सम्भावना खोज्नुपर्ने पक्षमा छन्। उनले आलोपालो प्रधानमन्त्री हुने व्यवस्था भए आइजेनकोट पहिले प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन्।

    यसैबीच आइजेनकोट नेतृत्वको गठबन्धनले अति धार्मिक दल युनाइटेड टोरा जुडाइजम (यूटीजे) सँग पनि सरकार गठनबारे छलफल गरिरहेको छ। च्यानल १२ का अनुसार दुवै पक्षबीच दैनिक सम्पर्क भइरहेको र गठबन्धन निर्माणमा प्रगति भएको छ।

    तर यूटीजेका अध्यक्ष याकोभ आशेरले सहमतिका मस्यौदा आदानप्रदान भएको र वार्तामा उल्लेख्य प्रगति भएको भन्ने समाचार अस्वीकार गरेका छन्।

    यूटीजेसँगको सम्भावित सहकार्यलाई लिएर अर्को अति धार्मिक दल शास भने सशंकित छ। शासका नेता आर्येह डेरीले अति धार्मिक समुदायका पुरुषलाई अनिवार्य सैनिक सेवामा सहभागी गराउने कानुनबारे सुनिश्चितता नभई आइजेनकोट नेतृत्वको सरकारलाई सहयोग गर्नु जोखिमपूर्ण हुने बताएका छन्।

    इसराइलको संसद्को कानुनी सल्लाहकारले सरकार गठन हुनुअघि सैनिक सेवासम्बन्धी कानुन पारित हुन नसक्ने बताएको उल्लेख गर्दै डेरीले त्यसबारे सुनिश्चितता खोजेका छन्। तर यूटीजेका अध्यक्ष आशेरले आइजेनकोटसँग औपचारिक वार्ता सुरु नभएको बताएका छन्।

    यसअघि लिकुडका प्रतिनिधिले संसद्को सभामुखमा याशारका सांसद माटान काहानालाई अघि सार्ने निर्णय रोक्न आग्रह गरेका थिए। तर याशारले अस्वीकार गर्दै वर्तमान सभामुख आमिर ओहानालाई हटाउने मतदान मंगलबार हुने जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ