• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अस्ताउदो सूर्य लाई संध्या अर्घ्य दिइ छठ पर्व मनाइदै

    617
    SHARES



    काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको आस्था, श्रद्धा र प्रकृतिपूजासँग जोडिएको महान् पर्व छठ आज सूर्यदेवको विधिपूर्वक पूजाआराधना गरी देशभर उल्लासपूर्वक मनाइँदै छ । विशेषगरी नेपाल र भारतका हिन्दु समुदायले तिहार लगत्तै मनाउने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ । अहिंसा, परोपकार र सामाजिक सद्भावको सन्देश बोकेको छठ मुख्यतया तराई–मधेसको प्रमुख चाड भए पनि पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली भेगमा समेत उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउने क्रम बढेको छ ।

    चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने यस पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ, जसमा व्रतालुहरूले बिहानै स्नान गरी घरआँगन सफा गर्छन् र चोखो भात, दाल तथा लौकाको तरकारीलगायत सात्त्विक भोजन ग्रहण गर्छन् । पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ, जहाँ व्रतालुहरू दिनभर निराहार उपवास बसी साँझ पवित्र जलाशयमा स्नान गरेपछि दूध, चामल र सख्खरबाट बनेको खीर (रसियाखीर) प्रसादका रूपमा खाएर मुख्य निर्जला व्रत सुरु गर्छन् ।

    पर्वको तेस्रो तथा मुख्य दिन षष्ठीमा ‘सन्ध्या अर्घ्य’ दिइन्छ, जसमा निराहार रहेका व्रतालुहरू साँझपख नदी, पोखरी वा जलाशयमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् र रातभर घाटमै जाग्राम बसी भजनकीर्तन गर्छन् । पर्वको चौथो तथा अन्तिम दिन सप्तमीको बिहान ‘उषा अर्घ्य’ अन्तर्गत उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर पूजा विसर्जन गरिन्छ । त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी आफन्त तथा श्रद्धालुहरूलाई बाँडेर चार दिने कठोर व्रत समापन गर्छन् ।

    छठ पूजामा उखु, केराको घरी, बेसार, अदुवा, नरिवल, जौका साथै विशेष परिकारका रूपमा ठेकुवा र भुसुवा चढाउने गरिन्छ । शुद्ध मनले सूर्य भगवान् र षष्ठी माताको आराधना गर्नाले पारिवारिक मनोकामना पूरा हुने, सन्तान सुख मिल्ने तथा घरमा सुख–शान्ति र समृद्धि छाउने जनविश्वास छ । विशेषगरी सन्तान, पति र सम्पूर्ण परिवारको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै यो व्रत बसिन्छ ।
    छठ पर्वको सुरुआतका विषयमा विभिन्न धार्मिक तथा पौराणिक मान्यताहरू जोडिएका छन् । लङ्का विजयपछि अयोध्यामा रामराज्य स्थापना गर्ने क्रममा भगवान् राम र सीताले कार्तिक शुक्ल षष्ठीमा सूर्यको उपासना गरी सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएको कथन छ ।

    त्यस्तै, सूर्य पुराणअनुसार अत्रि ऋषिकी पत्नी सती अनुसूयाले दाम्पत्य निष्ठा र सुख–शान्तिका लागि यो व्रत सुरु गरेकी थिइन् । महाभारतकालमा वनवासका क्रममा द्रौपदीले अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको र सूर्यपुत्र कर्णले पानीमा डुबेर सूर्य उपासना गरी अद्भुत शक्ति प्राप्त गरेको शास्त्रीय मान्यता छ । अस्ताउँदो र उदाउँदो दुवै स्वरूपका सूर्यलाई समान आस्थाका साथ पुजिने यो एक मात्र अद्वितीय पर्व हो ।

    धार्मिक आस्थासँगै छठ पर्व प्रकृतिको ऊर्जा र मानव स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको छ । सूर्यको किरणबिना पृथ्वीमा प्राणी तथा वनस्पतिको अस्तित्व सम्भव नभएकाले सूर्यलाई जीवन र शक्तिको मुख्य स्रोत मानिन्छ । बिहान तामाको भाँडाबाट सूर्यलाई जल चढाउँदा र सूर्यको किरण शरीरमा पर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथा विभिन्न स्वास्थ्य लाभ मिल्ने वैज्ञानिक आधारसमेत रहेको छ । यही सम्पूर्ण ऊर्जा, जीवन र शक्तिका कारक सूर्यदेवलाई स्वास्थ्य र कल्याणको स्रोत मानेर छठ पर्वमा विशेष उपासना गर्ने गरिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ