काठमाडौं । म्यानमाको मन्डाले क्षेत्रमा एक्सप्रेस बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
शनिबार साँझ भएको दुर्घटनामा ब्रेक फेल भएको बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएर सडकबाट करिब ५० फिट तल खोल्सामा खसेको थियो।
म्यानमाको अग्नि सेवा विभागका अनुसार स्थानीय समयअनुसार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडकखण्डको ओरालोमा दुर्घटना भएको हो।
पिन ओ ल्विनबाट मन्डालेतर्फ जाँदै गरेको बसको ब्रेकमा समस्या आएपछि विपरीत दिशाबाट आएको भ्यानसँग ठोक्किएको बताइएको छ।
ठक्करपछि बस सडक छेउको गहिरो खोल्सामा खसेर पल्टिएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय अग्नि नियन्त्रक तथा उद्धारकर्मीलाई घटनास्थलमा खटाइएको विभागले जनाएको छ।
दुर्घटनामा भ्यान चालकको मृत्यु भएको छ। बसमा सवार २९ जनामध्ये पाँच जनाले पनि ज्यान गुमाएका छन्। दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।
दुर्घटनामा परेका व्यक्तिको उद्धार तथा बेपत्ता भएकाहरूको खोजीका लागि टोली परिचालन गरिएको अग्नि सेवा विभागले जनाएको छ।
प्रतिक्रिया