गोरखा । बर्चुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शहीद लखन गाउँपालिका–९, नाम्जुङ, गोरखाको अध्यक्षमा प्रकाश ढकाल पुनः निर्वाचित भएका छन्। संस्थाको ५औँ वार्षिक साधारणसभाले ढकाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
२०८३ असोज १७ गते सम्पन्न साधारणसभाबाट ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो। साधारणसभाले संस्थाको आगामी कार्ययोजना, सदस्यको हित, संस्थागत सुशासन र दीर्घकालीन विकासलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
साधारणसभाबाट निर्वाचित सञ्चालक समितिमा अध्यक्षमा प्रकाश ढकाल, उपाध्यक्षमा डा. अमृत भण्डारी, सचिवमा सुजन लामिछाने र कोषाध्यक्षमा सिए अनिल खड्का चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा शारदा खड्का, सम्झना ढकाल र प्रेम कुमार अर्याल निर्वाचित भएका छन्। साधारणसभाले लेखा सुपरिवेक्षण समितिसमेत सर्वसम्मत चयन गरेको छ। समितिको संयोजकमा बिनोद थापा तथा सदस्यमा सुजन लामिछाने र दिपक लामिछाने चयन भएका छन्।
नवनिर्वाचित समितिले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता र सदस्यकेन्द्रित सेवालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी पाएका ढकालले साधारणसभाबाट प्राप्त विश्वासलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताए। उनले संस्थाको दीर्घकालीन विकाससँगै शेयर सदस्यहरूको हित र संस्थागत क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
नयाँ सञ्चालक समितिले विगतका अनुभव र उपलब्धिलाई आधार बनाउँदै बर्चुली बहुउद्देश्यीय सहकारीलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री, विश्वासिलो र उदाहरणीय संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।
सर्वसम्मत रूपमा नेतृत्व चयन भएको अवसरमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिले सम्पूर्ण शेयर सदस्य, साधारणसभा प्रतिनिधि, कर्मचारी, सल्लाहकार र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।
प्रतिक्रिया