बुटवल । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
अविरल वर्षापछि आज बिहान खसेको पहिरोले स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पहिरोमा परी घरधनी लिलबहादुरसहित उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती सम्पर्कविहीन भएका छन्।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीले स्थानीयको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य अघि बढाएको जनाएको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेकाले उद्धारमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया