पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउदार गिवाङमा पहिरोले एउटा घर पुरिएको छ। लगातार भइरहेको वर्षापछि आएको पहिरोले घर पुरिएको हो।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार पहिरोमा परेको घरमा दुई जना रहेको र उनीहरू हालसम्म सम्पर्कमा आएका छैनन्। घटनामा मानवीय क्षति भए–नभएको यकिन हुन सकेको छैन।
म्याग्दीमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलनमा समेत कठिनाइ भइरहेको स्थानीय पत्रकारहरूले बताएका छन्।
स्थानीयका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्, इन्टरनेटलगायत सञ्चार सेवा पनि प्रभावित भएका छन्।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ कै गोलपानीमा पहिरोले दुई वटा घरमा क्षति पुर्याएको छ। उक्त घटनामा भने मानवीय क्षति नभएको बताइएको छ।
प्रशासनले वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै क्षतिको थप विवरण संकलन तथा आवश्यक उद्धार कार्यका लागि समन्वय गरिरहेको जनाएको छ।
प्रतिक्रिया