टोकियो । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। जापानविरुद्धको पछिल्लो खेल वर्षाका कारण नतिजाविहीन बनेपछि १ अंक जोड्दै नेपाल ३ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेर क्वाटर्फाइनलमा पुगेको हो।
निशिनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको मजबुत योगफल तयार पारेको थियो। दोस्रो पारी सम्भव नभएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्।
नेपालले २ खेलबाट १ जित र १ नतिजाविहीन खेलसहित ३ अंक जोड्यो। समान २ खेलबाट २ अंक जोडेको अफगानिस्तान दोस्रो र १ अंक बनाएको जापान तेस्रो स्थानमा रह्यो।
जापानविरुद्धको खेलमा नेपालका लागि मध्यक्रमका ब्याटर सन्दीप जोरा र लोकेश बमले विष्फोटक अर्धशतकीय पारी खेलेका थिए। सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्कासहित अविजित ५७ रन बनाए भने लोकेशले २२ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५२ रनको योगदान दिएका थिए।
ओपनर आसिफ शेखले २१ रन जोड्दा कुशल भुर्तेल, कुशल मल्ल र गुल्सन झा समान २/२ रनमा आउट भए। बलिङतर्फ जापानका रेओ साकुरामो-थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा-नाइर्न र डेक्लान सुजुकीले १/१ विकेट लिएका थिए।
प्रतिक्रिया