काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जवर्जस्त रूपमा आफ्नो कुरा राख्ने बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको समस्याको बारेमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउने तयारी भइरहेको बताउँदै आफू कतारको दोहास्थित एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा पनि यो विषय उठाउने जानकारी गराए ।
त्यहाँबाट आफू सिधै अमेरिका जाने त्यहाँ विश्व बैंक तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूसँग छलफल गरेर जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्याको बारेमा बारे जानकारी गराउने बताउँदै उनले अक्टोबरको मध्यमा बैंककमा आयोजना हुने ब्रिटन वुड्स इन्स्टिच्युसन्सको वार्षिक बैठकमा समेत सहभागी हुने र त्यहाँ पनि आफूले यो विषयमा कुरा राख्ने जानकारी गराए ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जान लागेका हुन्, महासभामा उनले नेपालमा जलवायुका कारण उत्पन्न समस्याको बारेमा कुरा राख्ने भन्दै अर्थमन्त्री वाग्लेले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका नेपालजस्ता गरिब र संवेदनशील देशहरूले भोग्नुपरेको अन्यायबारे पनि युएनमा कुरा राखिने बताए ।
नेपालमा आएको विनाशकारी बाढी जलवायुजन्य र जलवायु प्रेरित प्रकोप रहेको उल्लेख गर्दै उनले यस्ता विनाशकारी घटनाहरू र यसको असर नेपालमा मात्र नभई तल्लो तटीय क्षेत्र भारतसम्मै पर्ने गरेको धारणा राखेका थिए ।
विश्वव्यापी तापमान वृद्धिका कारण यस्ता घटनाहरू हुने गरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यसको कारक र परिणाम दुवै क्षेत्रीय तथा विश्वव्यापी स्तरको भएकाले यसलाई त्यही रूपमा समाधान गर्नुपर्ने बताए ।
परिवर्तनमा नेपालको योगदान नरहे पनि यसको प्रत्यक्ष मार भोगिरहेको बताउँदै उनले नेपालले यसै विषयलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत सहयोगका लागि पहल गर्ने बताए ।
प्रतिक्रिया