• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्राथमिकताका जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा महासभामा उठाउँदै नेपाल

    227
    SHARES



    काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपालले महासभामा उठाउने विषयबारे जानकारी दिँदै जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइने बताएका हुन् ।

    उनका अनुसार संयुक्त राष्ट्रसङ्घका ६ प्रमुख अङ्गमध्ये एक रहेको महासभामा १९३ वटै सदस्य राष्ट्रले ‘एक राष्ट्र, एक मत’ को आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन् । महासभाले विश्वका महत्त्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्द्धन गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको उनले बताए ।

    सचिव राईले महासभाले साना तथा विकासोन्मुख राष्ट्रलाई आफ्ना राष्ट्रिय हित र एजेन्डा विश्व मञ्चमा प्रस्तुत गर्ने अवसर दिने उल्लेख गर्दै नेपालजस्ता भूपरिवेष्ठित तथा अति कम विकसित मुलुकका लागि यसको महत्त्व अझ बढी रहेको बताए । राईका अनुसार संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

    महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने जनरल डिबेटमा प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए। भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।

    सचिव राईका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्युयोर्कतर्फ प्रस्थान गरी सेप्टेम्बर २६ मा स्वदेश फर्किने कार्यक्रम रहेको राईले समितिलाई जानकारी गराए ।

    नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ लगायतका संयन्त्रबाट तत्काल र उचित वित्तीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने राईले बताए । जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि नेपाललाई जलवायु उत्थानशील पूर्वाधार, जलवायु स्मार्ट कृषि, प्रविधि हस्तान्तरण र क्षमता विकासमा आवश्यक सहयोग उपलब्ध गराउन विकसित मुलुकलाई अपिल गरिने उनले जानकारी दिए । नेपालले जलवायु न्यायको विषयलाई वैज्ञानिक प्रमाण र नेपालको वास्तविक जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी गरेको उनको भनाइ छ ।

    उनले भने, ‘यस महासभाका क्रममा नेपालले सगरमाथा टु द सीः अ कल टु एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्युचर विषयक उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्दैछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण, विशेष गरी हिमाली क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।’

    नेपालले विश्व वातावरण संरक्षणमा आफ्नो योगदानसमेत महासभामा प्रस्तुत गर्ने भएको छ । सचिव राईका अनुसार नेपालले प्रकृतिमैत्री जीवनशैली, ४० प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र तथा विस्तृत नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछ ।

    उनले जलवायु सङ्कटको असर भोगिरहेको नेपालले वातावरण संरक्षणमा गरेको योगदानको उचित अन्तर्राष्ट्रिय मान्यता र सहयोगको विषय पनि उठाउने बताए । महासभाका क्रममा नेपालले ‘सगरमाथा टु द सी : अ कल टु एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्युचर’ विषयमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्ने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ