काठमाडौँ । रसुवाको रसुवागढी नाका अवरूद्ध भएपछि विकल्पको रूपमा तातोपानी र हिल्सा नाका प्रयोगमा आएको छ।
भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले रसुवागढीको नाकामा क्षति पुग्दा सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाकाको प्रयोग बढेको अध्यागमन विभागले जनाएको छ। रसुवागढी हुँदै चीनको तिब्बत क्षेत्र पुगेकाहरू पनि यही वैकल्पिक नाकाबाट नेपाल प्रवेश गरेका छन्।
विशेषगरी तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिए।
भदौ १० देखि भदौ २९ सम्ममा तातोपानी नाका हुँदै जम्मा ३,९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्। जसमध्ये १,७३३ जना महिला छन्। सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन्।
यसैगरी, सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका यात्रुमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको विभागले जनाएको छ।
सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। यी दुवै वैकल्पिक नाकाबाट आगमन/प्रस्थान गर्ने विदेशी यात्रुहरुमा सबैभन्दा बढी भारत, बेलायत र अमेरिकाका नागरिकहरू छन्।
प्रतिक्रिया