• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देवादिदेव महादेवको पूजा–आराधना गरी आज हरितालिका तीज मनाइँदै

    291
    SHARES



    काठमाडौँ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ।

    महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु हुँदैन।

    यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव–पार्वतीको पूजा र उपासना गर्नाले सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ।

    पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई उक्त समस्या सुनाएकी थिइन्।

    पार्वती ठुलो समस्यामा परेको थाहा पाएपछि सखीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएर राखे। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी साथीहरूद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले सोही समयदेखि हरितालिका तीजको व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। यस अवसरमा महिलाहरू भेला भई खुसीयालीका साथ नाचगान गर्ने गर्छन्। तीजका गीतमा भगवान्‌को भक्तिगाथाका साथै महिलाका आन्तरिक पीडा र मनोभावना अभिव्यक्त भएको पाइन्छ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी वा सखी भन्ने हुन्छ। सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीका रूपमा पाएकी हुनाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास छ।

    हरितालिका तीजको व्रत निराहार (केही पनि नखाई), जलाहार (जल पिएर) वा फलाहार (फलमूलादि खाएर) बस्न सकिन्छ। शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जसरी भए पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्छ भनिएको छ। त्यसैले आफ्नो स्वास्थ्यको अवस्थालाई ध्यानमा राखी उपर्युक्त तीन प्रकारमध्ये जुन व्रत बस्दा स्वास्थ्य बिग्रँदैन, त्यही विधि अपनाउनु उचित हुन्छ।

    स्वास्थ्यका कारण निराहार बस्न असमर्थ महिला वा पुरुषले जल, सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बा, दूधजस्ता हवनीय वस्तुका साथै गुरुको वचनद्वारा अनुमोदित कुराहरू सेवन गर्न सक्छन्। स्कन्द पुराणमा उल्लेख भएअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग हुँदैन। एकादशी र तीजको व्रतमा अन्न भोजन गर्नु हुँदैन तर फल, मूल, दूध र जल भने ग्रहण गर्न मिल्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ