काठमाडौं । भारतको उत्तर प्रदेशस्थित लखनउमा रहेको एक कोचिङ तथा एनिमेसन प्रशिक्षण केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्।
आगलागीपछि भवनको माथिल्लो तलामा रहेका विद्यार्थी तथा कर्मचारीबीच अफरातफरी मच्चिएको थियो। प्रारम्भिक चरणमा केही व्यक्ति शौचालयभित्र फसेको अपुष्ट सूचना सार्वजनिक भए पनि दमकल तथा उद्धारकर्मीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएका छन्।
हाल घटनास्थलमा पुनः आगो सल्किने जोखिम रोक्न ‘कुलिङ अपरेसन’ जारी रहेको अधिकारीहरूले जनाएका छन्। लखनउ प्रहरी तथा प्रशासनले राहत तथा उद्धार कार्य सम्पन्न भएको र अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठक घटनास्थलको अवस्थाबारे जानकारी लिन पुगेका थिए। उनले उद्धार तथा राहत कार्यको अनुगमन गर्दै मृतकको संख्या १२ पुगेको पुष्टि गरेका छन्। मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको बताइएको छ।
यस दुःखद घटनाप्रति भारतको प्रधानमन्त्री कार्यालयले पनि गहिरो दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत शोक सन्देश जारी गर्दै लखनउको कोचिङ सेन्टरमा आगलागी हुँदा धेरैको मृत्यु र अन्य केही घाइते भएको समाचार अत्यन्त पीडादायी भएको जनाएको छ। साथै, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने घोषणा गरिएको छ।
आगलागी के कारणले भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको भारतीय अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया