वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिङ्गपिङ्गसँग भएको दुईदिने शिखर सम्मेलनपछि शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले “म कसैलाई स्वतन्त्र भएको हेर्न चाहन्न” भन्दै ताइवानप्रति अमेरिकाको परम्परागत नीति दोहोर्याएका हुन्।
यसअघि ताइवानका राष्ट्रपति लाई चिङ्गतेले ताइवान आफूलाई पहिले नै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक स्वतन्त्रताको घोषणा आवश्यक नरहेको बताएका थिए। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको भए पनि चीनसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्दै आएको छ।
चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सक्ने संकेतसमेत दिँदै आएको छ। वासिङ्टनको स्थापित नीति भने ताइवानको औपचारिक स्वतन्त्रतालाई समर्थन नगर्ने रहेको छ। अमेरिकाले “एउटै चीन” नीतिलाई स्वीकार गर्दै चीनसँग सम्बन्ध कायम राखेको छ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले युद्धभन्दा शान्तिलाई प्राथमिकता दिएको बताए। उनले भने, “हामी युद्ध चाहँदैनौँ। यदि अहिलेको अवस्था जस्ताको तस्तै रह्यो भने चीनले पनि स्वीकार गर्नेछ।” उनले अमेरिकाले युद्ध लड्न हजारौँ माइल टाढा जानुपर्ने अवस्था आउन नदिन चाहेको समेत बताए।
वासिङ्टन फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र सी जिनपिङबीच ताइवानबारे विस्तृत छलफल भएको जानकारी दिए। उनले सी जिनपिङ ताइवानको विषयमा “अत्यन्त संवेदनशील” रहेको र स्वतन्त्रताको आन्दोलन देख्न नचाहेको बताए।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सीले ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील विषय भएको बताएका थिए। उनले यसलाई गलत ढंगले सम्हालिए दुई देशबीच द्वन्द्वको अवस्था आउन सक्ने चेतावनी दिएका थिए।
ताइवानलाई लिएर चीनसँग द्वन्द्व हुने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले “मलाई त्यस्तो लाग्दैन, हामी ठीक हुनेछौँ, सी युद्ध चाहँदैनन्” भन्ने प्रतिक्रिया दिएका थिए। हालका वर्षहरूमा चीनले ताइवान वरिपरि सैन्य गतिविधि बढाउँदै आएको छ। यसले क्षेत्रीय तनाव थप बढाएको छ भने अमेरिकाले कायम राख्दै आएको रणनीतिक सन्तुलनमाथि पनि दबाब सिर्जना गरेको छ।
गत वर्ष ट्रम्प प्रशासनले ताइवानलाई उन्नत रकेट लन्चर र विभिन्न क्षेप्यास्त्रसहित करिब ११ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेको थियो। उक्त निर्णयको चीनले कडा विरोध गरेको थियो। ट्रम्पले अब त्यस हतियार बिक्रीलाई अघि बढाउने वा नबढाउने विषयमा चाँडै निर्णय गर्ने बताएका छन्।
अमेरिका र ताइवानबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि दुवैबीच घनिष्ठ अनौपचारिक सम्बन्ध कायम छ। अमेरिकी राष्ट्रपतिहरूले सामान्यतः ताइवानका नेतासँग प्रत्यक्ष संवाद नगर्ने परम्परा रहँदै आएको छ, किनकि त्यसले बेइजिङसँगको सम्बन्धमा तनाव बढाउन सक्छ।
यसैबीच ताइवानका विदेशमन्त्री लाइ चियालुङ्गले अमेरिका–चीन शिखर सम्मेलनलाई नजिकबाट नियालिरहेको बताएका छन्। उनले ताइवानले क्षेत्रीय शान्ति र स्थायित्वका लागि निरन्तर भूमिका खेल्दै आएको दाबी गर्दै चीनमाथि आक्रामक सैन्य गतिविधिमार्फत तनाव बढाएको आरोप लगाए।
प्रतिक्रिया