• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देउवा पक्षको भेलालाई लक्ष्य गर्दै कांग्रेस प्रवक्ताले भने- समानान्तर गतिविधिले पार्टीलाई न्याय गर्दैन

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको धुम्बाराहीमा आज राखेको भेलालाई लक्ष्य गर्दै समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन्।

    आज नेता पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्षको भेला भएको छ। देउवा भने विदेशमा छन्। उक्त भेलामा नेता शेखर कोइराला पनि सहभागी छन्। त्यसतर्फ लक्ष्य गर्दै प्रवक्ता चालिसेले पार्टी अनुशासन सबैले पालना गर्नुपर्ने बताए।

    ‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिन्छ। यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ। तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

    साथै उनले १५ औं महाधिवेशन घोषणा भइसकेको पनि उल्लेख गरेका छन्। ‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ, नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौं,’ उनले भनेका छन्।

    देउवा पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक भन्दै भेला राखेका हुन्। चुनावी समीक्षा, पार्टीभित्रको आन्तरिक विषय र भावी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन्।

    गत पुसमा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो। गगन थापा सभापति बनेका थिए। त्यसविरूद्ध देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ। अहिले देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ