• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उज्यालो नेपाल पार्टीले गठन गर्‍यो १४ सदस्यीय सचिवालय

    318
    SHARES



    काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो ।

    पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ नेता, एकजना महिलासहित दुई जना उपाध्यक्ष, महासचिव, एकजना महिलासहित दुईजना उपमहासचिव, तीनजना महिलासहित सातजना सचिव र एकजना कोषाध्यक्ष हुन्छन् ।

    शुक्रबारको बैठकले भने ९ सदस्यको मात्रै टुङ्गो लगाएको छ । जस अनुसार अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती, महासचिवमा धर्म बहादुर चौधरी रहेका छन् । त्यस्तै, सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई चयन गरिएको छ ।

    यीबाहेक पार्टीको प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापालाई चयन गर्दै सचिवालयमा ल्याइएको छ । अब एकजना उपाध्यक्ष, दुईजना उपमहासचिव र तीनजना सचिव पद रिक्त छ । मुख्यसचिव र प्रवक्ता भने विधानमा उल्लेख छैन ।

    सचिवालयमा छुटे उज्यालो अभियानका सारथिहरू

    पार्टीले सचिवालय गठन गरे पनि अध्यक्ष घिसिङको उज्यालो नेपाल अभियानमा साथ दिएका दर्जनौँ भने सचिवालय गठनको क्रममा छुटेका छन् ।

    अभियानबाट उज्यालो नेपाल पार्टी स्थापना गर्दा केन्द्रीय सदस्यमा परेका लाक्पा फुटी शेर्पा, विजय कँडेल, तुलसा वाइबा, रोशनी लामा, ज्ञानेन्द्र कुमार तामाङ, सीतादेवी पाण्डे, सोमप्रसाद चौधरी, धनबहादुर मिक्चन, डम्बर लावती तथा प्रदीप कुमार चौधरी सचिवालयमा परेनन् ।

    त्यस्तै, महेन्द्र कुमार थापा, अग्नि माया मेचे, मनोज लुहार, देवकी पौडेल, बालिका चौधरी, भीम बहादुर कुमाल, राजाराम तन्डुकार लगायत पनि यो सूचीमा अटाउन सकेनन् । केही भने अहिले पार्टीमा कायम छैनन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयासका क्रममा उनीहरू उतै बसेको छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ