रुकुम पूर्व । रुकुम पूर्वको चुनवाङस्थित भेडीडाँडामा शनिबार पुग्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक देखिए । ऐतिहासिक चुनवाङ गाउँमा उनको उपस्थितिले स्थानीय वातावरण गम्भीर र भावनात्मक बन्यो ।
चुनवाङलाई नेपाली राजनीतिमा सशस्त्र संघर्षबाट शान्तिपूर्ण प्रक्रियातर्फ मोडिएको महत्वपूर्ण मोडका रूपमा लिइन्छ । झण्डै तीन दशकअघि यहीँ बसेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठकले शान्तिपूर्ण राजनीतिक यात्रातर्फ जाने निर्णायक दिशा तय गरेको थियो ।
२०६२ साल असोजमा ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा बनाऔँ’ भन्ने नारासहित सम्पन्न चुनवाङ बैठकले माओवादीलाई सात राजनीतिक दलसँग सहकार्यतर्फ अग्रसर गराएको मानिन्छ । माओवादी आन्दोलनसँग जोडिएका नेताहरूका अनुसार उक्त बैठक पार्टीभित्रको छलफल मात्र नभई राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको सुरुआतको आधार थियो ।
त्यही सशस्त्र संघर्षका शीर्ष कमाण्डर रहेका प्रचण्ड यसपटक चुनवाङ आइपुग्दा विगतका सम्झनामा फर्किए । संघर्षकालमा आफू र पत्नी सीता दाहाल बस्दै आएको कोठा तथा छोरा प्रकाश दाहाल र सहयोद्धाहरू बसेका घरहरूको अवलोकन गरे ।
तर अहिले न जीवनसाथी सीता दाहाल उनीसँग छन्, न छोरा प्रकाश दाहाल नै । ती स्मृतिले उनी अत्यन्त भावुक बने । अवलोकनका क्रममा केहीबेर आँसु झार्दै गीत गुनगुनाएको दृश्यले त्यहाँ उपस्थित कार्यकर्ता र स्थानीयसमेत स्तब्ध बने ।
प्रचण्डसंगै उनको साथमा रहेका नेता कार्यकर्ता र स्थानीयले ‘कसले भन्छ क्रान्ती यहाँ सफल हुँदैन, सहिदहरु बोलिरहेको, नाँचिरहेको देखे मैले रातो अक्षरमा …!’ लगाएताका जनवादी गीतहरु गुनगुनाएका थिए ।
‘नेपाली क्रान्तिमा उहाँहरू(पत्नी सीता र छोरा प्रकाश)को योगदान र यो भूमि(चुनवाङ)को महत्त्व मेरो जीवनमा सधैँ अमेट छ,कहिल्यै मेटिँदैन, उनले भावुक हुँदै भने ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटकै सिलसिलामा चुनवाङ पुगेका हुन् । भेटघाटका क्रममा उनले रुकुमलाई ‘क्रान्तिको जननी र शान्तिको आधारभूमि’ को संज्ञा दिए ।
चुनवाङ बैठककै कारण जनयुद्ध लोकतान्त्रिक गणतन्त्र हुँदै शान्ति प्रक्रियामा रूपान्तरण भएको उल्लेख गर्दै उनले रुकुम पूर्वले नेपालको राजनीतिक परिवर्तनमा गौरवपूर्ण इतिहास रचेको बताए ।
तीन दिनदेखि रुकुम पूर्वमा रहेका प्रचण्डले शनिबारै चुनवाङको गैरीगाउँ र पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा क्षेत्रसमेत पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया