• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ठूला सपना बेच्ने राजनीति होइन, साना आवश्यकता र पेट भर्ने एजेन्डा बोकेका उम्मेदवार – भुपेन चन्द

    1.7K
    SHARES



    काठमाडौँ । सत्ताका केन्द्रमा बसेर गरिने विकासका भाषण र दुर्गम भेगका नागरिकले भोगिरहेको यथार्थबीचको दूरी नेपालका लागि नयाँ विषय होइन। तर, जब त्यो दूरीलाई स्वीकार गर्दै ‘ठूला सपना होइन, पेट भर्ने राजनीति’ को कुरा उठ्छ, त्यहाँ एउटा फरक राजनीतिक बहस सुरु हुन्छ। बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भूपेन्द्र बहादुर चन्दले यही बहसलाई केन्द्रमा राख्दै आफूलाई परम्परागत चुनावी भीडबाट अलग्गै प्रस्तुत गरेका छन्।

    संचारकेन्द्रसंग कुरा गर्दै उनले विचारको चुनावी नाराभन्दा पनि सामाजिक यथार्थतालाई बढी प्राथमिकतामा राखेर राजनीतिमा आएको बताए । राजसंस्था, हिन्दु राष्ट्रजस्ता वैचारिक मुद्दा बोकेको राप्रपाको उम्मेदवार भए पनि चन्दको मुख्य जोड बैतडीका आधारभूत समस्या—खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षा—मै केन्द्रित देखिन्छ।

    राजनीतिक विरासतको भार, नाराभन्दा आवश्यकता

    भूपेन्द्र बहादुर चन्दको परिचय सधैँ एक नामसँग जोडिन्छ—पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द। चार पटक प्रधानमन्त्री बनेका लोकेन्द्र बहादुर चन्दको परिवारबाट राजनीतिमा आउनु आफैंमा सुविधा भए पनि त्योभन्दा ठुलो चुनौती समेत हो। चन्द स्वयं यो ‘विरासत’ शब्दसँग असहज देखिन्छन्। उनका अनुसार, इतिहासले अवसर दिन सक्छ, तर सफलताको ग्यारेन्टी गर्दैन। उनी भन्छन् ‘मलाई पिताजीको नामले होइन, मेरो कामले मूल्यांकन गरियोस् !’

    विदेशबाट फर्किएको राजनीतिक चेत

    पाइलट, अभिनेता, आईटी र अमेरिकाको बैंकिङ क्षेत्रमा काम गरिसकेका चन्दको जीवनकथा सामान्य राजनीतिज्ञभन्दा फरक छ। आर्थिक रूपमा ‘सेट’ भइसकेपछि मात्र राजनीतिमा आउनुपर्छ भन्ने उनको धारणा अहिलेको सत्तामुखी राजनीतिमाथिको कडा टिप्पणी हो।
    उनको तर्क छ—’राजनीति सेवाको माध्यम हुनुपर्छ, जीविकोपार्जनको साधन होइन।’

    अमेरिकामा बसेर नेपाललाई गाली गर्न सजिलो भए पनि देशमै फर्केर लड्न कठिन छ भन्ने आत्मबोधले आफूलाई नेपाल फर्काएको उनी बताउँछन्। ‘जनताले दिएको अवसरको ऋण तिर्नु पर्छ’ भन्ने उनको भनाइ भावनात्मक मात्र होइन, राजनीतिक रूपमा पनि अर्थपूर्ण देखिन्छ।

    बैतडी : राजधानीभन्दा ५० वर्ष पछाडि

    चन्दले बैतडीको अवस्थालाई राजधानीभन्दा करिब ५० वर्ष पछाडि भनेका छन्। यो अभिव्यक्ति अतिशयोक्ति जस्तो लागे पनि उनका उदाहरणहरूले अवस्था गम्भीर देखाउँछ।

    घरघरमा खानेपानी नपुग्नु, सरकारी अस्पतालमै कुरुवाका लागि पानी नहुनु, एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता ! यी सबै कुरा बैतडीका नागरिकका लागि गणतन्त्र, संविधान र ‘डिप स्टेट’ जस्ता बहसभन्दा धेरै माथि छन्।

    यही यथार्थलाई औँल्याउँदै चन्द भन्छन्—’जबसम्म पेट भरिँदैन, तबसम्म क्रिकेट स्टेडियम र मनोरञ्जनका सपना अर्थहीन हुन्छन्।’ चुनावका बेला ब्याट–बल बाँडेर भोट लिने संस्कृतिमाथि उनको आलोचना यही बिन्दुमा केन्द्रित छ।

    भूपेन्द्र चन्दको राजनीतिक प्रस्ताव ठूला पूर्वाधारभन्दा साना तर व्यावहारिक योजनामा केन्द्रित छ। गलैँचा उद्योग, जडीबुटी प्रशोधन, साना स्केलका उद्योग, स्थानीय महिलालाई रोजगारीजस्ता एजेण्डा उनको प्राथमिकतामा छन्। उनका अनुसार, १५–२० जनालाई रोजगारी दिने सानो उद्योग नै परिवर्तनको सुरुवात हुन सक्छ।

    विशेषगरी महिलाको श्रम र पीडालाई उनले स्पष्ट शब्दमा चित्रण गर्छन्। बिहानदेखि रातिसम्म घर–गोठमा खटिने महिलालाई आठ घण्टे सम्मानजनक काम दिन सकिए मात्रै सामाजिक परिवर्तन सम्भव हुने उनको तर्क छ।

    राजनीति र पक्षपातको प्रश्न

    नेपालको स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त राजनीतिक पक्षपातबारे चन्द खुला बोल्छन्। १० मिटर पानीको पाइपसमेत पार्टीको झण्डा हेरेर वितरण हुने यथार्थताले उनलाई राजनीतिमा होमिन बाध्य पारेको छ । उनी भन्छन् – ‘राज्यबाट जनताले पाउनुपर्ने सेवा सुबिधा पाउन नागरिकता नै पर्याप्त हुनुपर्छ त्यतिका लागि पार्टी सदस्यता लिनुपर्ने नै लिनुपर्ने प्रवृति अन्त्य गरिनुपर्छ ।’

    हुन त अहिलेको समयमा यो दृष्टिकोण व्यवहारमा कति सम्भव हुन्छ भन्ने प्रश्न उठ्ला तर कम्तीमा, यो भनाइले अहिलेको दलीय सञ्जालमा आधारित सेवा वितरण प्रणालीमाथि बहस सुरु गरिदिन सक्छ।

    ठूला सपना कि साना कदम ?

    केबलकार, जलाशय, अन्तर्राष्ट्रिय पुलजस्ता चुनावी वाचा सुनाउँदा चन्द व्यङ्ग्यात्मक देखिन्छन्। उनका अनुसार यी कुरा सांसदको एकल पहलले सम्भव छैनन्। उनको राजनीति ‘बटम–अप’ हो । पहिला पानी, रोजगारी, स्वास्थ्य; अनि मात्र ठूला सपना। यो दृष्टिकोण मतदातालाई कति आकर्षक लाग्छ, त्यो चुनावी परिणामले देखाउनेछ। तर, कम्तीमा पनि यो स्पष्ट छ की चन्दको भाषा लोकप्रियताभन्दा यथार्थतर्फ उन्मुख छ।

    भूपेन्द्र बहादुर चन्द बैतडीको चुनावी मैदानमा नयाँ अनुहार मात्र होइनन्, फरक अनि आधुनिक सोच र काम गर्ने हटहुटि बोकेका युवा उम्मेदवार हुन्। राजसंस्था र हिन्दु राष्ट्रजस्ता वैचारिक मुद्दा बोकेको पार्टीका प्रतिनिधि भए पनि उनको मुख्य फोकस जीवनयापनका आधारभूत प्रश्नमा केन्द्रित देखिन्छ। राजनीति सेवाका लागि कि कमाइका लागि ? विकास नारामा कि आवश्यकतामा ? यी प्रश्नहरू बैतडी मात्र होइन, समग्र नेपाली राजनीतिका लागि सान्दर्भिक छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ