काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ।
पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार यथावत् रहेका छन्।
प्रवक्ता चालिसेले पार्टी सम्पूर्ण रूपमा निर्वाचन प्रक्रियामै केन्द्रित रहेको बताए। संसद पुनर्स्थापना लगायतका विषयमा बाहिर आएका चर्चाबारे कांग्रेसको कुनै धारणा नरहेको उनको भनाइ थियो। यस्ता विषयहरू निर्वाचनबाट जनताको ध्यान मोड्ने उद्देश्यले अघि सारिएको उनको आरोप छ।
उनले चुनावी अवधिभर कांग्रेस कुनै पनि किसिमको गठबन्धनमा नजाने र आफ्नै संगठनात्मक शक्तिमा विश्वास गरेर चुनाव लड्ने दोहोर्याए। कांग्रेस अहिले सक्रिय रूपमा प्रचार–प्रसारमा जुटिरहेको र चुनावी प्रतिस्पर्धामा आफूहरू अग्रसर रहेको उनले दाबी गरे।
प्रवक्ता चालिसेले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउने अधिकार नागरिक र राजनीतिक दल दुवैको भएको उल्लेख गर्दै त्यसको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे।
मतदातालाई सम्बोधन गर्दै उनले विगतको मूल्याङ्कन र भविष्य निर्माण गर्न सक्ने दल तथा उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरे।
प्रतिक्रिया