दमास्कस । सिरियाको एलेप्पो सहरबाट कुर्दिश नेतृत्वको सशस्त्र समूह सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का सबै लडाकु बाहिरिएका छन्।
आइतबार बिहान सिरियाली रक्षा मन्त्रालयले युद्धविरामको घोषणा गर्दै सशस्त्र लडाकुहरूलाई ६ घण्टाभित्र सहर छाड्न निर्देशन दिएपछि एसडीएफ लडाकुहरू एकपछि अर्को गर्दै बाहिरिन थालेका हुन्।
एसडीएफका कमाण्डर मजलुम अब्दीले अन्तर्राष्ट्रिय मध्यस्थतामा सम्झौता भएको जानकारी दिँदै उक्त सहमतिले घाइते, सहिदका परिवार, अलपत्र सर्वसाधारण र लडाकुहरूको सुरक्षित बहिर्गमन सुनिश्चित गरेको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाँकी रहेका एसडीएफ लडाकुहरू बोकेका बसहरू कुर्दिश बहुल क्षेत्र शेख मकसुदबाट बाहिरिएका छन्। सिरिया सरकारमा कुर्द समुदायलाई समायोजन गर्ने विषयमा भइरहेको वार्ता गतिहीन बनेपछि एलेप्पोमा गत हप्ताको सुरुमा पुनः लडाइँ चर्किएको थियो।
पछिल्लो हिंसामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दशौँ हजार सर्वसाधारण शेख मकसुद र अशिरफीह क्षेत्र छाडेर विस्थापित हुन बाध्य भएका छन्।
प्रतिक्रिया