• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

    315
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

    ‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन; यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो’, कार्कीले भनिन्, ‘जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्; विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ ।’

    उनले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गर्दै पारदर्शिता र जबाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन नसक्ने बताइन् ।

    फरक प्रसङ्गमा प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको पनि स्मरण गराइन् । ‘नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो। २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ’, प्रधानमन्त्रीको भनाइ छ । ‘समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न नेपाल सरकार अपिल गर्दछ’, प्रधानमन्त्रीको अपिल छ ।

    नेपालको शान्ति प्रक्रियाले विश्वलाई प्रेरणा दिएको भन्दै उनले सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्गिन ढिलो भइरहेको भन्ने कुरा सरकारको जानकारीमा रहेको बताइन् । ‘पीडितलाई न्यायको अनुभूति नदिलाएसम्म सङ्क्रमणकालीन न्याय पूर्ण हुँदैन’, उनले भनिन्, ‘हालै परिमार्जित कानुन र सहमतिहरूको आधारमा यस प्रक्रियालाई पीडित मैत्री र विश्वसनीय निष्कर्षमा पुर्‍याउन सम्बन्धित संयन्त्रहरु सफल हुनेछन् भन्ने विश्वास सरकारको रहेको छ ।’

    राष्ट्रिय मानव अधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको स्वायत्तता, स्वतन्त्रता र प्रभावकारितालाई सरकारले उच्च प्राथमिकताका साथ संरक्षण गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ । ‘आयोगका सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ। आयोगलाई ‘क’ श्रेणीमा कायम राख्न संस्थागत तथा भौतिक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनलाई अझ सुदृढ बनाइनेछ’, प्रधानमन्त्रीको भनाइ छ ।

    उनले मानव अधिकारको संरक्षणमा जलवायु परिवर्तन आजको अर्को चुनौतीका रूपमा देखापरेको पनि बताइन् । ‘नेपाल न्यूनतम कार्बन उत्सर्जन गर्ने राष्ट्र हुँदाहुँदै पनि जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सबैभन्दा बढी हामीले नै भोग्नुपरेको छ’, उनले भनिन् ‘हिमाल पग्लिनु, अनिश्चित मौसम चक्र, बाढी–पहिरो, तापक्रम वृद्धिजस्ता जलवायुजन्य असरले हाम्रो जीवनका हरेक आयाम —खाद्य सुरक्षा, स्वास्थ्य, बसोबास, शिक्षा—आदिलाई प्रत्यक्ष प्रभावित बनाइरहेका छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ