काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन् ।
कैलालीको धनगढीमा शुक्रबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान च्यातिने, गणतन्त्र मासिने अवस्था नजिक पुगेर मुलुक फर्किएको बताएका हुन् ।
‘अहिले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख भइरहेको छ । यो अवस्था आउन सहज थिएन । २६ गतेको राति देश डुब्यो–डुब्यो भन्ने देखेर आयौं,’ उनले भने, ‘ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा आजै हुल्ने तयारी छ, दरबारको सरसफाइ गरिँदैछ, राष्ट्रपतिलाई राजीनामा गर्न दबाब दिइएको छ, राष्ट्रपतिले बरु म मर्छु राजीनामा दिन्न भनेका छन् भन्ने हल्ला एकातिर थिए । अर्कोतिर तुरुन्तै गणतन्त्र खारेज गर, संविधान खारेज गर भन्ने आवाज पनि सुनिएका थिए । त्यस्तो अवस्थाबाट मुलुक अहिले निर्वाचनउन्मुख भएको छ ।
त्यस रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलावट भएपछि आफू र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताए। ‘राष्ट्रविहीनजस्तै अवस्था आएको थियो। त्यस्तो संकट दोहोरिन नदिन वाम–देशभक्तहरूको ठूलो एकता आवश्यक छ,’ संयोजक प्रचण्डले भने ।
त्यस्तै उनले अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको समेत बताएका छन् । सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताए ।
‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै केन्द्र छैन । सबै एउटै पार्टीमा समाहित भएका छौँ । विगतमा कम्युनिस्ट पार्टी नेपाल भनेर भूगोलको नाम राखियो । किनकि पार्टी जनताको हुन्छ । त्यसै भएर हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ ।’
प्रतिक्रिया