काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेकपा एससहितको वाम एकता प्रक्रियामा आफू सहभागी नहुने स्पष्ट सन्देश दिएका छन्।
आईतबार प्रचण्ड निवास पुगेका शर्माले पार्टी एकता प्रक्रियाप्रति असहमति जनाउँदै भनेका थिए, “अहिले तपाईँहरूसँग आउँदिनँ, आफैँ संघर्ष गर्छु। प्रचण्डबिना मलाई के अप्ठ्यारो पर्दो रहेछ, म पनि हेर्छु। तपाईँले पनि म बिना कस्तो हुन्छ महसुस गर्नुस्। पछि आवश्यक पर्यो भने मिलौँला, अहिलेलाई बिदा भएँ।”
शर्मासँगको भेटवार्ताबारे स्रोतका अनुसार यसपटक उनी शान्त र सौहार्दपूर्ण व्यवहारमा थिए। यसअघिका भेटहरूमा तीव्र असन्तुष्टि प्रकट गर्ने शर्माले शनिबार बसेको सचिवालय बैठकमा पनि एकता प्रक्रिया तत्काल स्थगित नगरे आफू सहभागी नहुने स्पष्ट रूपमा बताएका थिए।
माओवादी आन्दोलनको पहिचान मेट्ने एकता अस्वीकार्य
शर्माको भनाइ अनुसार, हाल भइरहेको एकता प्रक्रिया माओवादी आन्दोलनको मूल वैचारिक पहिचान र जनपक्षीय दिशासँग मेल नखाने भएकाले आफू त्यसमा सहमत हुन नसक्ने बताएका छन्। उनले सचिवालयमा बुझाएको लिखित प्रस्तावमा भनिएको छ —“यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु।”
शर्माले प्रचण्डलाई भेट्दा पार्टी परित्याग होइन, बरु पार्टीलाई भित्रैबाट बलियो बनाउनुपर्ने धारणा दोहोर्याएका थिए। उनले भनेका थिए, “घरकालाई छाडेर जान भन्नुहुन्छ, अनि बाहिरबाट ल्याएकाबाट पार्टी बन्छ ?”
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले हालै नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलहरूसँग एकता सहमति पत्रमा हस्ताक्षर गरेको छ। तर, जनार्दन शर्मा, राम कार्की, र केही अन्य माओवादी नेताहरूले यो एकतालाई “सत्ताकेन्द्रित र वैचारिक अस्पष्ट” भन्दै विरोध जनाउँदै आएका छन्।
आजको परिस्थितिमा शर्माको यस्तो अडानले माओवादीभित्रको असन्तुष्टि झनै स्पष्ट बनेको र वाम एकता प्रक्रियामा नयाँ समीकरणको सम्भावना पनि देखिएको विश्लेषकहरूको बुझाइ छ।
प्रतिक्रिया