काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले पहिलो पटक राजनीतिक दल र जेन–जी पुस्तासँग संयुक्त वार्ता आयोजना गर्ने भएको छ। बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको उक्त त्रिपक्षीय बैठकका लागि सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि र जेन–जी समूहका अग्रणी सदस्यहरूलाई आमन्त्रण गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल र जेन–जी पुस्ताबीच पहिलो पटक संयुक्त छलफल हुन लागेको हो। उनले भने, “निर्वाचन सफल बनाउन सरकार निरन्तर छलफल र सहमतिको प्रक्रिया अघि बढाइरहेको छ। राजनीतिक दलहरू, जेन–जी समूह र सम्बद्ध पक्षहरू सबैसँग चरणबद्ध वार्ता भइरहेको छ।”
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच भएको सर्वदलीय छलफलमा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने सहमति बनेको थियो। त्यसपछि पनि विभिन्न औपचारिक संवादहरू हुँदै आएका छन्। प्रधानमन्त्री सुशीला कार्की को आह्वानमा भएको उक्त बैठकमा सबै दलहरूले निर्वाचनको वातावरण बनाउन सकारात्मक प्रतिबद्धता जनाएका थिए।
सरकारले लामो समयपछि सुरु गरेको यो औपचारिक राजनीतिक संवादले आगामी निर्वाचनका लागि साझा समझदारी र स्थिर राजनीतिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया