• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    जमैकामा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’को ताण्डव, राजधानीका बस्ती खाली

    1.5K
    SHARES



    काठमाडौं । अरेबियन सागरमा पर्ने टापु देश जमैकामा ‘मेलिसा’ नामको शक्तिशाली समुद्री आँधी आयो, जसले देशका धेरै तटीय क्षेत्र तहसनहस बनाइदिएको छ। यो आँधीलाई इतिहासकै सबैभन्दा विनाशकारी र पञ्चौं श्रेणीको आँधीका रूपमा वर्गीकृत गरिएको छ।

    अमेरिकी मौसमविद्हरूका अनुसार, ‘मेलिसा’ को हावाको गति प्रतिघण्टा २८२ किलोमिटर पुगेको छ, जुन मानिस र संरचनाका लागि “विनाशकारी र जीवनघातक” मानिन्छ। आँधी मंगलबार बिहानै क्यारिबियन टापुमा अवतरण भएको थियो। यसको प्रभावले जमैकामा तीन जनाको मृत्यु भइसकेको र हाइटी तथा डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

    विशेषज्ञहरूले चेतावनी दिएका छन् कि मेलिसाले आगामी केही दिनसम्म निरन्तर मुसलधारे वर्षा र बाढी–पहिरो ल्याउन सक्छ, जसले सडक, आवास र विद्युत् संरचनामा ठूलो क्षति पुर्‍याउने अनुमान गरिएको छ। अमेरिकास्थित राष्ट्रिय हुरिकेन केन्द्र (एनएचसी) का पछिल्ला विवरण अनुसार, मेलिसा यो वर्ष विश्वकै सबैभन्दा शक्तिशाली आँधी बनेको छ। सन् १८५१ देखि रेकर्ड सुरु भएयता जमैकामा यति शक्तिशाली आँधी कहिल्यै आएको थिएन, सीबीएस न्यूजले उल्लेख गरेको छ।

    एनएचसीका निर्देशक माइकल ब्रेननले स्थानीयबासीलाई घरभित्रै सुरक्षित बस्न र “अनावश्यक जोखिम नलिन” अनुरोध गरेका छन्। जमैकाली सरकारले राजधानी किङ्स्टनका जोखिमयुक्त बस्तीहरू खाली गराइसकेको छ। बीबीसीसँगको अन्तर्वार्तामा जमैकाली शिक्षामन्त्री डाना मोरिस डिक्सनले भनिन्,

    “हामीले यति भयावह आँधी कहिल्यै देखेका छैनौं। अक्टोबरभर वर्षा भएकाले जमिन भिजेको छ, र अब थप वर्षा हुँदा ठूलो बाढी तथा पहिरोको खतरा छ।” उनका अनुसार प्रभावित नागरिकलाई सुरक्षित राख्नका लागि ८८१ वटा आश्रयस्थल तयार गरिएको छ।

    ‘मेलिसा’ को तीव्र गतिका कारण हुरिकेन हन्टर विमानले तथ्याङ्क संकलन उडान रोक्नुपरेको छ। यसले उद्धार टोलीको समन्वयमा कठिनाइ थपेको छ। जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होल्नेसले सामाजिक सञ्जाल एक्स (Twitter) मार्फत जनतालाई सतर्क रहन आग्रह गर्दै भनेका छन्-“हामी यो आँधी सामना गर्नेछौं, एकअर्काको सहयोगमा पुनः उभिनेछौं र अझ बलियो जमैका निर्माण गर्नेछौं।”

    स्थानीय अधिकारीका अनुसार, प्रारम्भिक विवरणमा सयौं घर भत्किएका, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका र कृषि क्षेत्र पूर्णरूपमा नष्ट भएको जनाइएको छ। स्वास्थ्य तथा उद्धार टोलीलाई निरन्तर खटाइएको छ। अमेरिकी र क्यानडाली नौसेनाले पनि जमैकाली सरकारसँग समन्वय गर्दै आपतकालीन राहत सहयोग पठाउने तयारी गरिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ