काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते राजधानी काठमाडौंमा ठूलो प्रदर्शन र सभा गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनपछि देशभर तीव्र बनेको राजनीतिक परिस्थितिसँग सम्बन्धित धारणा आम जनतामाझ स्पष्ट पार्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको नेकपाले जानकारी दिएको छ।
नेकपाका महासचिव विप्लवले सोमबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेखेर “स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।” भनेर आह्वान गरेका थिए। २० गते हुने सभालाई महासचिव नेत्रविक्रम चन्द (विप्लव) स्वयंले सम्बोधन गर्नेछन्।
पार्टीले सभाअघि र्यालीसमेत निकाल्ने तयारी गरेको छ। “कम्तीमा १० देखि १५ हजार कार्यकर्ता सहभागी हुने गरी काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट जनसमुदाय उतार्ने तयारी भइरहेको छ,” नेकपाका नेता भरत बमले बताएका छन्।
यद्यपि, प्रदर्शन र सभा गर्ने स्थल भने अहिलेसम्म निश्चित भएको छैन। “हाम्रो पहिलो प्राथमिकता खुलामञ्च हो, तर त्यहाँ सभा हुन नदिइएको हुँदा भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क वा टुँडिखेलमध्ये प्रशासनले अनुमति दिने ठाउँमा सभा गर्नेछौं,” बमले बताए।
यसअघि दुर्गा प्रसाई नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गर्न खोज्दा गृह मन्त्रालयले अनुमति नदिएको थियो। तर विप्लव समूहको सभाबारे भने मन्त्रालयले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन।
प्रतिक्रिया