काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रम, विशेष गरी उद्घाटन र शिलान्यासका कार्यक्रममा प्रमुख अतिथिको रूपमा नबोलाउन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले जनताका काममा समय दिन चाहेको भन्दै औपचारिकता र भाषणका कार्यक्रमहरूबाट टाढा रहन चाहेको स्पष्ट पारेका हुन्।
उनले लेखेका छन्, “कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन, शिलान्यास कार्यक्रम वा प्रमुख अतिथि हुने कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रणा गर्दै नगर्नु होला।” पुनले आफ्नो सम्पूर्ण समय नीति निर्माण, अनुसन्धान प्रवर्द्धन र शैक्षिक सुधारमा केन्द्रित गर्न चाहेको बताउँदै अनावश्यक समारोह र भाषणमा समय खर्च गर्न नचाहेको उल्लेख गरेका छन्।
युनेस्कोको महासभा (उज्बेकिस्तान) र ब्रिटिश काउन्सिलको सम्मेलन (नाइजेरिया) जस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा समेत नगेको जानकारी दिँदै उनले अत्यावश्यक कामका लागि मात्र मन्त्रीहरू विदेश जाने स्पष्ट पारे। ‘विदेश घुम्न गएका हुन्’ भन्ने हल्ला चलाइएको भन्दै मन्त्री पुनले त्यस्तो भ्रम नफैलाउन आग्रह गरेका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन शिक्षामन्त्री बनेपछि फरक कार्यशैली र व्यावहारिक सोचका कारण जनस्तरमा निकै चर्चामा छन्। उनका निर्णय र भनाइहरू पछिल्लो समय निरन्तर सार्वजनिक बहसको केन्द्र बनेका छन्।
प्रतिक्रिया