• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डले गोरखा पुगेर भने- तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्छौं

    1.5K
    SHARES



    गोरखा । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्ने शक्तिहरूसँग तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्ने बताएका छन्।

    गोरखा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “हाम्रो केन्द्रीय समितिले पार्टीभित्र फैलिएको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकजुट भएर परास्त गरेको छ। अब विचार मिल्नेहरूसँग एकता गरिन्छ, तर तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।”

    उनले अहिले पनि देशमा प्रतिगामी खतरा कायम रहेको भन्दै कार्यकर्तालाई सचेत रहन आह्वान गरे। “तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्,” उनले भने, “त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”

    प्रचण्डले जेनजी आन्दोलनका माग र आकांक्षा आफ्नै पार्टीका विचारसँग मिल्ने दाबी पनि गरे। “जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले संविधानसभा निर्वाचनदेखि नै उठाउँदै आएका हौं,” उनले भने, “अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।”

    उनका अनुसार जेनजी आन्दोलन माओवादीको उत्तराधिकारी आन्दोलन हो र माओवादी नै यसको “असली अभिभावक” हो। “जेनजी युवाहरूसँग निरन्तर संवाद हुँदै जाँदा उहाँहरू पनि बुझ्दै जानु भएको छ— माओवादी नै उहाँहरूको अभिभावक पार्टी हो,” प्रचण्डको भनाइ थियो।

    प्रचण्डले अन्त्यमा माओवादी केन्द्रले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्धको लडाइँलाई निरन्तरता दिने प्रतिवद्धता दोहोर्‍याए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ