काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी आम निर्वाचन तयारीका विषयमा आज प्रमुख सात राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल आज अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आह्वान गरिएको हो।
छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका शीर्ष नेताहरूलाई सहभागी हुन निमन्त्रणा गरिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको छ।
पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको यो सरकारले निर्वाचन तयारीलाई तीव्रता दिइरहेको छ। हाल पुराना दलहरूप्रति कडा नीति अपनाएको र चुनावी वातावरण बिथोल्न खोजेको आरोपबीच प्रधानमन्त्री कार्कीले दलहरूसँग छलफल गर्न लागेकी हुन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलका नेताहरूसँग चुनावी वातावरणबारे छलफल गरेका थिए।
प्रतिक्रिया