काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, गोलीगठ्ठा र प्रहरीका पोसाक गृहमन्त्री ओमप्रकाश अर्यालसँग सम्बन्धित गिरोहकै नियन्त्रणमा रहेको आरोप लगाएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले भनेका छन्, “हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयमा भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार तथा व्यवस्थाविरोधी क्रियाकलापमा प्रयोग नगर्ने घोषणा गर्न दलहरूलाई माग गरेछन्।”
आचार्यका अनुसार लुटिएका हतियार, गोलीगठ्ठा र प्रहरीका पोसाक गृहमन्त्रीकै “सञ्चालनमा रहेको गिरोह” सँग रहेको प्रमाणित भइसकेको दाबी गर्दै उनले भनेका छन् — “भागेका कैदीबन्दीहरू गृहमन्त्रीकै सम्पर्कमा छन् भन्ने तथ्य लुकाउन दलहरूलाई स्वघोषणा गर्न बाध्य बनाइएको हो।”
उनले गृहमन्त्रीको अभिव्यक्तिलाई “खेदजनक र देशमा हिंसा भड्काउने संकेत”का रूपमा व्याख्या गरेका छन्। आचार्यले भने, “शान्ति–सुरक्षा कायम गर्न र फागुन २१ मा हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चाहन्छ भने सुशीला श्रीमानको सरकारले तत्काल गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ, अथवा निजको मगजको राम्रो उपचार गर्न आवश्यक छ।”
प्रतिक्रिया