काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्ला दुई दिनदेखिको अविरल वर्षा र बाढीका कारण देशभर भौतिक क्षति भए पनि ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले सरकारले अपनाएको सावधानी, समयमै गरिएको सूचना प्रवाह र राहत तयारीका कारण ठूलो जनधनको क्षति हुनबाट बच्न सफल भएको बताए।
उनका अनुसार सरकारले वर्षा सुरु हुनुअघि नै उच्च सतर्कता अपनाउँदै विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको थियो।
‘नदी नजिकका बस्तीहरू बगाएर अथवा सडक भत्किएर कुनै पनि मानवीय क्षति भएको छैन,’ मन्त्री घिसिङले भने, ‘यसपटक सरकारको तदारुकता र पूर्वतयारी प्रभावकारी रह्यो।’
तर, उनले इलाममा गएको पहिरोका कारण मानवीय क्षति भएको पुष्टि गरेका छन्। ‘इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो गएर जनहानि भएको छ,’ उनले भने।
मन्त्री घिसिङका अनुसार सडक र अन्य संरचनागत क्षति पुनःस्थापना गर्ने काम तीव्र गतिमा भइरहेको छ। उनले अवरुद्ध सडकहरू छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।
प्रतिक्रिया