काठमाडौँ । मुख्य राजनीतिक दल र सरोकारवाला पक्षहरूले समाधान खोजी गरिरहेकै अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउसो एक विज्ञप्ति जारी गरेका छन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते शीतलनिवासमा आगलागी हुँदा कार्यालयबाट बाहिरिएपछि पौडेलले सार्वजनिक रूपमा आफ्ना धारणा राखेका थिएनन्।
त्यसयता पहिलोपटक उनले विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएपछि राष्ट्रपति पौडेलबाट राष्ट्रको नाममा सम्बोधन आउने अपेक्षा धेरैले गरेका थिए। तर, लामो मौनतापछि बिहीबार उनले विज्ञप्ति मात्रै जारी गरेका हुन्।
विज्ञप्तिमा राष्ट्रपति पौडेलले देशको विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन र शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न अपिल गरेका छन्। उनले मुलुकलाई संवैधानिक दायराभित्र रहेर निकास दिन निरन्तर प्रयास भइरहेको जानकारी दिएका छन्।
पौडेलले लोकतन्त्रको संरक्षण र शान्ति कायम राख्नका लागि आफू विभिन्न पक्षसँग विचार–विमर्श र पहल गरिरहेको उल्लेख गर्दै आन्दोलनरत नागरिकका माग सम्बोधनतर्फ छिटो कदम चालिने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया