• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कर्णाली विकास बैंक घोटाला प्रकरण : सवा ३ अर्ब हिनामिना, १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष

    883
    SHARES



    काठमाडौँ । कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको अपचलन प्रकरणमा १११ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निकालेको छ।

    सीआईबीले सो निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन हालै मात्र सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार केही दिनअघि मात्रै प्रतिवेदन बुझाइएको हो।

    अनुसन्धान प्रतिवेदनका आधारमा उच्च अदालत नेपालगञ्जअन्तर्गत बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ। हाल सरकारी वकिल कार्यालय उक्त प्रतिवेदनको अध्ययन गरिरहेको छ।

    हालसम्म सीआईबीले चार जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो समय पक्राउ परेका व्यक्ति पूर्व राष्ट्र बैंकका कर्मचारी भुवन बस्नेत हुन्, जो टोखाबाट पक्राउ परेका थिए। बस्नेतले कर्णाली विकास बैंकबाट आएको १० लाख रुपैयाँ लिएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको सीआईबीको दाबी छ।

    सीआईबीका अनुसार राष्ट्र बैंकको अनुगमनमा बैंक ‘सही’ रहेको देखाउन भुवन बस्नेतलाई रकम दिएर अनुगमन रिपोर्ट अनुकूल बनाउन दबाब दिइएको थियो।

    यसअघि सीआईबीले बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी, र संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरिसकेको छ। उनीहरूलाई बाँकेमा लगेर अनुसन्धान भइरहेको छ। अनुसन्धानको नेतृत्व डीएसपी दान थापाको टोलीले गरिरहेको छ।

    सीआईबीको सुझावमा मुद्दा चलाउन सिफारिस गरिएका १११ मध्ये धेरैजसो बैंकका सञ्चालक तथा कर्मचारीहरू हुन् भने केही कर्जा लिइसकेर नतिर्ने ऋणीहरू पनि छन्। तीमध्ये चारजनाको निधन भइसकेको प्रहरीले जनाएको छ।

    झण्डै सवा तीन अर्बको घोटाला

    सीआईबीको अनुसन्धानमा बैंकमा करिब सवा तीन अर्ब रुपैयाँको घोटाला भएको खुलेको छ। सोहीअनुसार बिगो मागदाबी गर्नुपर्ने राय पनि ब्युरोले राखेको छ।

    बैंकका प्रमुख सेयर होल्डरसमेत रहेका राजेन्द्रवीर रायसँग बैंकको करिब ८० प्रतिशत संस्थापक सेयर रहेको छ। उनी स्थापना कालदेखि करिब १५ वर्षसम्म कार्यकारी अध्यक्ष र सीईओको भूमिकामा थिए। राय केही समयअघि भारतको लखनउबाट पक्राउ परेका थिए।

    दयाल मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए। उनी मधेश आन्दोलनबाट उदाएका नेता हुन् र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके-२ बाट सूर्य चिह्नमा स्वतन्त्र उम्मेदवार बनेका थिए। पछि उनी एमालेमा प्रवेश गरी हाल केन्द्रीय सदस्यका रूपमा रहेका छन्।

    अपचलन लुकाउन फोटोसप, नक्कली सर्टिफिकेटको प्रयोग

    बैंकका तत्कालीन विवरणअनुसार राष्ट्र बैंकमा रहेको अनिवार्य नगद मौज्दात (CRR) खातामा २०८१ पुस ७ गतेसम्म २२ करोड ७४ लाख रुपैयाँ रहेको देखाइएको थियो। तर, वास्तविकता भने खातामा करिब शून्य मौज्दात भेटिएको छ।

    बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले पनि ठुलो रकम अपचलन भएको ठहर गरेको छ। समितिका अनुसार कोर बैंकिङ सिस्टम (CBS) मा देखिएको मौज्दात र अन्य बैंक खातामा रहेको वास्तविक मौज्दातबीच ठूलो अन्तर रहेको छ।

    यसका साथै, राष्ट्र बैंकको अनुगमन टोलीलाई झुक्याउन फोटोसपमार्फत बनाइएका नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ पेश गरिएको थियो।

    पूर्व सीईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरी (महादेव), र वर्तमान वरिष्ठ वित्त प्रमुख तथा सीईओ निरजविक्रम शाहको संलग्नताबारे पनि मिश्र समितिले शंका व्यक्त गरेको छ।

    खातामा मौज्दात नभएको अवस्थामा चेक क्लियरिङ र टेलरबाट नगद झिकेर रकम दुरुपयोग गरिएको पाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ