• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने अमेरिकी दाबी

    790
    SHARES



    काठमाडौँ । अमेरिकी अधिकारीहरूले रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने बताएका छन्। शुक्रबार रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० भन्दा बढि ड्रोनहरू प्रयोग गरी हमला गरेको थियो।

    रूसले उक्त हमलालाई युक्रेनले गत आइतबार रूसी हवाई अड्डाहरुमा गरेको ड्रोन हमलाको जबाफ भनेको थियो। युक्रेनले त्यस दिन रूसमा गरेको आक्रमण युद्ध सुरू भएको तीन वर्षयताकै ठूलो र साहसिक हमला दाबी गरिएको छ।

    त्यतिबेला उसले ११७ वटा मानवरहित ड्रोनहरू रूसका विभिन्न हवाई अड्डाहरूमा खसालेको थियो। उसले त्यसबेला रूसका ४१ वटा विमान (टियू-९५, टियू-२२ र ए-५०) ध्वस्त पारिएको युक्रेनको दाबी छ। यीमध्ये टियू-९५ र टियू-२२ रूसका बमवर्षक विमान (बम्बर) हुन्।

    रुसले युक्रेनको उक्त हमलालाई ‘आतंकवादी हमला’ भनेको थियो। त्यसको पाँचौं दिनमा उसले युक्रेनलाई जबाफ दिँदै ठूलो हमला गरेको थियो।

    यद्यपि सोही हमला नै रूसको जबाफी हमला नरहेको र अझै त्योभन्दा ठूलो हमला केही दिनमै गर्ने सूचना प्राप्त भएको भनेर दुई जना अमेरिकी अधिकारीहरूले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन्।

    ‘युक्रेनी ड्रोन हमलाको जबाफ रूसले अझै दिएको छैन। जुन अझै भीषण र विध्वंशकारी हुन सक्छ। त्यो हमला एक-दुई दिनमै हुन सक्छ,’ एक अमेरिकी अधिकारीले रोयटर्ससँग भनेका छन्।

    अर्का अधिकारीले यही दिन गर्छ भनेर यकिन नभएको तर केही दिनमै गर्छ भन्ने सूचना रहेको बताए। र त्यो हमलामा विभिन्न प्रकारका विभिन्न किसिमका मिसाइल र ड्रोनहरू संलग्न हुन्छन् भनेर उनले भनेका छन्।

    उनीहरुले रूसको सम्भावित लक्ष्यबारे गोपनीयताका कारण सार्वजनिक नगरेको पनि रोयटर्सले जनाएको छ। एक अधिकारीले मस्कोको अबको हमला विनाशकारी हुनसक्ने बताएका छन्।

    अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, र सहकार्यलाई प्रवर्द्धन गर्न नीति अनुसन्धान, विश्लेषण गर्ने अमेरिकी संस्था कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पिसका रूस विशेषज्ञ माइकल कोफम्यानले रूसले युक्रेनी गुप्तचर संस्था एसबियू मुख्यालय वा अन्य क्षेत्रीय गुप्तचर प्रशासन भवनहरूलाई निशाना बनाउन सक्ने बताएका छन्।

    ‘सम्भवतः उनीहरूले एसबियू मुख्यालय वा अन्य क्षेत्रीय गुप्तचर प्रशासन भवनहरुलाई निशाना बनाउन प्रयास गर्नेछन्। साथै रक्षा उत्पादन केन्द्रहरूलाई पनि निशाना बनाउन सक्नेछ,’ उनले रोयटर्ससँग भनेका छन्।

    यद्यपि रूससँग जबाफी हमलाको विकल्पहरू सीमित हुनसक्ने पनि उनको आकलन छ। किनभने रूसले पहिले नै युक्रेनविरूद्धको युद्धमा धेरै सैन्य शक्ति प्रयोग गरिरहेको छ। हालको हमलाको स्तर बढाउन सक्ने क्षमता उसमा सीमित रहेको कोफम्यान बताउँछन्।

    आइतबारको युक्रेनी हमलाबाट पनि रूसलाई धेरै ठूलो नोक्सान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आइतबारको हमलाबाट रूसी बमवर्षक विमानहरू टियू-९५ र टियू-२२ क्षति पुगेको सही हो भने रूसलाई धेरै नै नोक्सान भएको छ।

    बमवर्षक विमान भनेका लडाकू विमान (फाइटर जेट) भन्दा ठूला हुन्छन्। यसले धेरै भारी बोक्न सक्छ र टाढासम्म उड्न सक्छ। लडाकू विमानको प्रयोग अरू लडाकू विमानसँग लड्न र तुलनात्मक हलुका तथा कम शक्तिशाली मिसाइल प्रहार गर्न हुन्छ।

    जबकि, लडाकू विमानभन्दा महँगा र थोरै संख्यामा हुने बमवर्षक विमानको प्रयोग लड्नमा हुँदैन। आणविक हतियार लगायतका शक्तिशाली मिसाइल हान्न मात्र बमवर्षक विमान प्रयोग गरिन्छ। रूसले युक्रेनसँगको युद्धमा यी विमान प्रयोग गरेर सीमाभन्दा धेरै परबाट क्रुज मिसाइल प्रहार गरिरहेको छ।

    ए-५० ले भने दुश्मनका विमान पत्ता लगाउन र खुफिया सूचना दिएर लडाकू विमानमाथि निशाना साँध्न सहयोग गर्छ। यो बमवर्षकभन्दा महँगो हुन्छ।

    रूससँग तीन दशकभन्दा अघि बनेका टियू-९५, टियू-२२ र केही आधुनिक टियू-१६० गरी बढीमा १२० वटाजति मात्र बमवर्षक विमान भएको मानिन्छ। तीमध्ये झन्डै एकतिहाइ ध्वस्त पारेको युक्रेनको दाबी सही हो भने अब रूसलाई युक्रेनमाथि क्रुज मिसाइल प्रहार गरिरहन मुश्किल हुनेछ।

    अमेरिकाले रूसका २० वटा युद्धविमानहरुमा क्षति पुर्‍याएको भनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको हमलाबाट रूसका १० वटा युद्धविमानमा क्षति पुगेको आताएका छन्।

    रूसले भने कुनैपनि विमान पूर्ण क्षति नभएको बताएको छ। उसले सामान्य क्षति पुगेका विमानहरुको मर्मत हुने बताएका छन्।

    तर रूसी सैन्य ब्लगरहरूले आणविक हतियार बोक्न सक्ने विमानहरू सहित लगभग एक दर्जन विमानहरूको क्षति वा गम्भीर क्षतिको पुगेको बताएका छन्।

    उनीहरुको कुरा सत्य साबित भए टियू-९५ र टियू-२२ धेरै पहिले नै बनाउन छाडिसकेको रूसलाई त्यसैले युक्रेनी हमलामा क्षति भएका यस्ता विमान मर्मत गर्न मुश्किल पर्ने मानिएको छ। आधुनिक टियू-१६० बनाउन पनि धेरै समय लाग्ने बताइन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ