काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छबि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्।
भट्टाचार्य कोभिड-१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति हुन् । ट्रम्पले उनलाई अमेरिकाको मुख्य सार्वजनिक स्वास्थ्य निकायको अर्को निर्देशकका रूपमा नियुक्त गर्ने घोषणा गरेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘स्टानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षित चिकित्सक र अर्थशास्त्री भट्टाचार्यलाई नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को जिम्मेवारीका लागि छनोट गरिएको छ।’
एनआईएच विश्वकै सरकारी कोषमा आधारित सबैभन्दा ठूलो बायोमेडिकल अनुसन्धान संस्था हो। यो अमेरिकाको प्रमुख स्वास्थ्य अनुसन्धान तथा वित्त पोषण संस्थानहरूमध्ये एक हो । भट्टाचार्य कोभिड-१९ महामारीका बेला व्यापक रूपमा लगाइएका लकडाउनको कडा आलोचना गर्दै चर्चित भएका थिए।
ट्रम्पले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्। यसै महिना ट्रम्पले अमेरिकी स्वास्थ्य विभागको जिम्मेवारी आफ्नो पूर्व प्रतिद्वन्द्वी रबर्ट एफ केनेडी जुनियरलाई सुम्पने घोषणा गरेका थिए ।
केनेडीले कोभिड-१९ खोपको कडा आलोचना गरेका थिए, जसका कारण चिकित्सा क्षेत्रका व्यक्तिहरूले उनको नाममा आपत्ति जनाएका छन् ।
ट्रम्पले डा. भट्टाचार्य र केनेडी जुनियरले राष्ट्रको चिकित्सा अनुसन्धानलाई मार्गदर्शन गर्न र स्वास्थ्य सुधारका साथै जनजीवन जोगाउन महत्त्वपूर्ण खोजलाई प्रबर्द्धन गर्ने दिशामा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
वाशिंगटन पोस्टका अनुसार, जय भट्टाचार्य हाल अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा नीति प्राध्यापकका रूपमा कार्यरत छन् । उनी नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चमा अनुसन्धान सहयोगीका रूपमा पनि कार्यरत छन्।
भट्टाचार्यको जन्म १९६८ मा भारतको पश्चिम बंगालको राजधानी कोलकातामा भएको थियो। उनले सन् १९९७ मा स्ट्यानफोर्ड विश्वविद्यालयको मेडिसिन स्कूलबाट एमडी डिग्री प्राप्त गरेका थिए।
सन् २००० मा उनले सोही विश्वविद्यालयको अर्थशास्त्र विभागबाट विद्यावारिधी सकेका थिए। उनी सन् २०११ देखि स्ट्यानफोर्डमा कार्यरत छन्।
प्रतिक्रिया