• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    बङ्गलादेशको अन्तरिम सरकारद्वारा संविधान सुधार आयोग गठन

    573
    SHARES



    काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले ९ सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ । बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजलाई यस आयोगको अध्यक्ष बनाइएको छ । यो संविधान संशोधन आयोगले ९० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

    बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार जनतालाई सशक्तीकरण गर्दै प्रतिनिधिमूलक र प्रभावकारी लोकतन्त्र स्थापना गर्न विद्यमान संविधानको समीक्षा र मूल्याङ्कन आवश्यक छ। यसका लागि आयोग गठन गरिएको बताइएको छ । अब संवैधानिक सुधारका लागि सबैको राय बुझेर प्रतिवेदन तयार गर्नेछ ।

    नौ सदस्यीय आयोगमा विद्यार्थी प्रतिनिधि महफुज आलम पनि परेका छन् । उनी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक पनि हुन्। आयोगका अन्य सदस्यहरूमा ढाका विश्वविद्यालय कानून विभागका प्राध्यापक सुमैया खैर र मुहम्मद इक्रामुल हक, ब्यारिस्टर इमरान सिद्दीकी र सर्वोच्च अदालतका वकिल अधिवक्ता डा शरीफ भुइया समावेश छन् । उनीहरुबाहेक ब्यारिस्टर एम मोइन आलम फिरोजी, लेखक फिरोज अहमद र लेखक तथा मानवअधिकारकर्मी एमडी मुस्तेन बिल्लाह पनि आयोगमा छन् ।

    यसअघि प्रमुख सल्लाहकार युनुसले न्यायपालिका, निर्वाचन प्रणाली, प्रशासन, प्रहरी, भ्रष्टाचार नियन्त्रण आयोग र संविधान सुधारका लागि ६ वटा आयोग गठनको घोषणा गरेका थिए । सो अवसरमा युनुसले यी आयोगले तीन महिनाभित्र काम सम्पन्न गर्ने अपेक्षा गरिएको बताएका थिए । उनले सबैका लागि समान अधिकार सुनिश्चित गर्नु सुधारको मुख्य उद्देश्य रहेको बताए ।

    युनुसले भने, ‘हाम्रो अगाडि धेरै काम छन् । हामी साझा लक्ष्यमा सँगै अघि बढ्न चाहन्छौं। हामी राज्य र समाजको सहयोगमा हाम्रो नयाँ पुस्ताको प्रतिभालाई कुनै बाधाविना अगाडि ल्याउन सक्ने संरचना बनाउन चाहन्छौं ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया