• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    चीनमा एक दशकयताकै शक्तिशाली समुद्री आँधी

    1.7K
    SHARES



    काठमाडौँ । चीनको हाइनान प्रान्तमा एउटा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै घाइते भएका छन्।

    ‘यागी’ नामक उक्त ‘सुपर टाइफून्’ले सडकहरू जलमग्न बनाएको थियो भने विद्युत् आपूर्तिमा अवरोध निम्त्याएको थियो। आँधीको वेग प्रतिघण्टा २३० किलोमिटरभन्दा माथि रहेकाले कैयौँ रुखहरू पनि ढलेका थिए।

    यागी यस वर्ष एशियामा यस वर्षको र दक्षिण चीनमा एक दशकयताकै सर्वाधिक शक्तिशाली समुद्री आँधी हो। शनिवार दिउसो उक्त आँधी उत्तरी भियतनाममा बज्रिएको छ। ‘यागी’ले उत्तरी फिलिपिन्समा यसै साता ठूलो क्षति पुर्‍याएको थियो र त्यसयता उसले आफ्नो शक्तिलाई दुई गुणाले बढाएको छ।

    चीनको दक्षिणमा पर्ने एउटा लोकप्रिय पर्यटकीय टापुमा उक्त भीषण आँधी र वर्षाले सबैभन्दा धेरै असर गरेको छ। हाइनान टापुको उत्तर पूर्वमा अवस्थित वेनचङ सहरलाई यागीले २२३ किलोमिटर प्रतिघण्टा हावाको वेगले शुक्रवार स्थानीय समय अनुसार ४ बजे प्रहार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

    सन् २०१४ को रमासुन समुद्री आँधीले ४६ जनाको ज्यान लिएको थियो। त्यसयता हाइनानलाई प्रभावित तुल्याएको सर्वाधिक शक्तिशाली समुद्री आँधी यागी हो। चीनको मौसम विभागले शरद् ऋतुमा तटसम्म आइपुगेको सबैभन्दा शक्तिशाली समुद्री आँधी यागी भएको उल्लेख गरेको छ।

    उक्त आँधी आउनु पूर्व नै उक्त टापुका करिब ४ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन्। रेल, डुङ्गा र हवाइ उडानहरू रद्द गरिए भने विद्यालयहरू बन्द गरिएका थिए।

    उत्तरी फिलिपिन्समा क्षति पुर्‍याउँदै अघि बढेको उक्त आँधीले हाइनान र सर्वाधिक जनसङ्ख्या रहेको चीनको गुआनडुङ प्रान्तमा ठूलो क्षति पुर्‍याउनसक्ने मौसमविद्हरूले चेतावनी दिएका थिए।

    बिहीवार जारी गरिएको सूचनामा इन्डो प्यासिफिक ट्रोपिकल साइक्लोन वार्निङ सेन्टरले यागी एउटा ‘ज्यादै खतरनाक र शक्तिशाली’ समुद्री आँधी रहेको भन्दै त्यसले जमिनमा प्रवेश गर्दा ‘उत्पात निम्त्याउन सक्ने’ चेतावनी दिएको थियो।

    सुपर टाइफुनसँग ‘क्याटगरी पाँच हरिकेन’ बराबरको सामर्थ्य हुन्छ। उक्त समुद्री आँधी जमिनमा प्रवेश गरेसँगै हाइनानमा व्यापक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

    स्थानीय सञ्चारमाध्यमहरूले करिब ८ लाख ३० हजार मानिसहरू प्रभावित भएको जनाएका थिए। त्यहाँ झन्डै ७ हजार जनाको आपत्कालीन टोली परिचालन गरिएको थियो। उक्त टोलीका अनुसार २ लाख ६० हजार घरमा शुक्रवार साँझबाट बत्ती आएको छ।

    ‘भीषण र शक्तिशाली आँधीको चेतावनी दिएका’ अधिकारीहरूको आदेशपछि सबै पर्यटकीय केन्द्रहरू बुधवारबाटै बन्द गरिएका थिए। समुद्री किनारा, विलासी होटल र ड्यूटी फ्री पसलहरूका कारण चर्चित हाइनानलाई कतिपयले ‘चीनको हवाइ’ का रूपमा पनि उल्लेख गर्नेगर्छन्।

    हङकङलाई मकाउ र जुहाईसँग जोड्ने गुआनडुङ प्रान्तमा रहेको संसारकै सबैभन्दा लामो समुद्री पुललाई पनि बन्द गरिएको थियो। गुआनडुङमा शुक्रवार दोस्रो पटक उक्त आँधीबेहरीको असर देखिँदा आँधीको वेग २०० किलोमिटर प्रतिघण्टा भन्दा धेरै रहेको थियो।

    उक्त क्षेत्रमा बिहीवारबाट भीषण वर्षा र आँधी आइरहेका छन्। चीनको मौसम हेर्ने निकायले ५०० मिलिमिटरसम्म वर्षा हुने अपेक्षा गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया