काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सो अवसरमा उनीहरूसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए । सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उनले धन्यवाद दिए ।
प्रधानमन्त्री दाहालले सो अवसरमा सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविछिन्न रुपमा जनताको सेवामा लागि पर्न उहाँले आग्रह गरे ।
प्रतिक्रिया