काठमाडौँ । नेकपा (एमाले) र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिँदै छन। मुख्यमन्त्रीलाई राजीनामा बुझाउन दुवै पार्टीका मन्त्रीहरूले राजीनामा पत्रमा हस्ताक्षर गरिरहेका छन।
दुवै पार्टीले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिँदै छन। एमाले संसदीय दलका नेता सरोजकुमार यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पार्टीले समर्थन फिर्ता लिएको पत्र आइतबार नै बुझाउने तयारी समेत गरेका छन।
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नयाँ सरकार गठनका लागि दुवै दल सरकारबाट बाहिरिन लागेको हो। जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा एमालेबाट चारजना मन्त्री छन।
संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री छन्। त्यसैगरी माओवादीबाट दुईजना मन्त्री छन्।
युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री छन् भने मुख्यमन्त्री यादवले संसदीय दलका नेता भरप्रसाद साहलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए। अर्थमन्त्रालयमा अडान लिएका साहले भने वन मन्त्रालय स्वीकार गरेका थिएनन्।
यो सरकारलाई अगामी आर्थिक वर्षको बजेट ल्याउन नदिने रणनीतिका साथ आजै दुवै दलले समर्थन समेत फिर्ता लिएको एक सांसदले बताए। संवैधानिक व्यवस्थाअनुसार सत्तारूढ दल सरकारबाट बाहिरिएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यस अनुसार माओवादीले आजै समर्थन फिर्त लिएपछि असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुअघि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने हुन्छ।
अहिलेको सत्ता समीकरण अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने र अर्को सरकारले बजेट ल्याउने ती सांसदको भनाई छ। मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढालेर नेकपा एमाले, माओवादी, अशोक राई नेतृत्वको जसपा र जनमत पार्टीको संयुक्त सरकार बनाउने तयारी छ। यसका लागि बिहीबार नै एमाले र माओवादी सरकारबाट बाहिरिने तयारीमा थियो।
तर अन्तिम समयमा आएर शीर्ष नेतृत्वले ‘पर्ख र हेर’ भन्दै तत्कालका लागि तटस्थ बस्न निर्देशन दिएको थियो। बिहीबारै मधेस भवनमा नयाँ सरकारको स्वरूप, नेतृत्व लगायतका विषयमा एमाले संसदीय दलका नेता यादव र माओवादी संसदीय दलका नेता साहबीच छलफल समेत भएको थियो। मधेस प्रदेशमा सरकार निर्माणका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ।
प्रदेशसभामा एमालेका २५, माओवादीका ९, जनमत पार्टीका १३, लोसपाका ८ जना सांसद छन। विभाजित भएको जसपामा भने अहिलेसम्म कोही खुलेका छैनन्। यद्यपी ८/९ जना जसपाका सांसद आफूहरूको सम्पर्कमा रहेको अशोक राइ समूहका एक नेताले बताए।
विभाजित जसपाले उपेन्द्र यादव नेतृत्वको जसपालाई तुरून्त संघीय र प्रदेश सरकारबाट निकालेर आफूहरुलाई मन्त्रिपरिषद्मा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइरहेका छन। तर माओवादी भित्रकै एउटा धारले नेकपा एसका अध्यक्ष माधव नेपालमाथिसमेत विश्वास गर्ने अवस्था नरहेकाले बजेट ल्याउनुअघि उपेन्द्र यादवलाई सरकारबाट निकाल्न नहुने मत राखेपछि बिहीबार एमाले र माओवादी प्रदेश सरकार नबाहिरिएको एक नेताले बताए ।
प्रतिक्रिया