काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ ।
बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रूपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको हो ।
बैंकले आफ्ना प्रदेश कार्यालयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बिमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरूका बारेमा जानकारी गराइएको बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा वित्तीय कार्यक्रमहरू आयोजना गरिरहेको छ । अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरूमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको बैंकले उल्लेख गरेको छ ।
यसका साथै, बैंकले आफ्ना ३५४ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
देशभर सतहत्तरै जिल्लामा बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।
प्रतिक्रिया