काठमाडौँ । भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै ३८ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकाकी उपप्रमुखसहित २१ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो ।
नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो।
अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाकाे उपचार भइरहेकाे छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएकाे र ८ जनाकाे मृत्यु भएकाे बताए । कुशे गाउँपालिका भूकम्पकाे केन्द्रविन्दु रहेकाे बारेकाेट गाउँपालिकाकाे रामीडाँडासँगै जाेडिएकाे स्थान हाे ।
यस्तै उता रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।
भूकम्पपछि सुख्खा पहिराेले बाटाे अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
प्रतिक्रिया