• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    राष्ट्रघातीहरू देशभक्तिको प्रमाणपत्र बाँडिरहेछन्

    163.7K
    SHARES

    लकडाउनबिच एकदिन सुदूरपश्चिमबाट एकजना कमरेडले फोनमा भन्नुभयो, “यहाँ मेरी मातृभूमि नेपाल आमा छैनन् भने म कसरी नेपाल जिन्दावादको नारा लगाउन सक्छु कमरेड ! राष्ट्रघातीहरूको भीडमा म कसरी हाँस्न सक्छु कमरेड !” एकछिन त म अकमकिएँ । विषयको सारसङ्क्षेप बुझ्न केहीबेर लाग्यो । कुराकानी हुँदै गर्दा पो थाहा भयो कि नेपालका असल नागरिकहरूमा ‘आखिर यो देश कसको !’ भन्ने गम्भीर प्रश्न उठ्न थालिसकेछ ।

    आज पनि आफूलाई कम्युनिस्ट नै भन्न मन पराउने ओली सरकारको कुनै पनि काम–कारबाहीमा कम्युनिस्टको ‘क’ कहीँ कतै देखिँदैन । उल्टै उसले नेपाल कम्युनिस्ट पार्टीका हजारौँ नेता तथा कार्यकतालाई जेल–हिरासतमा थुनेको छ । राजनीतिक आस्थाका बन्दीहरूलाई राजद्रोहको मुद्दा लगाएको छ । ओली स्वयम् होलीवाइनमा लट्ठिएर नेपाली मौलिकतालाई ध्वस्त पार्न उद्यत भइरहेछन् । यो सरकार सामन्तवादी र साम्राज्यवादी संस्कृतिलाई बढावा दिइरहेछ । हामी अवैज्ञानिक संस्कृतिलाई ध्वस्त पार्दै नूतन र वैज्ञानिक संस्कृति स्थापना गर्न चाहन्छौँ । राष्ट्रघाती ओली सरकारको कडा प्रतिवाद गर्दै हामीले भनिरहेका छौँ– हामी ध्वस्त गर्न चाहन्छौँ, भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादलाई !

    हामीलाई ओली सरकारले देशद्रोही भन्दै प्रतिबन्ध लगाएको छ । कुनै पनि देशभक्त, क्रान्तिकारी, सचेत समुदायमाथि देशद्रोहको के सामान्य आरोप हो ? जसले मरेर यो व्यवस्था ल्यायो, उसैमाथि प्रतिबन्ध लगाउने चिन्तन र कार्य सामान्य हुन सक्छ ? अदालत मुक्त गर्ने आदेश दिन्छ, उही अदालत परिसरमा राजनीतिकर्मीहरू किन दर्जनौँपटक समातिन्छन् ? नेपाल कम्युनस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धका विरुद्ध विद्यार्थी, शिक्षक, प्राध्यापक, सञ्चारकर्मी, कलाकर्मी र अधिकारकर्मीहरूले सशक्त विरोध गर्दैै आइरहेकै छन् । सरकारको यो कृत्यको अन्तर्राष्ट्रिय जगत्ले पनि खेद प्रकट गरेको छ ।

    विज्ञहरूले तथाकथित प्रतिबन्ध नै अवैधानिक भएको जिकिर गरिरहेका छन् । जति–जति दमन र गिरफ्तारीको मात्रा बढिरहेछ, उति–उति ओली सरकार नराम्ररी डगमगाउँदै छ । नेपाल कम्युनिस्ट पार्टीमाथि मात्र होइन, उक्त पार्टीनिकट जनवर्गीय सङ्गठनहरूमाथि पनि चरम दमन गरिएको छ । लेखकहरू लेख्न पाउँदैनन् । कलाकारहरू गाउन र नाच्न प्रतिबन्धित छन् । विद्यार्थीहरूलाई विद्यालय–विश्वविद्यालयमा पस्न दिइँदैन । मजदुरहरूलाई कारखानामा जान प्रतिबन्ध छ । किसानहरू खेतमै समातिन्छन् । महिलाहरूलाई चुलोचौकोबाट थुतेर हिरासतमा पु¥याइन्छ ।

    हामीलाई थाहा छ, प्रत्येक हिंसाको जननी राज्य पक्ष नै हुन्छ । संसारमा यही कुरा प्रमाणित हुँदै आएको छ । यो फासिवादी राज्य ‘न्याय’ र ‘अहिंसा’ को नारा फलाकिरहेछ, तर ऊ कहिल्यै न्याय र हिंसालाई परिभाषित गर्दैन । यस्तो अवस्थामा जनताले कतिञ्जेलसम्म अहिंसाको माला जपिरहन्छ ? प्रश्न त यसरी पनि उठ्न थालेको छ । हिंसाका अनेक स्वरूप र परिभाषा हुन्छन् र, छन् । उनकै संविधानमै उल्लेख भएका जनताका अधिकारको उपयोग गर्न नदिने सरकारी रवैया हिंसा हो कि होइन ? मनलाग्दी आरोप लगाउनु र मनलाग्दी मुद्दा थोपर्नु हिंसा हो कि होइन ? संस्थागत र नीतिगत हिंसा गर्ने यो राज्य आफैँ सबैभन्दा बढी हिंश्रक छ । उदेकको कुरा, फेरि उही नै सबैभन्दा बढी ‘न्याय’ र ‘मानव अधिकार’ वकालत गर्छ । यो ओलिटिक्सको जनघात र राष्ट्रघातको पराकाष्ठा हो ।

    हामी यो देश र यो देशको माटोलाई माया गर्छौँ । हामी उत्पीडित तथा श्रमजीवी जनतालाई माया गर्छौँ र उनीहरूको मुक्तिका लागि लड्छौँ । यो कुरा सही हो कि हाम्रा लागि यही नै देशहित हो, यही नै देशभक्ति हो, यही नै देशसेवा हो । हामीलाई पुरै भरोसा छ– माक्र्सवाद, लेनिनवाद र माओवादमाथि । हामीलाई पुरै भरोसा छ– देशभक्त तथा क्रान्तिकारी नेपाली जनतामाथि । हामीलाई पुरै भरोसा छ– विश्वभरका उत्पीडित तथा श्रमजीवी जनसमुदायमाथि । हामी यो कुरा पनि दह्रोसँग भन्न चाहन्छौँ कि हामीले यो देशको कथित संविधानमाथि औँलो ठड्याएकै हो । हामीले नालायक र अन्यायी शासकहरूका सामुन्ने ठूलो स्वरले प्रश्न उठाएकै हो ।

    हामीले तिनका शोषण, अन्याय र अत्याचारका विरुद्ध प्रतिरोध गरेकै हो । तिनको निर्लज्ज आदेशलाई खुट्टाले कुल्चेर थु थु गर्दै अस्वीकार गरेकै हो । हामीलाई यहाँको सरकार र संविधानमाथि कुनै भरोसा छैन । हामीलाई यहाँको दलाल पुँजीवादी संसदीय व्यवस्थामाथि कुनै विश्वास छैन । हामी एकपटक नेपालमा जनताको सम्पूर्ण देशभक्ति खन्याउन चाहन्छौँ । सडकछेउमा बसेर जुत्ता सिलाउने श्रमिकहरू जुन दिन “तिम्रो जुत्ता तिमी नै सिलाऊ, तिम्रो जुत्ता तिमी नै टल्काऊ” भनेर सडकमा उत्रनेछन्, जुन दिन उनीहरूले “तिमीहरू सबैभन्दा ठुला लुटेरा हौ, करोडौँ लुटिरहेका छौ” लाई समवेत स्वरमा भन्नेछन्, त्यस दिन तिमीहरूसित उनीहरूलाई पक्रेर जेल–हिरासतमा हाल्ने समय पनि हुनेछैन, जतिबेला तिमीहरू उनै लाखौँ श्रमिकद्वारा घेरिइसकेका हुनेछौ ।

    केही मानिसहरू भ्रष्ट तथा दलाल नेताहरूसित तस्बिर खिचाउँछन् र, त्यसलाई फुर्तिका साथ सामाजिक सञ्जालमा पोस्ट गर्छन् । नेताहरूले हामी यस्तो गर्र्दै छौँ, उस्तो गर्दै छौँ भनेका कुराको बढाइ–चढाइँ पनि तिनैले गर्दछन् । नेताहरूले झुट्टा कुरा गरिरहेको थाहा पाउँदा–पाउँदै पनि उनीहरू प्रतिवाद गर्दैनन् । जब त्यसको पर्दाफास हुनेछ, चाटुकारहरूको अवस्था अत्यन्त नाजुक भइसकेको हुनेछ । के नेपालमा यतिबेला आधारभूत विषयमाथि छलफल भइरहेको छ ? पटक्कै छैन । हामी यो देशको आधारभूत विषयमा छलफल गर्न चाहन्छौँ । हाम्रा आधारभूत विषय यिनै हुन्– राष्ट्रियता, जनतन्त्र र जनजीविका । यो सत्ता आफैँ जनतामाथि हिंसा थोपर्छ, अनि जनतामाथि आरोप लगाउँछ । कुमार पौडेल हत्याकाण्ड त्यसको सटिक उदाहरण हो ।

    हामीलाई हाम्रो विचारको श्रेष्ठताको प्रतिस्पर्धा गर्नसमेत दिइएको छैन । हामी जुनसुकै विचार र जोसुकै विचारकसित पनि बहस गर्न तयार छौँ । हामी चाहन्छौँ कि ओली सरकारले जनतामाथि हिंसा गर्ने कारखाना बन्द गरोस् । ओलीले हामीलाई ‘रगतको टीका लगाउनेहरू’ भनिरहेका छन् । ओलीलाई यो कुरा थाहा हुनुपर्ने हो कि क्रान्तिकारीहरूले सहिदको रगतको टीका लगाएका हुन्छन् र तिनको सपना पूरा गर्न शिरमा कफन बाँधेका हुन्छन् । ओली सरकार यतिबेला ‘श्री राम श्री राम’ भन्दै मन्दिर–मन्दिरमा दमन र हिंसाको आरती गरिरहेछ । हाम्रो प्रश्न छ ओलीहरूलाई, तिमीहरू यो देशमा कति जनाको कति रगत पिएपछि अघाउँछौ हँ ?

    मातृभूमिको स्वाधीनता र स्वतन्त्रताका लागि लड्नेहरूमाथि ओली सरकारले शक्तिकेन्द्रको इशारामा गोली बर्साइरहेछ । भोका नागरिकले रोटी मागिरहँदा, जनताले आफ्नो हक–अधिकारको कुरा उठाइरहँदा यो सरकारले जवाफमा गिरफ्तारी, दमन, झुट्टा मुद्दा, यातना र गोली दिइरहेछ । सरकार स्वयम् देशमा श्वेतआतङ्क मच्चाइरहेछ । भनिन्छ, देशमा लोकतन्त्र छ । त्यसो भए त्यो लोकतन्त्रले सबैलाई बराबरी हक–अधिकार किन दिएन त ? आज कोराना कहरमा विद्यार्थी, कर्मचारी, मजदुर, स्वास्थ्यकर्मी, साना व्यापारी, श्रमिक, किसानको अवस्था के छ ? सडकमा सुनबहादुरहरू भोकभोकै मरिरहेका छन् । जनताको अभाव र पीडाबारे यो सरकारलाई कुनै मतलव छैन । यो सरकारलाई केवल आफ्नै कुर्सीको मात्र चिन्ता छ । खासमा ओली मण्डली भारतीय गुप्चर संस्था ‘रअ’ का ‘थर्ड क्लास’ का राष्ट्रघाती चम्चा हुन्, जो देशभक्तिको प्रमाणपत्र बाँड्ने धृष्टता गरिरहेछ ।

    यो देश केका लागि ! यो देश कसका लागि ! यो प्रसङ्ग माथि नै उठाइसकिएको छ । कुनै पनि देश बन्नु भनेको त्यो देशका नागरिकले बनाउनु भन्ने अर्थ हुन्छ । तर, ओली सरकारमा देश निर्माणको कुनै अवधारणा नै छैन । कोरोना कहरमा श्रमिक मजदुरहरूको सडकमा देखिएको लामबन्दीले यथेष्ट प्रमाण बोलेकै छ । देशमा सामाजिक फासिवाद जुन तरिकाले आइरहेको छ, त्यसबाट अरू त के, सञ्चार क्षेत्र पनि सुरक्षित रहेन । अहिले बालुवाटारबाटै सञ्चार गृहमा समाचारको स्क्रिप्ट आउन थालेको छ, जुन निकै डरलाग्दो कुरा हो । जसरी सङ्कटकालमा यस्तो विधि अपनाइन्थ्यो, सैनिक अधिकारीको उपस्थितिमा सम्पादकीय लेख्नुपर्दथ्यो । आबरणमा कम्युनिस्ट भने पनि यो ओलिटिक्समा आलोचनात्मक चेतनाको कुनै स्थान छैन । यहाँ राष्ट्रघातीहरूको ढलीमली तीव्र बनिरहेछ । यो देश केवल दलाल पुँजीपतिहरूको चरन क्षेत्र, केवल लुटेरा र शोषकहरूको जुवा अखडामा परिणत हुँदै छ ।

    देशभित्र आन्तरिक राष्ट्रियताहरू छन्, मानिसका जुन मान्यताहरू छन्, मानिसका जुन नैसर्गिक अधिकारहरू छन्, नागरिकहरूका जुन स्वत्व र निजत्व छन्, हामीले तिनलाई कुशलताका साथ अन्तर्घुलन गर्दैनौँ भने यो देश देशको रूपमा कहाँ रहन्छ र ! देशले आफ्ना नागरिकलाई पूर्ण सार्वभौमिकता, पूर्ण स्वाधीनता र पूर्ण स्वाभिमानको आभास गराउनुपर्दैन ? हामी ती महान् सपनासँगै उभिएका छौँ, जसमा सबैलाई बराबरीको हक होस् । हामी त्यो सपनासँगै उभिएका छौँ, जसमा सबैलाई जिउने हक होस्, सबैलाई खाने, लाउने हक होस् । महान् सहिदहरूले जुन आफ्नो बलिदान दिएका थिए, हामीले त्यसलाई सम्झिरहेका छौँ । हामी नैसर्गिक नागरिक अधिकार र वास्तविक स्वतन्त्रताको पक्षमा उभिएका छौँ । हामी विश्व मानवतावादको पक्षमा उभिएका छौँ । हामीले शोषणका सबै रूपहरूको पर्दाफास गर्नु छ । साँच्चैको लोकतन्त्र, साँच्चैको स्वतन्त्रता, साँच्चैको विश्व मानवतावाद, साँच्चैको मानव अधिकार, सबै नागरिकको अधिकार र स्वतन्त्रता त केवल वैज्ञानिक समाजवादमा मात्र प्राप्त हुनेछ, हामी देशमा त्यही वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौँ ।

    आज न्यायालय कहाँ न्यायालयका रूपमा रहेको छ र ! नेपाल यस्तो देश बनेको छ, जहाँको अदालतमा न्यायको हत्या हुन्छ । नेपाल यस्तो देश हो, छुवाछूतको पराकष्ठाका रूपमा नवराजहरू मारिन्छन् । नेपाल यस्तो देश हो, जहाँ स–साना नानी–बाबु पढ्ने विद्यालय भत्काइन्छ र करोडौँ खर्चिएर मन्दिर–चर्चहरू बनाइन्छ । नेपालमा हत्याराहरूलाई सेलीब्रेटी बनाइन्छ । नेपाल यस्तो देश हो, जहाँ महिला अत्यधिक असुरक्षित छन् । एक समय भारतमा स्वयम् भारतीय नागरिकलाई रेस्टुरेन्टमा जान दिँइदैनथ्यो । आज पनि अमेरिकामा कालाहरू गएको रेस्टुरेन्टमा गोराहरू जाँदैनन् ।

    आज पनि अमेरिकामा काला जातिमाथि निरन्तर दमन भइरहेको छ । अब त्यस्तो दृश्य काठमाडौंमै देख्न पाइन्छ । प्रतिक्रियावादी–साम्राज्यवादीहरूले यस्तै–यस्तैलाई स्वतन्त्रता र आधुनिकता ठान्छन् । हामी यस्तो खालको स्वतन्त्रता र आधुनिकतालाई मान्ने पक्षमा छैनौँ । हामी त्यस्तो स्वतन्त्रता स्थापना गर्न चाहन्छौँ, जहाँ हरेक मानिसलाई उसको नैसर्गिक हक–अधिकार हुनेछ । जुन दिन हरेक मानिसलाई वास्तविक मानिसको अधिकार प्राप्त हुनेछ, त्यो दिन हामी धेरै धेरै खुसी हुनेछौँ । हामीले त्यही कठीन तर निर्विकल्प मार्ग अवलम्बन गरिरहेका छौँ, केवल देश र जनताको खुसीका लागि !
    ओली सरकारको परिचय नै राष्ट्रघात र दलालीकरण भएको छ ।

    साहुको ऋणमा घर–जग्गा बन्धकी राखेर विदेशिएका, कोराना महामारीका कारण चार–चार महिना बेरोजगारीले थिलथिलिएका नेपाली नागरिकलाई स्वेदश ल्याउने नाममा ओली सरकारले व्यवस्थापन गरेको टिकेट र होटेल भाडालगायतका कुरा सुन्दा तिनलाई सिंहदरबारबाट लखेट्न लाठो लिएर जाऊँ जाऊँ जस्तो लाग्छ । तिनै श्रमिक मजदुरकै रेमिट्यान्समा ढाडिएर फेरि तिनैमाथि यत्रो नचाहिँदो कहर ! सबै कुरा जनता आफैँले गर्नुपर्ने भएपछि ओली सरकार चाहियो किन ? यहीबिचमा भारतीय दूतावासमार्फत साना परियोजनामा लगानी गरेर नेपालमा समानान्तर सरकारकै हैसियतमा अर्बौं रुपैयाँ सिधै परिचालन गर्दै आएको भारतलाई प्रधानमन्त्री ओलीले सोही परियोजनालाई अर्काे ३ वर्ष लम्ब्याउने निर्णय गरेर भारतीय साम्राज्यवादको भद्दा तावेदारी गरेका छन् ।

    ओली सरकारले मन्त्रिपरिषद्को बैठकबाट ५ करोडसम्मका आयोजना भारतीय दूतावासमार्फत लगानी गर्न दिनेगरी स्वीकृति दिएका हुन् । भारतले यही परियोजनाको माध्यमबाट लामो समयदेखि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको छ । फेरि, भर्खरै डबल नेकपाको कार्यदलको प्रतिवेदनको हवाला दिँदै अमेरिकी सैन्य रणनीति एमसीसी अनुमोदन गर्ने प्रपञ्च फेरि सुरु भएको छ । ओली सरकारको यी कदम पछिल्ला राष्ट्रघाती शृङ्खला हुन् ।

    नेपालको आन्तरिक तथा बाह्य जीवन धेरै गम्भीर र जटिल मोडमा उभिएको छ । दुश्मनहरूले नेपाल र नेपाली जनताका विरुद्ध गम्भीर षड्यन्त्र गरिरहेका छन् । यो कुरा पनि स्पष्ट भइसकेको छ कि नेपालमा ओली सरकार स्वयम् साम्र्राज्यवादी शक्तिकेन्द्रको इशारामा थप आतङ्क मच्चाउन चाहन्छ । गणतन्त्रविरोधी ओलीलाई यो गणतन्त्र पिलो बनेको छ । ओली मण्डलीले नेपालमा पाँच दर्जन बढी जनघात तथा राष्ट्रघातका जघन्य अपराध गरिसकेको छ ।

    सत्ता र शक्तिको बलमा जनता मार्दै हिँड्ने, राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, लेखक–कलाकारलाई पक्राउ गर्दै यातना दिने ओलीको कस्तो देशभक्ति हो ? नेपालमा भारतीय राजदुतावासलाई समानान्तर सरकार चलाउन दिने ओलीको कस्तो राष्ट्रवाद हो ? एमसीसी पास गर्न मरीहत्ते गर्नेदेखि ओलीको संरक्षणमा भएको वाइडबडी, ओम्नीदेखि गोकर्णसम्मको प्रकरण कस्तो देशभक्ति हो ? करछली एनसेललाई उन्मुक्ति दिने ओलीको कस्तो देशभक्ति हो ?

    आज विश्वभर कोरोनाको महामारी छ । यस्तो महामारीमा पनि भ्रष्टाचार गर्ने ओली सरकारको कस्तो देशभक्ति हो ? महाकाली सन्धि गर्ने ओली एन्ड कम्पनीको कस्तो देशभक्ति हो ? कालापानी, लिपिुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेर ‘महान् राष्ट्रवाद’ को नारा उराल्ने ओलीका विशेष मान्छेहरू राती राती भारतीय दुतावास गएर ‘यो काम प्रचण्डहरूको दबाबमा गर्न बाध्य भएको’ भनेर चाकरी गर्न लगाउने ओलीको कस्तो राष्ट्रवाद हो ? रेलको ठेक्का, पानीजहाज, अपर–कर्णालीदेखि अरुण तेस्रोसम्मका प्रकरणमा ओली सरकारको राष्ट्रवादको निर्लज्ज झाँकी देखिएकै छ ! बालुवाटारमा बसेर बालुवाटारकै जमिनको रक्षा गर्न नसक्ने अनि ७० करोडको बार्गेनिङ प्रकरणमा गोकुल बास्कोटाको बचाउ गर्ने ओलीको कस्तो देशभक्ति हो ? सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँसम्म पु¥याउने कस्तो देशभक्ति हो ? ओहो अमानवीयता, निर्लज्जता र बेइमानीको पराकाष्ठा ! उफ् ! आज पनि उनै राष्ट्रघातीहरू देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन् !
    १३ भदौ, २०७७

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ