• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    कोरोनाले यसरी खोलिदिएको छ पुँजीवादको सार चरित्र

    कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व–अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि खोलिदिएको छ । यसलाई मनन गर्न आवश्यक छ । पहिलो कुरा पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । रूपगत सम्पन्नताभित्र कैयौँ अव्यवस्था, अपूर्णता र सङ्कट बाँचिरहेका हुन्छन् भन्ने खुलस्त भएको छ । बाहिर देखिने भव्यता भित्रभित्रै मक्किँदै गएको हुनसक्छ ।

    कैयौँ विश्लेषक र बुद्धिजीवीहरूले खुब मच्चिएर दाबी गरिरहेका थिए– पुँजीवाद र पुँजीवादी समृद्धि, सम्पन्नता नै आजको यथार्थ हो । यसको विकास र निरन्तरता अझै परसम्म सहजै जानेछ । नेपालजस्तो देशमा त पुँजीवादलाई बाटो छोडिदिनुपर्छ । चैतन्य मिश्रको भाषामा ‘जिउँदोजाग्दो पुँजीवाद’ लाई स्वीकार गर्नुपर्छ । परन्तु कोरोनाले खोलिदियो बाहिर समृद्ध देखिए पनि त्यो खोक्रो र मक्किसकेको हुनसक्छ । त्यो समृद्धिले समाज र नागरिकहरूको संरक्षण र सुरक्षा दिने त कल्पनै नगरौँ आफ्नै अस्तित्वलाई समेत थेग्न नसक्ने गरी सडिसकेको हुन्छ ।

    आज बाह्य दृष्टिले युरोप, अमेरिकालगायत संसारका पुँजीवाद समृद्धिका केन्द्र मानिन्छन् तर कोरोनाले देखायो– ती देशहरूमा नै नागरिकहरूले सबैभन्दा डरलाग्दो क्षति र समस्याहरू भोग्नु परिरहेको छ । नागरिकहरूले उपचार पाउन सकेका छैनन् । औषधिको अभाव छ । अस्पतालहरू अपर्याप्त भएका छन् । करोडौँको रोजगारी समाप्त भएको छ । उल्टो सापेक्षित रूपले कमजोर देखिए पनि अर्थराजनीतिक दृष्टिले फरक रहेका समाजवादी देशहरू र लोककल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखियो । नोम चोम्स्कीको विश्लेषणमा क्युबा त स्वास्थ्य महाशक्तिकै रूपमा अगाडि आयो । यसरी हेर्दा पुँजीवादी विश्वमा देखिने समृद्धि प्लास्टिकको फूल हो जो हेर्दा वास्तविक फूलभन्दा सुन्दर देखिन्छ तर फूलमा पाइने मूल तत्व नै त्यसमा हुँदैन ।

    दोस्रो, पैसा नै सबै थोक हो । पैसा भए पुग्छ भन्ने पुँजीवादी सोचाइ एवम् मान्यता धुलोपिठो भएको छ । सामान्य अवस्थामा पैसा भएका देशहरू सबै क्षेत्रमा बलियो र सक्षम भएको विश्वास थियो । जोसँग उनीहरूसँग जति पैसा छैन उनीहरूलाई पछि परेको रूपमा हेरिन्थ्यो तर कोरोनाले त्यो भ्रम मात्र हो भन्ने साबित गरिदियो । बरु के साबित भयो भने पैसा महत्वपूर्ण भए पनि त्योभन्दा महत्वपूर्ण पक्ष राज्यको आर्थिक, सामाजिक, राजनीतिक चेतना तथा मान्यताहरू महत्वपूर्ण हुन्छन् । धनाढ्य भनिएका देशहरूमा भन्दा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, वैज्ञानिक चेतना, अनुशासन, सद्भाव माथि भएका देशहरूमा कोरोनाको प्रभाव कमजोर देखियो ।

    तेस्रो, प्राविधिक एवम् सैन्य सबलता नै समग्र सफलताको आधारस्तम्भ हुन सक्दैन भन्ने साबित भयो । पुँजीवादी देशहरूले आफ्नो सबलताको अभिव्यक्ति प्राविधिक एवम् सैन्य तागतद्वारा गरिरहेका छन् । उनीहरूले अन्य मुख्यतः साम्यवादी अर्थराजनीतिक विचार र सिद्धान्तहरूलाई बलका आधारमा गलत साबित गर्न प्रयत्न गरिरहेका छन् तर कोरोनाले स्पष्ट ग¥यो– मुख्य कुरा राज्यभित्र सामाजिक, स्वास्थ्य, शिक्षा, नागरिक आवश्यकताहरूको सबलीकरण मुख्य हो जुन कुरा प्राविधिक एवम् सैन्य क्षेत्रमा मध्यम स्तरमा भएर पनि अमेरिका र युरोपको भन्दा राम्रो गरे ।

    चौथो, पुँजीवादी सम्पन्नताले मानव जातिलाई प्राकृतिक प्रकोपहरूबाट सुरक्षा दिन सक्दैन, बरु भयावह सङ्कट एवम् चुनौतीहरू थोपर्न सक्छ भन्ने वास्तविकता खुलस्त पारिदियो । पुँजीवादले केवल मुनाफा, धन आर्जन र बजार नियन्त्रणका लागि अनेकौँ अप्राकृतिक, दूषित, हानिकारक गतिविधिहरू अनियन्त्रित रूपले सञ्चालन गरिरहेको छ । त्यस्ता गतिविधिहरूले पृथ्वी र ब्रह्माण्डकै पर्यावरण, जल, जमिन, हावा, आकाश सारामा एकदमै नकारात्मक प्रभाव पारिरहेको छ । त्यसबाट अनेकौँ नयाँ र खतरनाक जीवाणुहरूको विकास हुने र सारा जीवसहित मानव जातिलाई विनाश गर्ने समस्या ल्याउने देखिन्छ । यसलाई वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । हकिङ्सले त नयाँ पृथ्वी खोज्नुपर्नेसम्मको सुझाव राखे । तर ट्रम्प भन्दैछन्– पर्यावरण बिग्रिन्छ भन्ने सोचाइ नै गलत छ । यो समाजवादीहरूले फैलाएको हल्ला मात्र हो ।

    पाँचौँ, पुँजीवादभित्र मानवीय समवेदना र उत्तरदायित्व निकै कमजोर छ भन्ने खुलासा भयो । कोरोना प्रकोप सुरु भएपछि स्पेनका वृद्धाश्रमहरूमा बिरामीहरूलाई त्यत्तिकै छोडेर हिँडेको समाचार आए । ब्रिटेनमा शववाहनभित्रै लासहरू सडाएर राखेको, अमेरिकामा एउटै खाल्डोमा कयौँ लासहरू दफनाएका विषयहरू छताछुल्ल भए । सरकारले जाँचबुझ समिति नै बनाउनुपर्यो । सारा सामाजिक सुरक्षाको सुनिश्चितता भएको प्रचार गर्ने पुँजीवादी मुलुकहरूभित्र यतिबिधि असंस्कार, अमानवीयता एवम् जनउपेक्षा प्रकट हुनु भनेको पुँजीवादी संस्कारको प्रतिबिम्ब हो । त्यहाँ पैसा र स्थिति सहज छ भने सामाजिक सुरक्षा र सहुलियतको माहौल छ तर ती छैनन् भने केही छैनन् ।

    छैटौँ, पुँजीवादी राज्यहरूले जसरी निजी स्वतन्त्रता र सम्पन्नताको हवाला दिन्छन्, अन्तर्यमा ती सहज समयमा मुनाफा कुम्ल्याउनका लागि मात्र उपयोगी हुन्छन् । समाजले नै सङ्कट झेल्नुपर्दा वा मालिकहरूले समाजका लागि विशेष योेगदान गर्नुपर्ने अवस्थामा निजी समृद्धिको क्षेत्र समाज र नागरिकहरूप्रति पूरै अनुत्तरदायी एवम् गैरजिम्मेवार बन्न पुग्छ । उल्टो राज्यले उसको संरक्षण गर्नुपर्ने हुन जान्छ ।

    सामाजिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका मुख्य हुन्छ र हुनुपर्छ भन्ने तर्क छाँट्ने मान्छेहरू यतिबेला लाचार देखिएका छन् । उनीहरूको निजीप्रधान सोचाइ मुनाफा कुम्ल्याउने धूत्र्याइँमा परिणत भएको छ । स्थिति कस्तो डरलाग्दो देखियो भने निजी क्षेत्रले करोडौँ नागरिकहरूलाई रातारात बेरोजगार बनाएर अभाव, गरिबी, भोकमरी र आत्महत्याको अनिश्चित कालो सुरुङतिर हुल्दैछ । नाफाका लागि भर्ती गरिएका श्रमिकहरूलाई आफ्नो नाफा कम हुने देखिँदासाथ एकरत्ति सुरक्षाभाव नराखेर सडकमा पुर्याइदियो ।

    मालिकहरू उल्टै राज्यबाट अर्बौंअर्बको क्षतिपूर्ति र सहुलियतको माग गरिरहेका छन् । युरोप, अमेरिकालगायत देशमा राज्यले मालिकहरूको क्षतिपूर्ति गर्न खर्बौं डलरको बाढी बगाउनु परेको छ । सङ्कटमा राज्यको पुँजी लिएर बाँच्नुपर्ने हो भने नवउदारवादी अर्थप्रणालीको महिमागान किन गर्नुपर्ने हो र यसलाई विश्वको नमुना अर्थसम्बन्ध कसरी मान्न सकिन्छ ! अझ हाम्रोजस्तो पैसा बेचेर पैसा कमाउने पूरा परनिर्भर दलाल पुँजीवादी अर्थसम्बन्धलाई किन प्रश्रय दिने ! स्पष्ट छ– सामाजिक उन्नति एवम् नागरिक समृद्धिका लागि मात्र होइन, निजी सम्पन्नताका लगि पनि राज्य–पुँजी मुख्य हुन्छ ।

    समग्रमा भन्दा कोरोनाले सारा मानव जातिलाई सताउँदा संयोगले मानवसभ्यताको टाउकोमा विराजमान बन्न पुगेको पुँजीवाद र निजी स्वतन्त्रता एवम् स्वामित्वमा आधारित पुँजीवादी अर्थसम्बन्धको असफलता, अक्षमता र सङ्कटलाई ह्वाङ्ग खोलिदिएको छ । उसका सारा रूपरङ, बनावट, अवस्थालाई छ्याङ्छ्याङ्ती देखाइदिएको छ । कम्युनिस्ट मात्र होइन, बुद्धिजीवीहरू पनि पुँजीवादको औचित्यहीनता एवम् असफलताबारे एकमत देखिएका छन् । यो खुसीको कुरा हो । अपशोच ! पुँजीवादी नेताहरूले भने आफ्नो असफलता र सङ्कट टाल्न यतिबेला दुईवटा गलत विषय अगाडि सारेका छन् ।

    पहिलो : विश्वभर तनाव–अस्थिरता उत्पन्न गर्ने, आतङ्क मच्चाउने र हिंसा–युद्ध भड्काउने खेल खेल्दैछन् । जतिबेला कोरोनाले चीनलाई बढी क्षति गरिरहेको थियो, त्यसबेला पुँजीवादी नेता र लेखकहरूले लेखे– चीनमा क्षति हुनुको मुख्य कारण रोगभन्दा पनि चीनको कम्युनिस्ट शासन, केन्द्रीकृत सत्ता, सर्वसत्तावादी शैली, अप्रजातान्त्रिक शासन, अनुत्तरदायी नेतृत्व जिम्मेवार रहेको छ । एकजनाले त अमेरिकामा जस्तो लोकतन्त्र भएमा केही समस्या नहुने भन्दै चीनमा सत्ता बदल्नुपर्ने समय आएको चर्चा गरे । तर जब कोरोनाले चीनलाईभन्दा धेरै बढी क्षति अमेरिका र युरोपमा गर्यो तब तिनै मान्छेहरूको तर्क छ– चीनले समयमै ठीक तरिकाले सूचना नदिएको र रोक्ने उपाय नबताएकाले अमेरिकालगायत देशहरूले बढी क्षति भोग्नुपर्यो । चीनले क्षतिपूर्ति तिर्नुपर्ने, क्युबाले अन्तर्राष्ट्रिय आतङ्कवादसँगको लडाइँमा साथ नदिएको जस्ता आरोप लगाउँदै नकाबन्दीको धम्की दिएका छन् । कताबाट हुन्छ कोरानाको क्षतिलाई युद्धआतङ्कद्वारा पूर्ति गर्ने र आफ्नो असफलतालाई छोप्ने ध्याउन्नमा छन् ।

    दोस्रो : नाफा कमाउनु र पैसा जोगाउनु मुख्य हो, रोग र मृत्यु सामान्य हो भन्ने लुटवादी, अमानवीय एवम् असामाजिक चरित्र प्रदर्शन गर्दैछन् । सुरुमा विकास र समृद्धिको अहङ्कारमा डुबेका पुँजीवादीहरूले कोरोना पस्नै सक्दैनजस्तो रबैया प्रदर्शन गरे । जब कोरोना रोक्नमा पूरै असफलजस्तो बन्न पुगे, पुँजीवादी अव्यवस्थाका कारण लाखौँ नागरिकहरूले ज्यान गुमाउनुपर्यो र खर्बौं डलर बगाउँदा पनि नपुग्ने भयो तब पुँजीवादी नाइकेहरूले अति विचित्र, असभ्य र अमानवीय तर्क गर्न पुगेका छन्– मानवीय क्षतिभन्दा ठूलो चुनौती आर्थिक क्षति हो ।

    त्यसबाट बच्नका लागि बजार खुला गर्न, व्यापार चलाउन र व्यवसायहरू सञ्चालन गर्न आवश्यक छ । यो कुरा ट्रम्पले मात्र होइन, जोनसोन, सुनारो, म्याक्रो सबैले एउटै स्वरमा भन्न पुगेका छन् । यस्ता तर्कको स्पष्ट सन्देश कोरोनाको सङ्कट केवल स्वास्थ्यमा मात्र सीमित नभएर राज्यव्यवस्थाको सङ्कटमा परिणत हुन सक्छ र जुनकुनै बेला पनि अर्को अक्टोबर क्रान्ति विस्फोट हुन सक्छ भन्ने देखिन्छ । पुँजीवादीहरूको अर्थराजनीतिक गणितमा नागरिक र समाजको जीवनभन्दा पुँजी र मुनाफाप्रधान हो, मान्छे मरेर फरक पर्दैन, ती फेरि जन्माउन सकिन्छ तर पैसा गुम्यो भने सत्ता नै गुम्न सक्छ भन्ने निष्कर्ष निक्लेको छ ।

    मानवसमाजको विकासले असफल सिद्ध गरेका तर बलजफ्ती अस्तित्व रक्षामा उत्रिने अर्थराजनीतिक व्यवस्थाका कारण मानव जातिले इतिहासदेखि अपूरणीय मूल्य चुकाउनुपरेको छ । पोप, मुल्लाह, पुजारीहरूको शासनलाई झूट साबित गर्न बु्रनोहरूले ज्यान गुमाउनु पर्यो । कोपर्निकस, ग्यालिलियोहरूले सास्ती बेहोर्नुपर्यो । आज प्रो. हरारेले भनेजस्तै विज्ञानमा विश्वास गर्ने क्रम बढेकाले कोरोनामा चर्च, मस्जिद, गुम्बा, मन्दिर बन्द हुन बाध्य भएका छन् । अर्को शब्दमा आज मानव जातिले विज्ञानको अभूतपूर्व रसास्वादन गर्न पाएको छ ।

    परन्तु पुँजीवादबाट समाजले त्यही पीडादायी तर बहन गर्नैपर्ने व्यवहार भोग्नु परिरहेको छ । व्यवहारतः पुँजीवाद बेकम्मा र औचित्यहीन बनिसकेको छ तर उसको मूर्खतापूर्ण अडानले अनेकौँ झमेलाहरू सामना गर्नु परिरहेको छ । हुनसक्छ कैयौँ विज्ञान र परिवर्तनका अभियन्ताहरूले यसको मूल्य चुकाउनु पर्नेछ । यद्यपि यो निश्चित छ– विश्व पुँजीवादले विश्वमा र दलाल पुँजीवादले नेपालमा त्यसरी नै वैज्ञानिक समाजवाद–साम्यवादका लागि ठाउँ छोड्नु पर्नेछ जसरी पोप र सम्राट्को शासनले पुँजीपतिका लागि राज्य सञ्चालनको मञ्च त्याग्नुपरेको थियो ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ