• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    जनयु’द्ध दिवस र श्वेत-फासिवाद

    3K
    SHARES

    खेम थपलिया। जनयुद्ध दिवस अर्थात् फागुन १ लाई क्रान्तिकारीहरूले अत्यन्त महत्व र उत्साहका साथ सम्मान र स्मरण गर्दछन् । महान् जनयुद्ध सुरु भएको २०५२ साल फागुन १ प्रतिवद्धता र उत्साहको, सम्मान र स्मरणको, समर्पण र बलिदानको रूपमा विशेष दिनको रूपमा स्थापित छ । यो दिनले विद्रूप वर्तमानको वस्तुवादी समीक्षा गराउँछ ।

    यो दिनले सामाजिक श्वेत-फासिवादी सत्ताका विरुद्ध धावा बोल्न रातो र तातो रगत उमाल्दै प्रतिरोधको आँधी सिर्जना गराउँछ । नेपाली राजनीतिमा यतिबेला तत्कालीन नेतृत्वसहित एकखाले माओवादीलाई आफूभित्र समाहित गर्न सफल एमाले र तिनको नेतृत्व केपी ओलीको सामाजिक फासिवाद उन्मत्त भइरहेछ । ओलीको अन्तर्यमा सामाजिक श्वेत–फासिवाद अर्थात् श्वेत–साम्राज्यवादी चिन्तन तीव्र रूपमा हाबी हुँदै गएको छ । ओलीको श्वेत–फासिवादविरुद्ध सङ्घर्ष गर्नु र विजयी हुनुमा नै जनयुद्ध दिवस मनाउनुको सार्थकता रहनेछ ।

    हामी यतिखेर २५औँ जनयुद्ध दिवस धुमधामका साथ मनाइरहेका छौँ । नेपालमा मात्र होइन, आ-आफ्नो सापेक्षतामा विश्वभर जनयुद्ध दिवस मनाइँदै छ । जनयुद्ध दिवस मनाउनुको अर्थ जनयुद्ध सुरु गर्दाका ऐतिहासिक प्रतिवद्धताहरूको स्मरण गर्नु पनि हो । ती ऐतिहासिक प्रतिवद्धतालाई आजको एकीकृत जनक्रान्तिसित जोड्ने कुरा पनि हो । जनयुद्ध दिवस मनाइरहँदा स्वाभाविक रूपमा महान् जनयुद्धको ऐतिहासिक पहलका लागि गरिएका प्रतिवद्धताहरूको स्मरण हुन्छ ।

    १. हाम्रो यो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार ‘गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्ध’ का रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल नरहने प्रतिज्ञा गर्दछ ।

    २. जनयुद्ध थालनीको हाम्रो योजना ‘राज्यसत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिविरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो कटिबद्धता जाहेर गर्दछ ।

    ३. हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी नयाँँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य-साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ ।

    एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजान दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छाैँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलार्ई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, सम्प्रदायिक एवम् जातिवादी विभ्रमबाट सम्पूर्ण रूपले मुक्त रहेनछ ।

    ४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रियवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति सर्वहारा विश्वक्रान्तिको भिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद-लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम)’, जसको हाम्रो पार्टी पनि सदस्य छ, को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

    ५. यो योजना, नयाँँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारीलाई संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणका सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टीभित्र सङ्घर्षलाई द्वन्द्वात्मक तरिकाले ग्रहण गर्नु, त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्नु, जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।

    ६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई संयुक्त पारी सशस्त्र सङ्घर्ष सञ्चालन गरिनेछ । कृषिक्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी कुनै देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन ।

    ७. युद्धका आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन, जटिल वक्ररेखामा अघि बढ्नेछ । लेनिनको ‘क्रान्ति आफैँले आफ्नो विकास क्रममा सधैंँ नै असाधारण जटिल परिस्थितिको सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात् गरेर जानु अनिवार्य छ । जित र हारको उपलब्धि र क्षतिका चक्रहरू पर गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँँ । (नेकपा माओवादीका ऐतिहासिक दस्तावेज, भाग १) ।

    जनयुद्ध मनाउनुको अर्थ क्रान्ति र त्यसक्रममा भएका बलिदानको सम्मान र स्मरण गर्नु हो । क्रान्ति फगत भावना, रिस र आवेगको विषय होइन । जब स्वाभिमानको हत्या हुन्छ, जब सपनाको हत्या भएको दृश्य टुलुटुलु हेर्न बाध्य बनाइन्छ, यस्तो बेला कोही पनि स्वाभिमानी चुप लागेर बस्न सक्दैनन् । महान् जनयुद्ध र यसले गरेको विकास, यसले परिकल्पना गरेको राज्यव्यवस्थाका खातिर हजारौँ जनताले बलिदान गरे ।

    प्रतिक्रियावादी राज्यसत्ताद्वारा हजारौँ योद्धालाई बेपत्ता बनाइए, हजारौँ योद्धा घाइते बने तर पनि तत्कालीन नेतृत्वले क्रान्तिलाई सम्पन्न गर्ने आँट गरेनन् । आज नेपाली जनमानसमा ठूलो बेचैनी र परिवर्तनकारी सपनाको ठूलो भोक छ । यतिखेर बलिदानको मूल्यको खोजी र श्वेत-फासिवादी सत्ताविरुद्धको रोष विभिन्न माध्यमबाट अभिव्यक्त भइरहेको छ । क्रान्तिकारीहरूका लागि यी अहम् महत्वकारी विषय हुन् । नेपाल र नेपालीको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले बलिदान दिए । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए ।

    युवा-विद्यार्थी, चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्त पन्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालमा सञ्चालित किसान आन्दोलनका क्रममा मुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा रगत बगाए ।

    काङ्ग्रेसले सुरु गरेको पञ्चायती शासनविरोधी हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगाए । ऋषि देवकोटा ‘आजाद’, सम्झना दाहाल, टङ्क भुसाल, अनिश शाक्यको पनि यो धर्तीमा रगत बग्यो । शासकहरू जतिसुकै क्रूर भए पनि जनताले बलिदानी प्रतिरोध गरिरहन्छन् भन्ने कुरा जनयुद्धमा जनताको उच्च बलिदानी भावनाले प्रमाणित गरेकै छ ।

    सामन्तवाद, साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दै वैज्ञानिक समाजवाद हुँदै महान् साम्यवादसम्म पुग्ने उद्देश्यका साथ अघि बढेको जनयुद्ध अद्वितीय परिघटना थियो । फासिवादी सरकारका बर्बर आतङ्क र हत्याकाण्डका कैयौँ मानिसले बलिदान दिनुप¥यो, जसको शाब्दिक वर्णन गर्न असम्भव छ । जनयुद्धका क्रममा पार्टीको उच्च तहबाट पनि सहादत भएको थियो ।

    तत्कालीन पोलिटब्युरो सदस्य वाग्ले ‘वासु’ लाई २०५६ साल भदौमा गोरखाको गाँखुमा प्रहरीहरूले गिरफ्तारपछि हत्या गरियो । उहाँसँगै भीमसेन पोखरेलको पनि पासविक तरिकारले हत्या गरियो । रोल्पाका जनमुक्ति सेनाको चौथो डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ लाई रोल्पामा कमान्डो प्रशिक्षण चलिरहँदा शाहीसेनाद्वारा गरिएको एचएमजीको प्रहारबाट सहादत भयो । पार्टीका केन्द्रीय सदस्य परिवर्तन, कुमार, विशाल र प्रतापको पनि जनयुद्धका क्रममा सहादत भयो ।

    पोस्टबहादुर बोगटी र हितराज पाण्डेका छोरा रवि बोगटी र मिलन पाण्डेको पनि सहादत भयो । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पनि योद्धासहित दुई भाइलाई गुमाउनुपर्यो । तत्कालीन जनमुक्ति सेनाका प्रमुख (हाल उपराष्ट्रपति) नन्दकिशोर पुन ‘पासाङ’ को भाइको पनि जनयुद्धमा सहादत भएको थियो । जयपुरी घर्ती, उमा भुजेल, सरला रेग्मी, दामा शर्मा, धर्मशिला चापागाईं, कञ्चन खनालले पनि जीवनसाथी गुमाउनुभएको थियो ।

    महान् वर्गसङ्घर्षमा सहादत प्राप्त गरेका सहिदहरूको तथ्याङ्क अझै पनि पूर्ण भइसकेको छैन । सहिद प्रतिष्ठानका अनुसार कोचिलामा २८६, लिम्बुवान–किराँतमा ४१५, अवधमा २१६, भोजपुरामा २४८, मिथिलामा ३६१, ताम्सालिङमा १११४, नेवाःमा ४०, तमुवानमा ४५१, मगराँतमा १८८८, थारुवानमा १००३, भेरी-कर्णालीमा १५१३, सेती-महाकालीमा ५५७, जनआन्दोलनमा ३२, गौर–हत्याकाण्डमा २८ जना सहिद-तथ्याङ्कमा सूचीकृत छन् । जनयुद्धका सहिदका आधिकारिक तथ्याङ्कचाहिँ ८,८९५ रहेको छ ।

    जनयुद्ध दिवस एकीकृत जनक्रान्तिसित पनि सम्बन्धित छ । आजको एकीकृत जनक्रान्ति तत्कालीन जनयुद्धको नवीनीकृत रूप हो । नेपालमा महान् सपना र उद्देश्यका साथ भएको महान् जनयुद्धमा तत्कालीन नेतृत्व प्रचण्डबाट ठूलो गद्दारी र धोका भएपछि विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको रातो झन्डा उठेको हो । एकीकृत जनक्रान्ति प्रारम्भपछि धनरूप बटाला, कुमार पौडेल, चन्द्रबहादुर सिंह ‘सनराइज’, तीर्थ घिमिरे ‘राजु’, महान, दीपेन्द्र, प्रज्वल शाही, निरन्तर, निरकुमार राई ‘प्रशान्त’, रामकुमार श्रेष्ठ, रामबहादुर सिंहलगायतको सहादत भइसकेको छ ।

    सङ्घर्ष, बलिदान र सामाजिक रूपान्तरणका लागि नयाँ युग जन्माउने जनयुद्धको गौरवपूर्ण इतिहासको रक्षा गर्दै एकीकृत जनक्रान्तिको मार्गमा अघि बढ्नु समकालीन राजनीतिक कार्यभार हो । जनयुद्ध रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रणको शृङ्खलाका साथ सामाजिक रूपान्तरणको माक्र्सवादी विकास पनि थियो । एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्न सकिन्छ । यसैबाट हामीले प्राप्त उपलब्धिको रक्षाका साथ अनेकन् चुनौतीको सामना गर्दै मुक्ति–राजमार्ग प्राप्त गर्नेछौँ ।

    जनयुद्धको २५औँ वर्षगाँठ मनाइरहँदा जनयुद्ध, जनआन्दोलन, एकीकृत जनक्रान्तिका सहिदका सपना पूरा गर्ने र सोहीअनुरूप मोर्चामा लामबद्ध हुनु अहिलेको मूल जिम्मेवारी हो भन्ने कुरालाई हृदयङ्गम गर्न आवश्यक छ । माओले “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ, क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ” भन्नुभएको छ ।

    स्टालिनले पनि थप्नुभएको छ, “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभईकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा–अधिनायकत्व कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।” क्रान्तिकारी कार्यभार पूरा गर्ने सन्दर्भमा माओ र स्तालिनका उपर्युक्त भनाइ निकै मननीय छन् ।

    २५औँ जनयुद्ध दिवस मनाइरहँदा हाम्रो मानसपटलमा जनयुद्धकालीन विभिन्न बिम्ब सघन-स्मृतिमा आउँछन् । लोकतन्त्रको दुहाइ दिने सामाजिक फासिवादी सत्ताधारी वर्गले आफ्नो स्वार्थविपरीत राजनीतिक आस्था राख्ने राजनीतिक नेता, कार्यकर्ता एवम् सर्वसाधारण जनताका विरुद्ध बारम्बार बन्दुकको भाषा बोल्दै आएको वर्तमान सन्दर्भमा ती जनयुद्धकालीन बिम्बले हामीलाई निकै उद्वेलित बनाउँछ ।

    जनताले निकै लामो समयदेखि चलाउँदै आएको राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको सङ्घर्ष अहिले एकीकृत जनक्रान्तिसित जोडिएको छ । सत्य र न्यायको पक्ष लिने निरपराध जनताका विरुद्ध सशस्त्र दमन अभियानका रूपमा ओलीको श्वेत–फासिवाद विकसित हुँदै गएको छ । अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको झन्डा उठाउनुबाहेक जनताका अगाडि अर्को विकल्प छैन । एकीकृत जनक्रान्ति जनताको त्यही न्यायपूर्ण युद्धको रातो झन्डा हो ।

    जनयुद्ध दिवस मनाउनुको अर्थ राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा सहभागी हुनु पनि हो । यतिखेर नेपालमा राष्ट्रिय स्वाधीनताको सङ्घर्ष चलिरहेको छ । सिंहदरबार–बालुवाटारमा सामाजिक फासिवादी ओली सरकारको हालीमुहाली चले पनि देश आक्रान्त र छ । यसको प्रणेता स्वयम् ओली नै हुन् । विष्मयकारी गर्तमा खस्दै गएको नेपाली समाज त्यत्तिकै जोगिनेवाला छैन ।

    राजनीतिक, वैचारिक र सांस्कृतिक मूल्यहरू स्खलित भएको, महान् आदर्शहरू ढलेको, बेपत्ता योद्धाहरू बेखबर भएको, सहिद परिवारहरूको बिचल्ली भएको, सपनाहरू मर्न थालेको, राष्ट्रियतालाई कुर्सीसित साटिएको, वर्गदुश्मन केहीका निम्ति हितैषी बनेको यतिबेला सामाजिक फासिवादी ओली सरकारका विरुद्ध क्रान्तिकारी तथा देशभक्त जनताले प्रतिरोधले रातो झन्डा उठाएका छन् । उनीहरूले फासिवादीसित औँला ठड्याएर प्रतिरोध गरिरहेका छन् ।

    राष्ट्रिय स्वाधीनताको लडाइँमा आफूलाई निर्भयका साथ उभ्याएका छन् । भारतीय साम्राज्यवादले हजारौँ हेक्टर नेपाली भू–भागमाथि अतिक्रमण गरेको यतिबेला राष्ट्रिय स्वाधीनताको लडाइँ मूलतः भारतीय साम्राज्यवादसित नै परिरहेको छ । पछिल्लोपटक भारतीय साम्राज्यवादले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो सिमानाभित्र समेटेर गरेको नयाँ नक्साङ्कन सार्वजनिक भएपछि उसको हददर्जाको मिचाहा प्रवृत्ति थप उजागर भएको हो ।

    झन्डै छ दसकअघि चीन र भारतबिच युद्ध भएका बेला रणनीतिक महत्वको कालापानीमा भारतीय सेनाले खडा गरेको क्याम्प आज पनि जस्ताको तस्तै रहनु नेपाली शासकहरूलाई निकै लाज लाग्नुपर्ने हो ! राष्ट्रियताको मुद्दालाई गोहीको आँसु बनाउने सत्ताका कारण नेपाली जनमासमा प्रश्न उठिरहेको छ, तत्कालीन नेपाल सरकार र प्रधानमन्त्रीहरू यो विषयमा किन मौन बसे ? भारतसितको सीमा समस्या समाधानमा पटक्कै ध्यान नदिने नेता, कुटनीतिज्ञ तथा राजनीतिक दलहरू अहिले न्वारानदेखिको बल लगाएर चिच्याउनुको के अर्थ ? २०७२ को नाकाबन्दीपछि नयाँदिल्ली पुगेका बेला प्रधानमन्त्री केपी ओलीले कालापानी समस्यालाई किन गम्भीरतापूर्वक उठाउनुभएन ? भारतीय ‘नक्साकाण्ड’ को सूत्रपात हुनुमा नेपाली शासकहरूको लाचारी र लम्पसारवाद नै मुख्य कारण हो ।

    अहिले पनि भारतको ‘बडिल्याङ्वेज ’ ले ऊ कुनै पनि हालतमा कालापानीलगायत नेपाली भू-भाग छोड्ने पक्षमा देखिँदैन । त्यति मात्र होइन, उसको विकिपिडियाको अङ्ग्रेजी संस्करणमा कालापानी टेरिटोरी आफ्नो भएको भन्दै निकै अघिदेखि अन्तर्राष्ट्रियकरण गरिसकेको छ । तर, यस्तो गम्भीर र संवेदनशील विषयमा नेपाल सरकार र विशेषतः नेपालको परराष्ट्र मन्त्रालय बेखबर हुन मिल्छ ? २०२७ सालमा नेपाल–भारत पारवहन सन्धिको सन्दर्भमा जब भारतले नाकाबन्द गरी नेपाललाई दुःख दिएको थियो, तब मेदिनीनाथ सुवेदीले ‘धम्की नदे भारत’ जस्ता सशक्त कविता लेखेका थिए ।

    त्यस्तै राष्ट्रियताको भावनाद्वाारा ओतप्रोत सिर्जना आजको आवश्यकता बनेको छ । नेपाली भू-भागमाािथ भारतीय हस्तक्षेपका विरुद्ध विभिन्न माध्यमबाट प्रतिरोध भइरहेका छन् । चीनलाई घेर्ने र नेपाललाई अमेरिकी सेनाको ब्यारेक राख्ने कुनियतका साथ ल्याइएको एमसीसीका विरुद्धको आन्दोलन पनि सशक्त रूपमा अघि बढिरहेको छ । यसले नेपाली सत्तासीनहरूका राष्ट्रघाती अनुहार पनि छर्लङ्ग बनाएको छ । सडकमा देखिएको नक्कली राष्ट्रवादका झाँकीको अन्तर्यमा समस्या समाधानभन्दा पनि साम्राज्यवादी शासकहरूकै गुलामी रहेको कुरामा कुनै दुविधा छैन ।

    जनयुद्ध दिवस मनाउनुको अर्थ श्वेत–फासिवादका विरुद्धको सङ्घर्ष गर्नु पनि हो । कथित कम्युनिस्टको आबरणमा नेपाली जनतामाथि ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाउँदै श्वेत–फासिवाद लादिरहेको छ । उसले राजनीतिक स्वतन्त्रताको अधिकार खोसेको छ, उसले देशभक्त तथा क्रान्तिकारीहरूको हत्या गरिरहेको छ । उसले हजारौँ नेता–कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर जेल तथा हिरासतमा राखेको छ । ओली सरकार आफैँले देशमा हत्या, हिंसा, लुट, कमिसन, भ्रष्टारलाई संस्थागत गरिरहेको छ । अहिले नेपाली राजनीतिमा ललितानिवास जग्गा प्रकरणले माहोल तातिएको छ । नेपालको मौजुदा संसदीय व्यवस्था ‘अपराधी र भ्रष्टाचारी’ जन्माउने कारखानामा परिणत भएको छ ।

    अहिले बालुवाटास्थित ललितानिवास प्रकरणमा ‘म त होइन’, ‘म निर्दोष छु’, मलाई मात्र होइन, उसलाई पनि कारबाही हुनुपर्छ’ जस्ता रोदन र क्रन्दनले समाचार-माध्यम भरिएका छन् । प्रधानमन्त्री, मन्त्री, सचिव हुन जे पनि गर्ने, जसरी पनि सरकारी सेवा सुविधामा ब्रह्मलुट मच्चाउने, आफूलाई अर्कै ग्रहबाट आएको ठान्ने, जनताको आवाजलाई दमन गर्ने अनि आफूखुुसी हिलोमा पसेपछि हिलो लाग्यो भनेर रुन मिल्छ ? अपराध जन्माउने कारखानामा पसेपछि त्यसले सोझो, बाठो, अग्लो, होचो, धनी, गरिब, पढेको, नपढेको कोही पनि चिन्दैन नि ! घट्टमा जे हाले पनि पिंधेर निकाल्ने त पिठो न हो । यस्तो बेला एकाध घुन पिसिनु पनि सामान्य कुरा हो ।

    वैज्ञानिक व्यवस्था स्थापना गर्न एक शब्द नबोल्ने, बोल्नेहरूलाई उल्टै झुट्टा मुद्दामा जेल–हिरासतमा कोच्ने अनि अहिले रुवाबासीको नाटक ! नेपालको संसारकै सर्वोत्तम संविधान र संसारकै सर्वोच्च व्यवस्था भन्नेहरूलाई यो कतिसम्म क्रूर छ भन्ने कुरा अब त थाहा भयो होला नि ! अब सबै मिलेर ‘अपराधी र भ्रष्टाचारी’ जन्माउने कारखानारूपी संसदीय व्यवस्थाको उन्मूलन गर्नतिर लाग्न जरुरी छ । ‘घर घर सिंहदरबार’ को नारा दिएको ओली सरकारले देशलाई जबर्जस्ती युद्धतिर धकेलिरहेको छ । यतिबेला निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात् गर्नु र श्वेत–फासिवादी सत्ताको प्रतिरोध गर्नुको ठूलो अर्थ हुन्छ ।

    यस्तो बेला हामीले जनताको राष्ट्रवादी चेतना र परिवर्तनकारी आकाङ्क्षालाई मूर्तीकृत गर्न आवश्यक हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो पुनःसंस्कार नगरीकन आम जनताको मुक्ति र क्रान्तिका निम्ति सुयोग्य बन्न र यथेस्ट सहयोग गर्न नसकिने एवम् सिद्धान्तलाई जीवन-व्यवहार नउतारीकन रूपान्तरणका काम फलशाली र बलशाली हुँदैन । फासिवादी ओली सरकारद्वारा देश र जनताका विरुद्ध थोपरेको प्रतिबन्धको राजनीतिक रूपमा सशक्त प्रतिकार गर्नु नै यतिबेलाको प्राथमिक कार्य हो । सत्ताद्वारा जनताको चेतनामाथि जतिसुकै प्रतिबन्ध लगाए पनि हामीले फासिवादी स्वेच्छाचारका विरुद्धको सङ्घर्षलाई तेज बनाउनैपर्दछ ।

    नेपाली राजनीतिको यस घडीमा श्वेत-फासिवादविरुद्धको सङ्घर्षको सन्दर्भिकता कैयौँगुणा बढेको छ । यतिबेला इतिहासका गौरवपूर्ण दिनहरूमा जनताले गरेका महान् योगदान, रगत, पसिना र शौर्यको स्मरण गर्न आवश्यक छ । जनयुद्धको जगमा उठेको जनआन्दोलनको सुनामीद्वारा सामन्ती राजतन्त्रको गजुर ढालिए पनि सारतः शासकीय रवैयामा तिनै पिसाचहरूको राइँदाइँ चलिरहेको छ ।

    ओली सरकारले देश र जनतामाथि सामाजिक फासिवाद लाद्दै २०७५ साल फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि परिस्थितिमा व्यापक बदलाव आएको छ । नेपाली राजनीतिको यो विशिष्ट परिघटनाले स्वयम् राज्यसत्ताले एकीकृत जनक्रान्तिलाई निम्तो दिएको अनुभूति हुन्छ । यतिबेला क्रान्तिकारी, देशभक्तलगायत जनसमुदाय एकजुट भएर श्वेत–फासिवादको प्रतिरोध गर्नु, तिनमाथि विजय प्राप्त गर्नु र वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशामा अघि बढ्नुको कुनै विकल्प छैन ।

    निष्कर्षतः इतिहासको यस घडीमा हामीले जनयुद्धको महान् दिनहरूलाई स्मरण र सम्मान गर्दै श्वेत–फासिवादका विरुद्ध सङ्घर्ष गर्नुपरेको छ । सबै क्रान्तिकारी, देशभक्त, परिवर्तनकारी शक्तिहरू मिलेर श्वेत-फासिवादका विरुद्ध लड्नुपरेको छ । एकीकृत जनक्रान्तिमा विजयी भएर मात्र हामीले जनयुद्धका सपना पूरा गर्न सक्नेछौँ । ओलीको श्वेत-फासिवादले जनतामाथि व्यापक दमनचक्र चलाइरहेको छ ।

    श्वेत-फासिवादद्वारा को कतिखेर ढालिन्छ, भन्न सकिने अवस्था छैन ! एकीकृत जनक्रान्तिमा यतिबेला क्रान्तिकारी योद्धाहरूसँगै लेखक-साहित्यकार तथा संस्कृतिकर्मीहरूको दायित्व कैयौँगुणा बढेर गएको छ । श्वेत–फासिवादविरुद्धको यो सङ्घर्षमा इतिहासले हामीलाई भनिरहेछ, आ-आफ्ना अब्बल सिर्जनात्मक, प्राविधिक र वैज्ञानिक क्षमताका साथ श्वेत-फासिवादी सत्ताको विरुद्धको सङ्घर्षमा सहभागी बनौँ ।

    जनयुद्धका आदर्श, मूल्यविरोधी विषाक्त दक्षिणी हावाविरुद्ध सङ्घर्ष गरौँ । लम्पसारवाद, पलायनतावाद, आत्मसमर्पणवाद र विसर्जनवादको विरोध गरौँ । जबसम्म मान्छेभित्रको मान्छे जिउँदो रहिरहन्छ, तबसम्म उसलाई दुनियाँको कुनै पनि शक्तिले पराजित गर्न सक्तैन । श्वेत-फासिवादी सत्तासीनहरू मर्दै गएको र जनता जाग्दै गरेको यतिबेला सबैले नयाँ सपना, नयाँ सङ्कल्प र नयाँ प्रतिवद्धताका साथ नयाँ शिराबाट जनयुद्ध दिवस मनाऔँ । श्वेत-फासिवादी सत्ताका विरुद्ध आँधीमय सङ्घर्षको सिर्जना गरौँ ।
    २८ माघ, २०७६

    प्रतिक्रिया